अब काममा गति देऊ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा २० फुलमन्त्री र ३ राज्यमन्त्री गरी २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएसँगै सरकारले पूर्णगतिमा काम गरोस् भन्ने चाहेका छन् जनताले ! नवनियुक्त उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीलाई शपथग्रहण गराइसकिएकाले अब सरकारलाई कसैले अत्तो पो थाप्ने हो कि भन्ने समस्या हल भइसकेको छ । अबका दुई वर्षसम्म सरकारविरूद्ध अविश्वासको प्रस्ताव पनि ल्याउन नपाइने प्रावधान रहेकाले गति र स्पिरिटका साथ सरकार अघि बढ्नु निकै श्रेयस्कर हुन्छ ।

जनताको चासो पनि छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएपछि र ज्योतिषलाई हेराइवराइ ठीक्क भएपछि अब बन्ने देउवा सरकार गतिहीनतामा गयो भन्ने मनोविज्ञानले जनतामा छाएको निराशामा ओली–दाहाल पहलकदमीले केही आशाको सञ्चार गराएको थियो । यो भनेको नयाँ सरकार निर्माणसँगै यसले लिनसक्ने र लिनुपर्ने गतिको कुरा हो । देशमा आर्थिक तथा दैनन्दिनका समस्याहरू चुलिँदै जाँदा जनतामा निराशा छाएको छ । यी समस्याको निदान र उपचार गर्नसक्ने नेतृत्व क्षमताको चाहना नेपाली जनतामा छ ।

अर्कोतिर सरकार बनाउनका लागि पहिलो ठूलो दल पछाडि परेकाले गठबन्धन सरकार निर्माण गरेका दोस्रो ठूलो दलका साथै साना दल यति बेला कम्मर कसेरै सुधारका ठुल्ठुला कामहरू गर्न अघि सर्नुपर्छ । आफूले मोलेको चुनौती साकार पार्न वर्तमान सरकार अहोरात्र खटेर जनसेवामा होमिनैपर्छ । अहिलेको सरकार निर्माण घरेलु चुनौतीको मात्र समाधान थिएन र होइन । बरू यो त अन्तर्राष्ट्रिय चुनौतीको समाधान पनि थियो र हो । त्यसैले पनि ख्याल र खेलाची यो सरकारका लागि छुट छैन । अर्को कुरा, सरकारलाई विश्वासको मत दिएका पार्टीहरू पनि सरकारमा सहभागी भएका छैनन् । यसले अर्कोतिर कतै खिचडी पाकिरहेको र पाकिरहने कुरामा सदैव सतर्क रहनुपर्ने बनाएको छ । सत्ताको स्थायित्व र सरकारको आयु जनताको घरदैलोमा प्रवाह गरिइरहने सेवा र सुविधामा निर्भर हुन्छ । अंक गणितीय जोडघटाउ एउटा कुरा होला, तर जनताको सेवासुविधाको कुरा आगामी आवधिक निर्वाचनका लागि पनि काम लाग्ने कुरा हो ।

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिइसकेपछि अब तिनका काम हेर्न जनता लालयित छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नवनियुक्त सबैको कार्य विभाजन पनि भइसकेको छ । समस्या देशका सबै क्षेत्रमा देखिएका छन् । सबै मन्त्रीहरू आआफ्ना मन्त्रालयअन्तर्गतका समस्या समाधानमा शीघ्रातिशीघ्र लाग्नुपर्ने अवस्था विद्यमान छ । महँगीले आकाश छोएको छ । व्यापार घाटाले देशको अर्थतन्त्र तहसनहस हुन थालेको छ । वैदेशिक कूटनीतिक समस्या नमीठो गरी अल्झन पुगेको छ । देशमा शान्तिसुरक्षाका कुरा एकादेशको कथा बन्न थालेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन र प्रभावकारी कार्यक्रम आउन सकिरहेको छैन । संघीयता कार्यान्वयनमा समस्या देखापरिरहेको छ । सूचनाको हकबाट जनसाधरण वञ्चित हुन पुगेका छन् । राष्ट्रिय गौरवका आयोजनाले गति लिन सकिरहेका छैनन् । देशमा आवश्यक नियमकानुन अहिलेसम्म पनि निर्माण हुन सकिरहेका छैनन् । सुरक्षाको प्रत्याभूति हुन सकिरहेको छैन । यी सारा समस्याको समाधानका लागि सरकारले अब काममा गति दिनुको विकल्प छैन ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार