सिकाइमा भाषिक प्रयोग

मनोवेत्ताहरू सिकाइ हुनका लागि व्यवहारमा परिवर्तन आउन जरुरी ठान्छन् । उनीहरू व्यवहारमा आउने सकारात्मक परिवर्तनलाई सिकाइ मान्दछन् र यो परिवर्तन स्थायी हुनुपर्छ भन्दछन् । ‘बूढी मरै भाषा सरै’ भन्ने चलन छ । सिकाइ पुस्तान्तरण हुन्छ । यो संस्कारजन्य पनि हुन्छ । शिक्षाविद्हरू सिकाइका तीनवटा तरिका अघि सार्छन् – औपचारिक, अनौपचारिक र अरीतिक । यीमध्ये अरीतिक सिकाइले पार्ने प्रभाव चीरस्थायी र अविस्मरणीय समेत हुन्छ । जस्तो समाजमा बस्यो त्यस्तै व्यवहार देखाउनु यसैको उदाहरण हो । राजदरबारमा बस्ने निम्नकोटीकै व्यक्तिले पनि ‘ सियोस’ नै मिसाएर बोल्छ । कतिपय सिकाइ सासूको व्यवहारबाट बुहारीमा र जेठानीको व्यवहारबाट देवरानीमा सरेको हुन्छ ।

सिकाइमा भाषा
भाषा विज्ञानले मानव अवयवद्वारा उच्चारित सार्थक ध्वनि संकेतको व्यवस्थालाई मात्र भाषा मानेको छ । तर, व्यवहारमा यसको अर्थ, क्षेत्र र उपादेयता योभन्दा धेरै परसम्म जान्छ । खासगरी पहिलो भाषा (मातृभाषा)को प्रभावमा हुर्के, बढेका बालबालिकाका लागि दोस्रो भाषाको सिकाइ यादृच्छिकताको कारण जटिल बन्न जान्छ । अहिले चर्चामा आएको वैकल्पिक सिकाइ विधिको प्रयोगले त झन् भाषिक पक्ष शुद्धता र बोधगम्यताका हिसाबले थप जटिल बन्ने देखिन्छ । खासगरी नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्नेहरूका लागि शिक्षकले थप मिहिनेत गर्न जरुरी छ ।

भाषाको जबर्जस्त प्रयोग र जबर्जस्त बुुुुझाइ सिकाइका लागि हानिकारक हुन् । सुरुबाटै शब्दशक्तिका हिसाबले भाषिक ज्ञानको रहर पनि पाच्य हुँदैन । उमेर, अवस्था, स्थान तथा समुदायपिच्छे भाषिक व्यवहार अलग, अलग हुने गर्दछ । समयका क्रममा विभिन्न कारणले गर्दा भाषामा परिवर्तन पनि देखिन्छ । समय, स्थान र परिवेशअनुसार भाषिक व्यवहार गर्न सक्षम नागरिक तयार गर्नु आजको शिक्षाको एउटा लक्ष्य पनि हो ।

फरक घटना, फरक सिकाइ
लगभग २०३७ सालतिरको प्रसंग हो । म पर्वतको लेकफाँटस्थित गिद्देश्वार निमाविमा पढाउन शिक्षा कार्यालयले नियुक्ति दिन्थ्यो । विद्यालयले हाजिर गराएर काममा लगाउँथ्यो । अन्य पूर्वाधार तयारीका लागि विद्यालय सहयोग समिति थियो । अहिलेका झैं विद्यालय व्यवस्थापन समिति भन्ने त्यो बेला हुँदैन्थ्यो । उक्त ठाउँ मेरो लागि निकै टाढा परेकोले अपायक भयो । मैले जिल्ला शिक्षा कार्यालय पर्वत, कुश्मामा आई सरुवा पाऊँ भनी जिल्ला शिक्षा अधिकारीसमक्ष निवेदन दिएँ ।

निवेदनका अन्य भाषा रेडिमेट नै थिए । एउटा कुरा नवीन रहेछ । भाषाका पारखी जिल्ला शिक्षा अधिकारी प्रेमनिधि ज्ञवाली (सचिवबाट निवृत) ले निवेदन हेर्दासाथ थाहा पाए । मलाई उनको टेबुलनेर बोलाए । ‘यो पढ्नुस्’ भने । ‘खाए खा, नखाए घिच नभनीकन मलाई तुरून्त सरुवा गरियोस्’ मैले निवेदनमा यही लेखेको थिएँ, यही पढें । उनले भने’ जे पायो, त्यही लेख्ने ? के हो नघाए घिच भनेको ? तपाईंलाई कसले घिच भनेको छ ? आजै छाडिदिनुस् । मैले कर ग¥या छ ? मनपरि निवेदन लेख्ने ?’ भनेर आफू बसेको घुमाउने कुर्ची फनक्क घुमाए । मैले मेरो भाषाको आशय बताउन खोजे उनले सुनेनन् । मेरो सातो, पुत्लो गयो । सरुवा पाउने त कुरै भएन ।

