चैत वैशाखमा फुल्ने लालीगुराँस पुस माघमै ढकमक्क


झाङ । चैत वैशाखमा फुल्ने लालीगुराँस अहिले पुस माघ महिनामै फुलेको पाइन्छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी, अछाम, डडेल्धुरालगायतका जंगलमा लालीगुराँस फुलेको पाइएको हो ।

‘हाम्रो पालामा फागुन महिनाको दोस्रो साताबाट लालीगुराँसको कोपिला लाग्न सुरु हुथ्यो,’ थलारा ९ की ८० वर्षीया रतनादेवी सिंहले भनिन्, ‘अहिले त फागुन महिनामा कोपिला लाग्नु त परै जावस् । फागुन महिनासम्म लालीगुराँस फुलेर सकिन्छन् ।’

लालीगुराँस मात्रै नभएर सबै कुरा परिवर्तन भएको आफूले पाएको उनले सुनाइन् । पहाडमा पाइने काफल, ऐसेलु, त्रिमुडा, मछाइदा, डिम्मुर, घँगारु जस्ता जंगली फल पनि बेमौसममा नै फल्न सुरु भएको र फल्ने समयमा फलेर सक्किने गरेको उनले बताइन् ।

‘लालीगुराँस विगतका वर्षहरुमा चैत बैशाखमा ढकमक्क फुल्ने गथ्र्याे, अहिले पुसमा नै फुल्नु र जंगली फलहरुको मौसमीचक्र परिवर्तन हुन थाल्नु विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण हो,’ बोटानिष्ठ टियुका प्रोफेसर डा. नारायण घिमिरेले भने, ‘विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तन हो । जलवायु परिवर्तनको मुख्य कारण मानवीय गतिविधि हुन् । जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको पाइन्छ ।’

जलवायु परिवर्तनको असर लालीगुराँसमा मात्रै नभई हरेक क्षेत्रमा परेको छ । तराईमा पाइने विभिन्न प्रजातिका फलफूल, बोटविरुवा पहाडी क्षेत्रमा पाइन थालेको छ । बोट विरुवा तथा जीवजन्तुले पनि ठाउँ परिवर्तन गर्न थालेका छन् । यसले सामाजिकदेखि आर्थिक रुपमा पनि असर पारेको पाइन्छ ।

‘लालीगुराँस फूल फागुन–चैत महिनामा फुल्ने गर्दथ्यो, तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ,’ मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले भने, ‘गुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत यसको प्रभाव देखिएको छ । अहिले पुस माघमा काफल पाकेको र गुराँस फुलेको पाइएको छ । पुस माघ महिनामा गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय तथा जलवायु परिवर्तको असर हो ।’

विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् । त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पाइन थालेका छन् ।

‘पहिला कैलाली कञ्चनपुरमा मात्रै लामखुट्टे देखिन्थे । अहिले त पहाडी जिल्ला बझाङमा समेत लामखुट्टे बाट बच्नका लागि अनिवार्य रुपमा लामखुट्टे धपाउने धुपदेखि झुलको प्रयोग गरे पनि सुत्न सकिने अवस्था छैन,’ उनले भने ।

समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षा समयमा र नियमित नहुने, मौसमी फलफूल तथा तरकारीमा फेरबदल हुने, अतिवृष्टि, अनावृष्टि, हुरी बतासजस्ता असर देखा परेका छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् ।

बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले भने, २०६१/२०६२ तिर सुर्मा र साईपाल गाउँपालिकाका जंगलहरुमा थुप्रै यार्सागुम्बा पाइन्थ्यो । अहिले पहिलेको तुलनामा धेरै कम पाइन थालेको छ । यार्सा मात्रै नभई अन्य जडिबुटीहरु पनी पाइन छोडेको छ । गाउँनजिकै जंगली जनावर, घोरल ,रतुवा, कालिज, डाँफे पनि पाइन्थे । तर अहिले हिमालको छेउमा मात्रै पाइन थालेको छ ।’

यसरी कहिले अत्याधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जंगल नै सुक्ने अवस्था आइरहेको छ । गत वर्ष मात्रै कात्तिकमा आएको बेमौसमी वर्षाका कारण बझाङमा २४ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी