विक्षिप्त काँग्रेस र लजाएको लोकतन्त्र

नेपाली काँग्रेसको महाधिवेशनबाट नै ढोक्सा थापेर बसेका रामचन्द्र पौडेल अहिलेको सन्दर्भमा सबैभन्दा लोभी व्यक्ति देखिएका छन् । महाधिवेशन अघिसम्म सभापति शेरबहादुर देउवाको चर्को आलोचक बनेका पौडेल देउवाको राष्ट्रपति बनाउने आश्वासनले देउवाको छायासमेत बने । आफ्नो निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग संसदीय निर्वाचनमा हार बेहोरेर विक्षिप्त बनेका पौडेल गठबन्धन गरेर जसरी पनि जित्ने र सके प्रधानमन्त्री नभए राष्ट्रपति बन्ने सपनामा रहेकामा १० पुसको घटनापछि झन रनभुल्लमा परेका छन् ।

महाधिवेशनमा देउवालाई समर्थन गरेर मात्र पद प्राप्ति गर्न सकिन्छ भन्ने मनसाय पालेर गठबन्धनका नारा अलापेका पौडेल गठबन्धनका संयोजकसमेत बने । त्यसको एउटै उद्देश्य भनेको गठबन्धनबाट सांसद जित्ने र प्रधानमन्त्री बन्ने, त्यो पनि नपाए राष्ट्रपति बन्ने पौडेलको धोको हो । त्यही धोकोलाई पूरा गर्न महाधिवेशनमा प्रतिष्पर्धीसमेत नबनेर देउवाका सारथी बने, जसको परिणाम देउवा सभापति पनि बने । सधैं परिवर्तन र सुशासनको नारा ओकल्ने पौडेल पदका लागि देउवाका सबैभन्दा नजिकका विश्वास पात्र बने । यदि महाधिवेशनमा पौडेलले शेखर कोइरालाको समर्थन गरेमा शेखर नै सभापति बन्ने थिए । तर, पदका लागि पौडेल नेपाली काँग्रेसको मात्र होइन, आमजनताको पक्षमा अनि परिवर्तनका पक्षमा बाधक बनेका छन् । सत्यता यही हो ।

यहीँभित्र भएको संसदीय निर्वाचनमासमेत पौडेलले देउवालाई समर्थन गरेर परिवर्तनका बाधक बने । आफूअनुकूलताका लागि परिवर्तनका नारा ओकल्ने देउवा पदलोलुपताका लागि गरिएको देउवासँग गरिएको साठगाँठमा आमजनता अनभिज्ञ छैनन् ।

गठबन्धनको संयोजक बनेर माओवादी केन्द्रलाई घाटा लागेता पनि नेपाली काँग्रेसलाई भने फाइदा नै पुगेको छ । जसको फाइदा पौडेललाई पनि भयो । एकचोटी जितेर मर्ने चाहना व्यक्त गरेका पौडेलले यसपटक तनहँु क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार बनेर जिते । आफ्नै सरकार रहेको र गठबन्धनबाट बनेको सरकार फेरि पनि आफ्नै बन्नेमा आशावादी बनेको नेपाली काँग्रेस र पौडेल भने १० पुसको घटनाक्रमले तिरिमिरी बनेका छन् । एकाएक एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि फेरि पनि ठूलो दलको नेताका हैसियतले आफैं प्रधानमन्त्री बन्ने र गठबन्धन कुनै पनि हालतमा नटुट्ने विश्वासमा रहेको नेपाली काँग्रेस रनाहमा परेका छन् ।

छल, बल, कल जसरी पनि राष्ट्रपतिको पद आफूले लिने काँग्रेसको दुर्निणयले लोकतन्त्र लजाएको छ

१० पुस २०७९ पछिको घटनाक्रमले राष्ट्रिय राजनीतिमा तरंग ल्याइदियो । गठबन्धनको सरकार बन्ने र पुन सत्ता अनि शक्तिमा दोहन गर्न पाइने आशामा बसेकाहरू वाम गठबन्धनको सरकार बनेपछि आहत बने । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारदेखि विभिन्न राजनीतिक नियुक्ति र संवैधानिक परिषद्मा रहेका नेपाली काँग्रेसका कार्यकर्ताह एकाएक पदबाट मुक्त हुनुपरेपछि आक्रोशित बने । त्यसैको परिणाम देउवाको राजीनामादेखि विशेष अधिवेशनको हल्लाले बजार ततायो ।

देउवाको छाया बनेका पौडेल पनि सरकारमा पार्टीको पहुँच गुमेपछि देउवाप्रति आक्रोशित बने । सार्वजनिक मञ्चमै देउवाको आलोचना भयो । राजनीतिक खेलाडीमा माहिर देउवा पनि केन्द्रीय समितिमा आफ्नो व्यापक विरोध हुने देखेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर आफूप्रतिको विरोधलाई मत्थर बनाउन सफल भए । एकातिर आफ्नो विरोधको स्वर मत्थर हुने र अर्कातर्फ प्रचण्डलाई ललिपप देखाएर पुन सत्तासीन बनाउने अभिप्रायले चालिएको नेपाली काँग्रेसको कदमले अन्ततः लोकतन्त्र र संसद्मा विपक्षी दलको नेताको हैसियत नै गुमायो ।

