इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेको छ । शुक्रबार उपमहानगरले इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सुरज चौधरीको एक तले भवन भत्काएको हो ।
उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो ।
निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले काम गर्नका लागि असर पुर्याउँदै आएको छ । उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको भवन पहिलोपटक शुक्रबारबाट भत्काउन सुरु गरेको नगर प्रमुख पौडेलले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउनेछ ।
उपमहानगरको दुईवटा डोजरसहित भवन भत्काउन प्रमुख पौडेल स्वयम् उपस्थित थिए । यसअघि उपमहानगरले सूचना जारी गरेपनि चासो नदेखाएपछि भवन भत्काइएको पौडेलले बताए । रानी–विराटनगर–दुहबी–इटहरी–धरान ६ लेन सडक निर्माणका लागि राजमार्गमा रहेका भवनका कारण समस्या हुँदै आएको छ । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिएपनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ । राजमार्गमै भवनहरू भएका कारण सडक निर्माण अलपत्र जस्तै छ । सूचना जारी गरेर अब राजमार्गका सबैजसो भवनहरू भत्काइने मेयर पौडेलले बताए ।
पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेको अवस्थामा उपमहानगर आँफै अग्रसर भएर भवनहरू भत्काइने उनले बताए । इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन, सरोकारवाला निकायसँग छलफल गरी शुक्रबारबाट राजमार्ग ओगटेर बनेका भवन भत्काउन सुरु गरिएको बताइएको छ ।