गुल्मी । नेपालमा कुनै जागिरमा समावेश हुँदा घुस–लेनदेनको बिषय समान्य बन्दै गएको छ । अझ अहिले त उक्त रकमलाई सहयोग भनेर माग्ने गरिन्छ । पछिल्लो समय गुल्मीको रेसुङ्गा नगरपालिकाको यस्तै घटना बाहिरिएको छ ।
नगरपालिकाको वडा नम्बर –५ लामडाँडास्थित सरस्वती प्राथमिक विद्यालयमा शिक्षक नियुक्त गर्दा नियुक्ती पाउने शिक्षकले १५ दिनको तलब खर्चस्वरुप दिनुपर्ने सर्तसहित परीक्षा भएको छ । विद्यालयले गत पौष २२ गते करार शिक्षक नियुक्तीको लागि आवेदन खुलाएको थियो । जसमा सात जनाले आवेदन दिए ।
यही माघ ७ गते शनिबार दुवै चरणको परीक्षा भयो । तर परीक्षा हुनुभन्दा अगाडी विद्यालयका प्रध्यानापक, व्यवस्थापन समिति अध्यक्ष लगायतले सबै प्रतिस्पर्धीलाई नगरपालिकाको छतमा लगेर कम्तिमा १५ दिनको तलबको बार्गेनिङ्ग गरेको प्रतिस्पर्धी प्रतिभा पन्तले बताइन् । ‘नगरपालिकाकै छतमा लगेर सातजनामध्ये जो उत्तिर्ण भएपनि १५ दिनको तलब दिनुपर्छ भनियो ।’ उनले भनिन्, ‘के को खर्च भन्दा विद्यालय प्रयोजनको लागि भन्ने जवाफ आयो ।’ विद्यालयका प्रध्यानाध्यापक ऋषिराम मरासिनीले आफु एक्लै नभएर विद्यालय व्यवस्थापन समिति अध्यक्षसहितले रकमको कुरा गरेको स्वीकार गरे ।
रकम आफ्नो व्यक्तिगत प्रयोजन नभई विद्यालयको खर्च व्यवस्थापनका लागि मागेको प्रध्यानाध्यापक मरासिनीको भनाई छ । नगरपालिकाका शिक्षा अधिकृत विष्णु ज्ञवालीले त्यसरी प्रतिस्पर्धीसँग रकम माग्नु गैरकानुनुी भएपनि व्यवहारिकताले मागेको प्रतिक्रिया दिए । ‘सानो विद्यालयमा आन्तरिक स्रोत पनि कम छ ।’ ज्ञवालीले भने, ‘धेरैजसो विद्यालयमा यसैगरी कोष स्थापना हुने गरेको छ ।’