मुगु । जिल्लाको उत्तरी पुर्वी भेगमा पर्ने कार्मारोङ्ग गाउँपालिकमा रहेका स्थानिय लामा तथा तामाङ्ग जातिलाई यस वर्ष सोनाम ल्होसार चाड मनाउन समस्या परेको छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई खर्चको जोहो गर्न हम्मे —हम्मे परेको छ ।
कार्मारोङ्ग गाउँपालीका जिल्लाको हिमाली क्षेत्रमा रहेको गाउँपालीकामा लामाजाती बसोवास गर्ने भएकाले १४ वटा स्थानिय बस्तीमा ल्होसार पर्व मनाउने गरिन्छ । ल्होसार एक बर्षमा एक पटक मात्र मनाईने चाड भएकाले आफन्त तथा इष्टमित्र संग भेटघाट मित्रता गाँस्ने प्रचलन रहेको छ ।
गत बर्षहरुमा चाड मनाउन यहाँका अधिकांश स्थानियहरु जडीवुटी संकलनबाट भएको कमाईबाट मनाउथे । यस बर्ष भने जडीवुटीबाट कमाई नभएकाले अधिकांशलाई ल्होसार मनाउन कठीनाई भएको स्थानियको भनाई छ ।
कार्मारोङ्ग गाउँपालीका वडा नं ६ पुअ गाउँका स्थानिय तोर्चे लामाको पाँच जनाको परिवार छ, नत लामाको कुनै सरकारी जागीर छ, नत कुनै ब्यापार ब्यवासाय । उनी केवल स्थानिय बस्तीमा बसेर खेतीपाती गरेर जिविका चलाउछन् । लामालाई बर्षको एक पटक आउने चाड ल्होसार मनाउन लाग्ने खर्च जोहो गर्न हम्मे,हम्मे भएको छ, उनी भन्छन् ‘ल्होसार मनाउनकै निम्ती गाउँमा मजदुरी गरिरहेको छु तैपनि गतिलो कमाई भएको छैन ।’
त्यस्तै कार्मारोङ्ग गाउँ पालिका वडा नं १ दोल्फु गाउँका स्थानिय उग्रेन तामाङको व्यथा पनी उस्तै छ । उनी पनि ल्होसार मनाउनैको लागी गाउँमा आएको विकास निमार्ण तथा अन्य निजी काम गर्न बाध्य छन् । जिल्लाको हिमाली गाउँपालिका भएकोले यहाँ उत्पादन हुने आलु सिमी प्रयाप्त भए पनि बजार नजिक नहँुदा बेचविखन गर्न कठिनाई छ । ‘आलु, सिमी बिक्री भएपनि ल्होसार मनाउन सजिलो हुन्थ्यो ।’ उनले भने ‘आजभोली ल्होसारमा तडक, भडक बढी भएकाले समस्या छ ।’
उक्त गाउँपालीकामा बसोवास गर्नेजनजाति भएपनी जनजाति भित्र पनि दलित रहेकाले उनीहरुको आर्थिक अवस्था झनै दयिनीय रहेको वताइएको छ । जनजाती भित्रका, दलितहरु ल्होसारकै लागि बर्षेनी भारत गएर कमाई गर्ने गरेको दोल्फु गाउँका पासङ्ग कामी बताउछन ।
कार्मारोङ गाउँ पालिकाको वडा न. ९ बाहेक १ वडा देखी ८ वडामा जनजाती तथा बौद्ध धर्मालम्वी भएकाले गाउँ पालिकाले प्रत्येक वडाका बस्तीहरुलाई ल्होसारको अवसरमा गुम्वामा पुजा, पाठ र रमाईलोका लागी २० हजार अनुदान दिने गरेको छ । ल्होसारमा स्थानिय साँस्कृती जर्गेनाका लागी खेलकुद लगायत बिभिन्न कार्यक्रम गर्ने गाउँपालिकाका अध्यक्ष छिरीङ क्याप्ने लामाले राजधानीलाई बताए ।