जुम्ला । माघ ४ गते जुम्लाको पातारासी गाउँपालिकाको बाँता गाउँमा रेम्बो ट्र«ाउड माछा पालनको रिर्पोटिङ गर्न जाने निधो भयो । पातारासीको बाँता गाउँ, जो एग्ला खस्रु हिमालको खोंचमा छ । बाहिरबाट यो गाउँ देख्न सकिदैन । वरिपरिका डाँडाले गाउँको दृश्य छोपिएको छ । जसरी गाउँको दृश्य डाँडाले छोपिएको छ, त्यसै गरि लुकेका छन्, किसानका सफलताका कथाहरु । लुकेका कथालाई राजधानीबाट देशभरका पाठकको माझमा पस्कने हुटहुटी बोकेर माघ ४ गते विहान साढे ११ बजे बाँता गाउँको यात्रा आरम्भ भयो । बाँता गाउँ दुर्गम पनि हो । त्यसै पनि भर्खरै पातारासीको कोटाभिरको जीप दुर्घटनामा १ जनाको ज्यान गएको छ । १४ जना घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचार भइरहेको छ ।
यहि कोटाभिर छिचोल्दै बाँता गाउँ पुग्नु पथ्र्यो, रेम्बो ट्राउट माछा पालनको रिर्पोटिङका लागि । तर मलाई सडकको चिन्ता भन्दा माछा पालनको सामाग्री श्रोताको माझमा पस्कने इच्छा बढि थियो । अप्ठेरो त डोल्पाको जगदुल्ला पनि थियो, जहाँ ६ महिना अघि मौरिलेक काट्दै भौतिक रुपमै पाइला टेकेर डोल्पालीको जनजीविका’bout सुचना बाँडिएकै हो । त्यसैले इमान्दार भएर भन्ने हो भने बाँता गाउँ पुग्ने इच्छाले सकडको डरलाग्दो चित्र छाँयामा पर्यो । सदरमुकामबाट आधा घण्टामा हामी पातारासीको उर्थु पुग्यौं । साथमा हुनुहुन्थ्यो, अग्रज पत्रकार भिम कसिंगर र सिँजा ६ का वडा अध्यक्ष लाल बहादुर बुढा । उर्थु पातारासी गाउँपालिका, रारा मार्ग र बाँता को त्रीवेणी हो । तिन वटा सडक उर्थुबाटै छुट्टिन्छन् । भिम दाजुले चिया पिएर बाँताको यात्रा तय गर्ने निधो गर्नु भो । मलाई भने बाँता पुग्ने हतारो थियो । हामी १० बजे बाँतामा पुग्यौं । घरघर बाट बस्तु भाउ बनतर्फ लाने चटारो देखिन्थ्यो । भेडा, बाख्राको आवाजले आफ्नै घरमा पुगेको आभास भइरहेको थियो ।
गाउँमा बस्तुभाउ सँग बाल्यकाल बितेकोले मेरो मानसपटलमा मेरो विगतका दृश्य एक पछि अर्को देखिन थाले । हरेक हिउँदमा बाख्रा चराउनु मेरो बाल्यकालको दैनिकि हुन्थ्यो । बाँता गाउँका स्कुले ठिटाका दौतरीहरु समुहमा बाख्रा लिएर बनतिर लागेको देखेपछि मलाई बाल्यकालको सम्झना आएको थियो । गाउँ सम्मै मोटर बाटो पुगेकोले यात्रा सजिलो भयो । स्थानीय जोरा सिंह बुढाको घरमा पुग्यौं, जो हाम्रो गन्तव्य थियो । जोरासिंह तिनै व्यक्ति हुन, जो एक दशक अघि सम्म जवा नदि किनारमा बल्छि खेल्थे । बल्छि खेलेर असला माछा बेच्ने जोरासिंह बुढाले अहिल रेम्बो ट्राउड माछा पालन थालेका छन् । अमेरिकाको अलास्का नदिमा