काठमाडौं । नेपाली निवन्धमा अब्बल मानिएका नेपाली सहित्यकार शंकर लामिछानेलाई नेपाली श्रष्टाहरुले सम्झिएका छन् । निबन्धकार शंकर लामिछानेको ४७ औं स्मृति दिवसको अबसरमा श्रष्टाहरुले उनलाई सम्झिएका हुन् ।
शंकर लामिछाने प्रतिष्ठानले हिजो मंगलकार काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा श्रष्टाहरुले नेपाली निवन्धमा लामिछानेको योगदानको चर्चा गरे ।
साहित्यकार प्रमोद प्रधानले ५० वर्ष अघि नै ‘एव्ट्रयक चिन्तन प्याज’ जस्तो निवन्ध सृजना गरेका शँकर लामिछानेले त्यो निबन्धबाट नेपाली निवन्धमा नयाँ आयाम ल्याएको बताए,‘ लामिछानेले त्यो समयमा यति गहकिलो निबन्ध लेख्नु भनेको चानचुनेको कुरा हैन । त्यो समयमा निबन्धबाट उनलाई मदन पुरस्कार प्रदान गरिएपछि नेपाली निबन्धको उचाई निकै बढेर गयो ।’ महाकवि देवकोटापछि नेपाली निबन्धलाई शिखरमा पु¥याउने काम शँकर लामिछानेले गरेको पनि उनले बताए ।
कार्यक्रममा अर्का निबन्धकार श्रीओम श्रेष्ठ रोदनले लामिछानेलाई निबन्धको महपुरुषको रुपमा प्रस्ट्याए । नेपाली साहित्यमा निबन्ध भनेपछि सबैले शँकर लामिछानेलाई नै चिन्ने गरेको पनि उनले बताए,‘साहित्यमा महाकवि भन्नसाथ लक्ष्मीप्रसाद देवकोटाले चिन्ने गरिए जस्तै निबन्ध भन्नसाथ हामीले शँकर लामिछानेलाई नै सम्झने गरेको छौं ।’ लामिछानेले थोरै तर निकै उत्कृष्ट निवन्ध सृजना गरेर आफुलाई मानक निबन्धकारको रुपमा उभ्याएकोपनि रोदनले बताए ।
अर्का निबन्धकार प्रतिक ढकालले त शँकर लामिछानेलाई निबन्धको सगरमाथाकै उपमा दिए । भौगोलिक हिसाबले एउटामात्र सगरमाथा भए पनि नेपाली नियात्रामा दुई सगरमाथा रहेको र उनीहरु लक्ष्मीप्रसाद देवकोटा एवम् शँकर लामिछाने भएको पनि ढकालले बताए । लामिछानेले त्यो कालखण्डमा लेखेका निबन्धहरु निकै प्रभावशाली रहेको र त्यसलाई जती बुझ्यो उती आनन्द आउने गरेको पनि ढकालले बताए ।
समालोचक डा. रामदयाल राकेशले नेपालमा निबन्धलाई स्थापित गर्नमा शँकर लामिछानेको निकै ठुलो देन रहेको बताए । छोटो समय बाँचे पनि उनले निबन्धबाट नेपाली साहित्यलाई निकै धनी बनाएको राकेशले कार्यक्रममा प्रकाश पारे ।
शँकर लामिछाने प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रममा शभापति राधेश्याम लेकालीले शँकर लामिछाने त्यतिबेलै निकै पढिने निबन्धकार तथा लेखक भएको स्मरण गराए । बजारमा उनको नयाँ निबन्ध कहिले आउँछ भनेर त्यतिबेला पाठकहरु प्रतिक्षामा रहने गरेको उनले स्मरण गराए । लामिछानेले निकै जटिल देखि निकै सरलसम्म दुबै शैलीका निबन्ध सृजना गरेको उनले बताए । नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाले उनको स्मृति दिवस मनाउनु पर्नेमा लामिछानेको योगदानलाई वेवस्ता गरेको टिप्पणी पनि कार्यक्रममा उनले गरे । आगामी चैतमा लामिछानेको जन्म जयन्तीमा उनको नयाँ पुस्तक सार्वजनिक गर्ने तयारी भईरहेको पनि उनले बताए ।
कार्यक्रममा निवन्धकार श्रीवावु कार्की, कृति सम्पादक पारशप्रकाश नेपाल, साहित्यकार विमल भौकाजीसहित विभिन्न श्रष्टाले शँकर लामिछानेको योगदानको स्मरण गरे ।