प्रचण्डलाई विश्वासको मत दिएर फकाउने तर एमालेलाई एक्लाउने अभिप्रायस्वरूप प्रदेशसभादेखि एमालेले उठाएका उम्मेदवार उठेको ठाउँमा आफ्ना उम्मेदवार उठाएर एमालेसँग बदला लिने मोडमा छ । जसले गर्दा प्रचण्ड पुन फर्कनेछन् भन्ने आशा देउवा र विशेषगरी पौडेललाई छ । माओवादीका उम्मेदवारलाई सर्वसम्मत बनाउने अभियान यसैको प्रारूप हो । हालै भएको प्रतिनिधिसभाको सभामुख पदका निर्वाचनमा नेपाली काँग्रेसले आफ्नो उम्मेदवार उठाएर प्रचण्डको समर्थनको आशा गर्नुले प्रचण्ड अझै पनि फर्कन सक्छन् भन्ने आशाको चित्र हो ।

नेपाली काँग्रेसले प्रचण्डलाई संसद्मा मत दिएर एमालेको विकल्पमा हामी छौं भन्ने सन्देश दिएको छ भने यसले ओलीलाई कमजोर बनाउन सकिन्छ भन्ने काँग्रेसको आँकलन छ । सभामुखमा काँग्रेसको तुरूपले काम नगरेपछि अबको खेल राष्ट्रपतिमा हुनेछ भन्ने काँग्रेसको बुझाइ हो । प्रचण्डले ओली छाडेर काँग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्छन् भन्ने खेलमा देशी तथा विदेशी राष्ट्रहरू खेलेको खेल रंगमञ्चमा छताछुल्ल देखिन्छ ।

नेपालको संसदीय व्यवस्थामा संसद्मा प्रमुख प्रतिपक्षको हैसियतसमेत लिन नसकेको काँग्रेसले कस्तो लोकतन्त्र र बलियो प्रतिपक्षको वकालत गरेको छ भन्ने कुरा अहिलेको भूमिकाले प्रस्ट पारेको छ । सातै प्रदेशमा मन्त्री र मुख्यमन्त्रीसमेत निर्वाचित भइसकेको अवस्थामा पदका लागि कतिसम्म गिर्न सक्छ भन्ने कुरा रमेश लेखकले दिएको अभिव्यक्तिले पुष्टि गर्छ । प्रमुख प्रतिपक्षी दलको हैसियतले राजनीतिक दलको बैठकमा भाग लिने, प्रचण्डको सरकारलाई विश्वासको मत दिने, सरकारलाई समर्थन गर्ने अनि राष्ट्रपतिलाई बुझाएको समर्थनपत्रमा नेपाली काँग्रेसले हस्ताक्षर गरेको छैन भन्ने विरोधाभास अभिव्यक्तिले लोकतन्त्र नै लजाएको छ ।

प्रचण्डलाई फकाएर, धम्काएर, घुर्काएर राष्ट्रपति पद हात पार्न नेपाली काँग्रेसले केही समय अझै नांगो नाच नाच्ने नै छ

राजनीतिमा नैतिकता र इमानदारिता पनि हुनुपर्छ । जुन जीवन्त लोकतन्त्रको गहना हो । पदका लागि जे र जस्तो पनि गर्न अभ्यस्त हुन्छ भन्ने नेपाली काँग्रेसले पुष्टि गरेको छ । सधैं सत्तासीन हुनका लागि जस्तो पनि खेल खेलिने प्रयत्नले नेपाली काँग्रेसलाई बलियो बनाउदैन । विश्वासको मत पनि दिने प्रतिपक्ष पनि हो भन्ने अभिव्यक्तिले नेपाली काँग्रेसलाई जनस्तरबाट नै गिराएको छ ।

समयमै गर्नुपर्ने काममा ध्यान नदिँदा काँग्रेस अन्तिम अस्त्र प्रयोग गर्दै छ । प्रचण्डलाई मनाएर राष्ट्रपति पद काँग्रेसको पोल्टामा पार्न सकिन्छ कि भन्ने मनोदशामा छ । जसरी पनि सरकारलाई अस्थिर बनाएर नेकपा एमालेलाई प्रचण्डसँग टाढा बनाएर सरकारमा पुन पुग्न सकिन्छ भन्ने मृगतृष्णाको अविरल यात्रामा काँग्रेसको दृष्टि छ । प्रतिपक्ष भन्ने तर संवैधानिक पदमा हक माग्ने काँग्रेसको प्रवृत्तिले नेपाली काँग्रेस थप कमजोर बनेको छ ।

सरकार बन्नुभन्दा अघि बनेको माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको पार्टीका उच्चस्तरीय सम्झौताबाट पछाडि हटेर काँग्रेसलाई राष्ट्रपति दिन प्रचण्डलाई नैतिकताले दिँदैन, जुन व्यवहार राजनीतिका लागि सहज पनि हुँदैन । सरकार बनेको केही दिनमै दिइने धोकाले प्रचण्डलाई केही राहत दिएता पनि दीर्घकालीन राजनीतिक रूपमा प्रचण्ड र माओवादीलाई कदापि फाइदा दिँदैन, जुन कुरा प्रचण्डले राम्रोसँग बुझेका छन् ।

राष्ट्रपतिमा नेपाली काँग्रेसले लगाएको आँखाले लोकतन्त्र र प्रजातन्त्रलाई नै धुमिल बनाउनेछ भन्ने कुरा काँग्रेसले बुझ्न सकेन भने आमजनता र अन्तर्राष्ट्रिय जगत्मा नै नेपाली काँग्रेसको शाख गिर्नेमा कुनै शंका छैन । प्रचण्डलाई फकाएर, धम्काएर, घुर्काएर राष्ट्रपति पद हात पार्न नेपाली काँग्रेसले केही समय अझै नांगो नाच नाच्ने नै छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी