कालिकोट । जसलाई ‘जनयुद्ध’को जिउँदो लास भनेर भन्ने गरिन्छ अर्थात उनी हुन् कालिकोट पचालझरना गाउँपालिका–३ का कृपलाल कठायत । दश वर्षे ‘जनयुद्ध’का घाइते कृपलाल कठायतको शरीरमा अहिले पनि गोली छन् ।
२५ चैत २०६२ मा कपिलवस्तु जिल्लाको तौलिहवा भिडन्तमा घाइते कृपलालको खुट्टा र ढाडमा सातवटा गोली लागेको थियो । देश र जनताको मुुक्तिका लाथि भनेर घरपरिवार छाडेर माओवादीमा लागेका कृपलालले आफूसँगै बहिनी पानसा कठायतलाई पनि लडाइँमै लगे ।
बहिनी कठायतको लडाईकै क्रममा २०६२ सालमा पाल्पाको तानसेनमा मृत्यु भयो । लडाइमा बहिनी पानासा गुमाएका प्लाटुन कमाण्डरसमेत रहेका कृपलाल पनि लडाइमा गोली लाग्दा पूर्ण रुपमा अशक्त भए ।
२०६३ सालपछि शान्ति प्रक्रियामा आएपछि उनलाई जीवनयापन गर्न निकै कठिन भयो । सेना समायोजनपछि उनले पाएको ५ लाख रुपैयाँ औषधि उपचारमै सकियो । कष्टकर अवस्थामै जीवनयापन गर्र्दै आएका कठायत अहिले वडाध्यक्ष छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा पचालझरना गाउँपालिका–३ का वडाध्यक्षमा निर्वाचित भए उनी ।
चुनाव प्रचारप्रसार नगरेरै वडाध्यक्ष जितेका उनलाई मतदान केन्द्रमा स्थानीय गाउँलेले स्टेचरमा बोकेर मत मागेका थिए ।
दुवै खुट्टा नचल्ने भई हिँडडुल गर्न नसक्ने अवस्थाका वडाध्यक्ष कठायतलाई आवश्यक परेमा गाउँलेले वडा कार्यालयमा बोकेर लान्छन् । उनको अधिकांश समय घरमै बित्छ ।
अहिले त्यहाँका नागरिकले सिफारिस लिनु परेमा वडाध्यक्ष कठायतकै घरमा पुग्नु पर्ने बाध्यता छ । अशक्त मान्छेलाई जिताएर आफूहरुलाई पछुतो नभएको स्थानीय बृर्ख कठायतले बताए । वडा कार्यालयबाट लिुपर्ने सिफारिस लिन घरमै पुग्नु परेपनि आफूहरुलाई दुःख नभएको उनको भनाइ छ ।
‘विगतमा योगदान गरेको पार्टीले उनलाई न्याय दियो, थप न्याय हामी गाउँलेले दिएका छौं, अहिले उनको योगदानको कदर भएको छ,’ उनले भने । दश वर्षे ‘जनयुद्ध’मा देश र जनताका निम्ति घरपरिवार छाडेर लडेको प्रतिफल सोचेजति नपाए पनि यो स्थानसम्म पु-याउने पार्टी र गाउँ समाज रहेको वडाध्यक्ष कठायतले बताए ।
‘मसँगैका सहयात्री साथीहरुले ज्यान गुमाए । शरीरमा गोली बोकेर भएपनि बाँच्न पाएको छु,’ हल्का रुँदै कठायतले भने, ‘१८ वर्षदेखि शरीरमा गोलीको पिडा बोकिरहेको छु । यही पिडामा सामान्य मलम गाउँ समाजले लगाएको छ । तीन वटा गोली खुट्टा र ४ वटा गोली कम्मरमा थिए । गत भदौमा ४ वटा गोली निकालेँ । अझै ३ वटा गोली खुट्टामै छन् । हिँडडुल गर्न सक्दिन । श्रीमतीले घर बाहिर भित्र गरिदिन्छे, वडाको सिफारिश जस्ता काम घरबाटै गरिदिन्छु । गाउँ समाजले मलाई बुझेका छन् ।’
दश वर्षे ‘जनयुद्ध’को अग्रस्थान रोल्पा, रुकुम, जाजरकोट पछि कालिकोट पर्दछ । सशस्त्र द्वन्द्वमा कालिकोटमा ५ सय १५ जनाले ज्यान गुमाएका थिए । १५ सय बढी घाइते र अपांग बनेका थिए ।