काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो धरालत बिर्सेर उच्च महत्वकांक्षाका साथ विवादित कम्पनीसँग सम्झौता गरेर नेपाल टी–२० क्रिकेट लिगको आयोजना ग¥यो । जहाँ ‘स्पट फिक्सिङ’ भएको नेपाल प्रहरीको अनुसन्धानले देखायो र नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मोहबुब आलम पक्राउ परे ।
– राखेप निर्मम हुनैपर्ने
उनीहरूसहित १० जनाविरुद्ध मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तयारी गरिरहेको अवस्था छ । नेपाल क्रिकेट संघ (क्यान)ले यसै सन्दर्भमा पत्रकार सम्मेलन गरेर विवादित ‘सेभेन थ्री स्पोर्ट्स’ कम्पनीसँग सम्झौता गर्नु त्रुटी भएको स्वीकारेको छ । बिहीबार पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगका क्रममा विवादास्पद कम्पनीसँग सम्झौता गर्दा त्रुटी भएको स्वीकारे । जसका कारण क्यानका पदाधिकारीले नौतिकताका आधारमा राजीनामा दिनुपर्ने मागसमेत उठेको छ ।
सेभेन थ्री स्पोर्ट्सले पनि विज्ञप्ती जारी गर्दै आफूले नेपाल टी–२० का लागि व्यावसायिक तथा रणनीतिक साझेदारका रूपमा हस्ताक्षर गरेको र लिग क्यानको स्वामित्व र व्यस्थापनमा भएको उल्लेख गरेको छ । उसले नेपाल टी–२० प्रतियोगिता निर्देशक क्यानले नै नियुक्त गरेको बताएको छ । क्रिकेट पिच, खेल मैदान र संवेदनशील एरिया क्यानले व्यवस्थापन गरेको र त्यहाँ आफ्नो पहुँच नभएको दाबी गरेका कारण कम्पनी र क्यानका विषयमा पनि विशेष छानबिन हुनुपर्ने माग हुन थालेको छ ।
‘स्पट फिक्सिङ’ खेलाडीले गर्ने भ्रष्टाचार भएकाले खेलकुदका निकायहरू र संघसंस्थाभित्र हुने भष्ट्राचारको समेत छानबिन हुनुपर्ने माग उठ्न थालेको छ । कतिपय संघले अन्तर्राष्ट्रिय संघहरूबाट ल्याएको पैसाको समेत हिसाबकिताब राखेका पाइँदैन । क्यानले नै हिसाब पारदर्शी नगरेको आरोप पनि छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद संघहरूमा हुने यस्ता भ्रष्टाचारलाई बेलैमा नियमन नगर्ने हो भने नेपाली खेलकुदको अवस्था झन बिग्रने देखिन्छ ।
पछिल्लो समय राम्रा खेलाडी विदेश पलायन हुनेक्रम बढिरहेको छ । त्यसैगरी, नेपालमा हुने अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुदहरूसमेत हतारमा गरेर अनियमितता गर्ने गरेको आरोप छ । यसतर्फ पनि सम्बन्धित निकायको बेलैमा ध्यान नजाने हो भने नेपाली खेलकुद झन पछाडि धकेलिनेछ । नेपाली खेलकुदका कतिपय टाइकुनहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धमा समेत अनुसन्धान गर्नुपर्ने माग उठ्न थालेको छ । यसो गरिएमा नेपाली खेल क्षेत्र सुदृढ हुन्छ ।
क्यानमा राजनीतिक चलखेलका कारण यसअघि पनि विवाद नभएको होइन । क्यानमा मात्र होइन अन्य संघमा पनि खेलकुदभन्दा राजनीतिक चलखेल बढी हुने गरेको छ । तेक्वान्दो, कराते, बक्सिङजस्ता नेपाललाई पदक दिलाउन सफल खेल संघहरू पनि विवादित छन् । खेलाडीको भविष्य सुनिश्चित गर्नेतर्फ राखेपको ध्यान केन्द्रित नहुने हो भने यस्ता आपराधिक गतिविधि बढ्दै जानेछन्, जसले नेपाली खेलकुदलाई ठूलो हानी हुने विश्लेषकहरूको धारणा छ ।
क्यानले स्पष्ट नीति निर्माण गरेर रणनीतिक रूपमा नेपाली क्रिकेटको विकास गर्नुको सट्टा फास्ट ट्र्याकमार्फत सस्तो लोकप्रियता खोजेको देखिन्छ । नेपाली खेलकुदको अवस्थालाई मध्यनजर नै नगरी खेलाडीलाई पनि महत्वाकांक्षी बनाउनुमा क्यान दोषी रहेको बताइन्छ । क्यानका अध्यक्ष चन्दले दाबी गरेझैं नियत गलत नभए पनि त्यसले दूरगामी असर पर्न सक्ने अधिकारीहरूको भनाइ छ ।
नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को अनुमति नै नलिई विवादित कम्पनी (जसको प्रबन्धपत्रमै जुवाघर र सट्टेबाजी सञ्चालन गर्ने उल्लेख छ) सँग सम्झौता गरेको देखिएकाले राखेपको छानबिन समितिले निलम्बनसम्मको कारबाही सिफारिस गरेको छ । यसतर्फ राखेप निर्मम हुनैपर्छ । नेपाली खेलकुद संघमा देखिएको अर्काे महारोग हो, एउटै व्यक्तिको कब्जामा संघ रहनु । यसतर्फ पनि राखेपको स्पष्ट नीतिको आवश्यकता छ ।
प्रहरीले क्यानका पदाधिकारीको पनि छानबिन गर्ने बताइरहेको छ भने अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न नभएको दाबी गरिरहेका छन् । पाँचजनालाई स्पट फिक्सिङका लागि प्रस्ताव गरिएको प्रहरीको दाबी छ । विराटनगर सुपर किंग्सका कप्तान आन्द्र म्याक्कथी पनि विवादित छन् । उनी पनि स्पट फिक्सिङमा रहेको देखिए अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठनको सहयोगमा कानुनी दायरामा ल्याउने प्रहरीले जनाएको छ ।
स्पट फिक्सिङमा सेभेन थ्री स्पोर्ट्सका प्रमुख जटिन अलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सक्लानीको भूमिका देखिन्छ भने उनीहरू १८ पुसमा नै भारत भागेका थिए । नेपालमा यो मात्र फिक्सिङको पहिलो घटना भने होइन । यसअघि २०७२ मा फुटबलमा फिक्सिङको घटना भएको थियो । पछिल्लो अध्ययनले नेपालका यसअघिका खेलमा पनि फिक्सिङ भएको उल्लेख छ ।
विशेषरी सट्टेबाजी बेटिङका लागि स्पट फिक्सिङ भएको अनुसन्धानले देखाएको छ । म्याचको नतिजालाई नै प्रभावित पार्ने रकमको लेनदेन गरेर खेल्नु म्याच फिक्सिङ हो । तर, यहाँ मान्छेलाई थाहा नहुनेगरी म्याचभित्रको निश्चित गतिविधिलाई प्रभाव पार्नेगरी हुने कार्य भएकाले स्पट फिक्सिङ भएको निष्कर्ष निकालिएको हो ।
आईसीसीको एन्टी करप्सन युनिटले अन्य केही खेलाडीका गतिविधि पनि अस्वाभाविक भएको उल्लेख गरेको छ । क्यानले आठ वर्षका लागि ३३ करोड रुपैयाँ बुझाउनेगरी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको थियो ।