अरीतिक सिकाइले पार्ने प्रभाव चीरस्थायी र अविस्मरणीय हुनाले जस्तो समाजमा बस्यो त्यस्तै व्यवहार देखिन्छ

मलाई मैले पढेको भाषा ठीक ठाउँमा प्रयोग गर्न नजानेकोमा दुःख लाग्यो । त्यहाँबाट म हिंडे । म हिंडेपछि उनले स्टाफसँग ‘यो केटो टाँठो रैछ । जुद्देलाई पछि यसैले ठीक पार्लाजस्तो छ’ भने भनेर सँगै बसेका अन्य स्टाफले यसपछिको भेटमा मलाई सुनाउँथे । जुद्धजङ लामिछाने तिलाहार गाउँपञ्चायतका उतिबेलाका प्रधानपञ्च थिए । जिल्लाका सबै हाकिम भूकको भद्रे र तिलाहारको जुद्देसँग हाम्रो केही लाग्दैन भनेर थर्कमान हुन्थे । त्यसपछि सचिव भएपछि पनि मैले ती ज्ञवालीलाई भेटेको छु । ‘सर खाए खा नखाए घिच भनेर लेखेकोमा सरले मेरो सातो लिनुभएको थियो’भन्दा उनले उक्त घटना आफूलाई पनि स्मरण रहेको बताएका थिए ।

अर्को घटना
२०७५ चैतमा शिक्षा विकास तथा समन्वय इकाइ बारामा इकाइ प्रमुख थिएँ । एसइई सञ्चालन गर्नुपर्ने भयो । जिल्लामा ३१ वटा परीक्षा केन्द्रहरू थिए । ३१ जना नै केन्दाध्यक्ष चयन गर्नुपर्ने भयो । जहिले पनि शिक्षा अधिकारीका लागि केन्द्राध्यक्ष चयन सबैभन्दा टाउको दुखाइको काम हुन्थ्यो । धेरै आकांक्षी, थोरै सिट । त्यसमाथि पनि तराईको कुरा नै अर्को । सबका सबलाई केन्द्राध्यक्ष हुनुपर्ने ।

परीक्षा समन्वय समितिमा प्रस्ताव लगेपछि जुन विद्यालयमा केन्द्र छ त्यो विद्यालयको योग्यता पुगेको प्रधानाध्यापक छ भने ऊ पदेन केन्द्राध्यक्ष हुने अन्य अवस्थामा मात्र नयाँ विद्यालयबाट खटाउने नीति समितिले पारित ग¥यो । लगभग २८ ठाउँमा समस्या आएन । ३ ठाउँमा नयाँ पठाउनुपर्ने भयो । बैठकबाट जिल्लामा भएका सबैभन्दा सिनियरमध्येबाट पठाउने नीति बनायौ ।

बैठक सकिएको केहीबेरपछि एक जना बाराकै संघीय सांसदले फोनमा भने ‘मेरातर्फबाट ३ जना मान्छे केन्द्राध्यक्षमा राख्नुहोला’ । मैले भनें ‘माननीयज्यू, टुंगो भइसक्यो । हामीलाई जम्मा ३ जना नयाँ मान्छे चाहिने भयो । बाँकी केन्द्र परेका विद्यालयका हेडसर नै पर्नुभयो ।’ मैले २८ जनाको नाम सुनाएँ । यसो गर्दा उनका २ जना हेडसर स्वतः परेछन् ।

अब यी ३ जनामा १ जना मेरो भागमा भनेर नाम दिए । मैले भनें ‘एक त हामीलाई ३१ जना भए पुग्छ । तपाईं माननीय ११ जना हुनुहुन्छ । तपाईंलाई ३ जना दिएपछि अरूलाई पनि दिनुपर्छ । एउटाको भागमा ३ जना हो भने मलाई ३३ केन्द्र चाहिन्छ । मसँग ३१ केन्द्र मात्र छन् । फेरि २ जना तपाईंका मान्छे परिसकेकै छन् ।’

उनी मानेनन् । उनले जिल्लाका आफ्ना हेडसरलाई प्रयोग गरी मलाई, फोन, प्रेसर र धम्काउन थाले । राजेश पौडेल प्रमुख जिल्ला अधिकारी थिए । मैले उनलाई सबै कुरा सुनाएँ । उनले ‘भैगो के झगडा गर्नु ? उनको को मान्छे रहेछ राखिदिनुस्’ भने । मैले माननीयलाई पुनः फोन गरेर भनें ‘माननीयज्यू, तपार्इंको एक जना थप राखौंला ठिकै छ । तर, तपाईंले आफ्ना कुरा सिधै मलाई भन्नुहोला । म तपाईंसँग डिल गर्छु । तपार्इंका छाउरासँग म बहस गर्न सक्दिनँ । मेरा शिक्षकले मलाई तपार्इंको नाम लिएर झपार्न पाइँदैन नि, तपार्इं पो माननीय हो, म मान्छु, तर तपाईंका छाउरालाई म किन मान्नु ?’ उनले ‘ल ठीक छ’ भनी केन्द्राध्यक्षको नाम टिपाए ।