पाईने रेम्बो ट्राउट माछा जोरा सिंह बुढाले २०७७ सालबाट पाल्दै आएका हुन् । राजस्व नामक कृषि फर्म सञ्चालन गरेर रेम्बो ट्र«ाउड माछा पालन भइरहेको छ, यति मात्रै होइन, भुरा उत्पादन गर्ने ह्याचरी समेत सञ्चालनमा छ । उनमा टेलिभिजनको कृषि कार्यक्रम हेरेपछि माछा पालनको रहर जागेको रहेछ । दिनभर माछा फर्ममा रमाउदै सुचना संकलन गर्ने काम भयो ।
फोटो, भिडियो र आवाज सबै संकलन गरियो । मैले उनलाई सोधे,‘तपाई माछा पालनबाट सन्तुष्ट हुनुहुन्छ ?’ उनको जवाफ सुनेर तिनछक परेँ । उनले भने ‘माछा प्रतिकिलो २ हजारमा बिक्रि भइरहेको छ ,२१ लाख लगानी छ, भुरा उत्पादन हुदैछन्, तर म सुन्तुष्टिलाई आम्दानी सँग जोड्दैन, अरुले भनेर सुरु गरेको व्यवसाय भए पो सुन्तुष्टिको कुरा हुन्थ्यो, आफैंले रहर पुरा गर्न सुरु गरेको पेशा हो, रहर पुरा भएपछि सुन्तुष्टि त आफैं प्राप्त हुने नै थियो ।’ म सँगै बाँता गएका सिंजा ६ अध्यक्ष लालबहादुर बुढाले सुटुक्क मलाई भने, जोरासिंह भनेको स्वाभिमानको अर्को नाम हो । उहाँ जत्तिको इमान्दार मान्छे पातारासीमा शायदै होला ।’ गाउँको छेउमा रहेको माछा पोखरी नजिक दुइ वटा अक्सिजनका सिलिण्डर राखिएको थियो । यि सिलिण्डरकै साथमा असला माछाका भुरा काठमाण्डौं पुर्याएर आएको जोरासिंहले सुनाए । उनी सँग माछा मात्रै थिएन, दाँते ओखर, स्याउका विरुवा पनि प्रयाप्त थियो । बेलुका ४ बजे जडिबुटि मिश्रित चिया पिउदै हामी छुट्टिने निधोमा पुग्यौं । अहिले पनि मानवता र हार्दिकता दुर्गममा जीवित छ । बाँता गाउँमा हामी प्रवेश गरेदेखि छुट्टिनु पुर्व जोरासिंहले दुवै कुरा व्यवहारले नै देखाए ।
मैले जोरासिंह सँगको भेटलाई मनमनै सौभाग्यको दर्जा दिदै उनको कथा श्रोताको माझमा सुनाएर गुन तिर्ने मिठो कल्पना गर्दै फर्किएँ । सोमबार म जोरासिंहको कथा लेखिरहेको थिएँ, भिम कसिंगर दाईको फोन आयो, र भन्नुभयो, ‘मानबहादुर एक दमै दुखद् खबर आयो भाई ।’ मैले हतारिदै सोँधे ‘किन के भो र दाई ?’ भिमदाईको जवाफ थियो । ‘हामिले भेटेको जोरासिंहको मृत्यु भएछ ।’ म झस्किएँ, ल्याप्टप धमिलो देखिन थाल्यो । म कस्तो अभागी । जसको मिठो कथा सुनाइदिने बाचा गरेर फर्किएको थिएँ, कथा पुरा हुन नपाउदै मृत्युको खबर कानमा पर्यो । जोरासिंह यहि ९ गते पातारासीको साना जलविद्युतको नालामा मृत फेला परेका थिए । आइतबार राति बरफमा चिप्लिएर नालामा खसेको अनुमान गरिएको छ । प्रहरिले भने घटनाको अनुसन्धान गरिरहेको छ । जोरासिंह जसको हृदयमा हार्दिकता र जीवनमा स्वाभिमान झल्किन्थ्यो । मृत आत्माको चिरशान्तीको कामना ।