काठमाडौं । संघ सरकारले अब राष्ट्रिय राजमार्गअन्तर्गतका पुलहरू मात्र निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने जनाएको हो ।
विभागले अब स्थानीय तहअन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ । स्थानीय तहअन्तर्गतका पुल हस्तान्तरण तथा बजेटलगायतमा समस्या आएको भन्दै विभागले अब राष्ट्रिय राजमार्गका पुल निर्माणमा मात्रै केन्द्रित हुने तयारी गरेको हो ।
सडक विभागले स्थानीय सडकका पुलको काम आगामी आर्थिक वर्षदेखि नगर्नेगरी छलफल अघि बढाएको छ । विभागका प्रवक्ता भीमार्जुन अधिकारीले ठेक्का हस्तान्तरणको समस्या र पर्याप्त बजेट नहुने भएपछि आगामी आर्थिक वर्षदेखि स्थानीय तहअन्तर्गतका नयाँ पुल निर्माणको काम नगर्ने तयारी भएको बताएका छन् ।
विभागले अब स्थानीय सडकमा पर्ने पुल स्थानीय तह, प्रदेश वा स्थानीय पूर्वाधार विभागले गर्ने जनाएको छ ।
त्यसो त सडक विभागमा राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणको जिम्मेवारी भए पनि अहिले स्थानीय तहका पुल निर्माण पनि विभागले नै गर्दै आएको हो । अब भने विभाग उक्त कार्यबाट अलग हुने तयारी गरेको हो ।
विभाग मातहतमा हाल मुलुकभर एक हजार दुई सयको हाराहारीमा पुल निर्माणधिन अवस्थामा छन् । जसमध्ये झन्डैै नौ सय पुल स्थानीय सरकार अन्तर्गतका रहेको जनाइएको छ । एकै पटक धेरै पुल निर्माणको जिम्मेवारी हुँदा विभागले अपेक्षाकृतरूपमा काम गर्न सकेको छैन ।
निर्माणाधीन पुलमध्ये १०औं वर्ष पुरानो ठेक्का रहेका पुल पनि रहेका छन् । ५÷१० करोड रुपैयाँ लागत लाग्ने पुलमा एउटा आर्थिक वर्षमा ५० लाख रुपैयाँ मात्रै बजेट विनियोजन हुँदा काम गर्न समस्या हुने गरेको विभागले जनाएको छ ।
विभागले प्रत्येक वर्ष औसतमा करिब चार÷पाँच हजारवटा पुल निर्माणको माग हुने गरेको जनाएको छ ।