समय, स्थान र परिवेशअनुसार भाषिक व्यवहार गर्न सक्षम नागरिक तयार गर्नु आजको शिक्षाको एउटा लक्ष्य पनि हो

एकछिनपछि पुनः उनैको फोन आयो । ‘ए जिशिअ साब, (कार्यालयको नाम शिक्षा विकास तथा समन्वय इकाइ र प्रमुखको पद इकाइ प्रमुख भए पनि जनजिब्रोमा शिक्षा कार्यालय र जिशिअ नै भन्ने चलन आजपर्यन्त छ) तपार्इं कति पढ्नुभएको छ ?’ भने । मैले मेरो योग्यता बताएँ । ‘के विषय हो’ उनले सोधे । मैले ‘नेपाली माननीयज्यू’ भनें । ‘तपाईंलाई भाषा भनेको के हो थाहै रहेनछ । यस्ताले के नेपाली पढेको ? उनले भने । ‘के भयो र हजुर ? नेपाली पढेको मात्र होइन, ८÷१० वर्ष पढाएको छु, त्यो पनि पोखराको पृथ्वीनारायण क्याम्पसमा’ मैले मेरो विगत सुनाएँ । ‘अघि तपाईंले मलाई तपार्इंका छाउरा भन्नुभाथ्यो ? के हो छाउरा भनेको ? कसको बच्चालाई छाउरा भनिन्छ थाहा छ ? उनीहरू छाउरा भएपछि म के भएँ’ ? उनले मेरा कुनै पनि कुरा सुन्न चाहेनन् । मलाई एकोहोरो प्रश्न मात्र ते¥याए । उनले थपे ‘मसँग युनिभर्सिटी पढाउने प्रोफेसर पनि सँगै हुनुहुन्छ । तपाईं मात्र पढेको भन्ने’ ? मेरो होसहवास उड्यो । प्रतिकार वा स्पष्टीकरण दिने मौका नै दिएनन् । मैले लक्षणमा छाउरा भनको, उनले अभिधामा कुकुरकै छाउरा बुुझेछन् ।

अर्को घटना
२०७४ सालको स्थानीय निर्वाचनमा बझाङको सुर्मामा निर्वाचन अधिकृत भइ गएको थिएँ । म उम्मेद्वारसँग अलि बढी ने लचिलो भएको देखेर सशस्त्रका एक जना इन्स्पेक्टरले ‘सर यी सालेपासँग धेरै नरम बन्नुहुँदैन । पछि हेप्छन्, कडा हुने हो’ भने । मैले सालेपाको अर्थ बुझिन । पछि उनले ‘सर प्रहरीतर्फ आंैठाछापभन्दा माथि पढे लेखेभन्दा तलकालाई सालेप (सामान्य लेख पढ) भन्ने चलन छ’ भनेर सुनाए । २०७६ को वैशाखमा तनहुँस्थित भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले एउटा विद्यालयमा गई खानेपानीको अवस्था अवलोकन गरी आउन खटाए । यी सालेपाले पनि के–के लगाउँछन्, लगाउँछन् भन्दै खानेपानी शाखाका प्राविधिक र स्रोतव्यक्तिसहित म गयौं । फर्किँदा बाटोमा उनै मेयर थापाको घर रहेछ । साथीहरूले यो हाम्रा मेयरसाबको घर हो भने ।

मैले गाडी रोकेर एकछिन घर हेरें । हामी अफिस फर्केपछि प्रतिवेदन दिन मेयरको कार्यकक्षमा प्रवेश गर्यौ । प्रतिवेदन सकिएपछि व्यक्तिगत गफतिर हामी सोझियांै । मेयर राजनीतिक प्राणी हुन् । तर, कर्मचारीसँग गर्ने व्यवहार, भलाकुसारी, व्यक्तिगत सम्बन्ध स्थापनामा उनी अरूभन्दा फरक थिए । उनले ‘मेरो घर पनि देख्नुभयो ? कस्तो लाग्यो ?’ भने मैले ‘देखें, स्वर्ग नै रहेछ’ के मात्र भनेको थिएँ, कुरा समाइ हाले । ‘स्वर्ग ? के भन्नुुभयो ? स्वर्ग त मरेको मान्छे बस्ने ठाउँ हैन र ? म त जिउँदै छु’ उनले भने । म पानी, पानी भएँ । ‘हैन मेयरसाव, स्वर्गजस्तै भनेको, हजुरले जस्तै नसुन्नुभयो’ भनें । ‘ए, उसो भए ठीक छ । स्वर्गजस्तै त हुनसक्छ’ भने । त्यसपछि म ठेगानमा आएँ । बझाङमा त्यो प्रहरीले सिकाएको सालेपको व्यवहार उनीसँग पटक्कै देखिएन । उनले भाषा समाति हाले । सबै जनप्रतिनिधि सालेप रहेनछन् मैले थाहा पाएँ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी