इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेपछि कतै देशभरका नगरपालिकाले काठमाडौं महानगरपालिकाको फोटोकपी त गर्दै छैनन् ? यो प्रश्न अलि बढी नै उठ्नथालेको छ । त्यसो त नगरपालिका भनेको सहरीकरण नै हो । सहरीकरण भनेपछि गाउँका मानिस सहरमा आउँदा चिटिक्क परेका ठूलाठूला भवन देख्ने, पिच गरेका चौडा बाटो देख्ने, सरसफाइ र ट्राफिक व्यवस्थापन हेर्ने र रेलका डिब्बा जोडिएका जस्ता देखिन चिल्ला गाडी दौडाउने भन्ने नै हुन्छ । सायद अन्तर्राष्ट्रिय मापदण्ड पनि यसभन्दा अर्को छैन ।
इटहरीले पनि यसै सोचलाई अघि बढाएको देखिन्छ । यसले पनि मापदण्डविपरीत निर्माण गरिएका भवन भत्काउन सुरु गरिसकेको छ । काठमाडौं महानगरपालिकाले काठमाडौं सहरलाई कम्तिमा पनि महानगरपालिकाजस्तो बनाउने र यसको स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय मापदण्डनजिक पु¥याउने सोचनुसार मापदण्डविपरीतका भवन भत्काइरहेको छ । यसको सिको धनगढीलगायतका नगरपालिकामा पनि देखापरेको हो । अहिले यो लहर इटहरीसम्म पुगिसकेको छ । इटहरीमा अहिले उपमहानगरपालिकाको डोजर बाटोमा रहेका घर हेर्दै हिँडिरहेको छ ।
विकास निर्माण आफैंमा विरोधको विषय होइन । विकासले सबैको भलो गर्छ पनि । निर्माण कार्य आफैंमा जनचाहना पनि हो । तर, पनि नगरपालिकाले आआफ्ना विशिष्टताअनुरूप समस्याहरूको पहिचान र तिनको सिर्जनात्मक समाधान तथा नयाँ निर्माण गरेर देखाउन सकेनन् । सबैको आँखा बाटो बिस्तार र चोक निर्माणमा मात्र केन्द्रित हुन पुगेको छ ।
नगरपालिकाका लागि मापदण्डविपरीत बनेका घरहरू आफैंमा चुनौती त बनिरहेका छन् नै । तर पनि यस्ता घर भत्काइने र नयाँ निर्माण गरिने काम एकीकृत रूपमा सँगै लैजानसकेको देखिँदैन । इटहरी उपमहानगरपालिकामा पनि निर्माणाधीन ६ लेन सडक परियोजना कार्यान्वयनका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवन भत्काउन सुरु गरिएको भनिएको छ । उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको यस्ता भवन शुक्रबारबाट भत्काउन सुरु गरिसकेको छ । निर्णय कार्यान्वयनका लागि उपमहानगरका दुईवटा डोजरसहित प्रमुख आफैं लागिपरिरहेका छन् । हाल त्यहाँ रानी–विराटनगर–दुहबी–इटहरी–धरान ६ लेन सडक निर्माण थालनी भएको छ । यसरी भवन भत्काउँदा मुआब्जाका कुरा पनि उठेका छन् । तर त्यसको गुन्जायस छैन ।
निर्माण विशेषज्ञहरूको आँखामा जहाँ पनि भवन भत्काउने र बाटो विस्तार मात्र गर्नतिर ध्यान दिनेभन्दा पनि सडक निर्माणलाई प्राथमिकतामा राखेर यसका लागि तयारीका आकर्षक कार्यक्रमहरू अगाडि ल्याइँदा एक नगरपालिकाले अर्को नगरपालिकाको फोटोकपी गरेको जस्तो देखिने थिएन । यसले रचनात्मक काममा धेरै ठूलो टेवा पनि दिने थियो । जनताले निर्माणका कार्यमा रचनात्मक र सिर्जनात्मकता पनि खोजिरहेका हुन्छन् । यसमा नीति निर्माता र कार्यान्वयनकर्ताको सोच र शैलीमा रचनात्मकता देखिनुपर्छ । एउटा नगरपालिकाले बाटो निर्माणमा जोड दिइरहँदा अर्कोले सरसफाइ, खानेपानी, स्वास्थ्य, शिक्षा तथा अन्य कुरामा सिर्जनात्मकता अपनाउनसके राम्रो हुने थियो । नत्र जहाँ पनि जनताले उही ‘डोजर आतंक’ देख्ने भए । विकास निर्माणले जनतामा नयाँ सोच र धारणा विकास गर्न तथा तदनुरूप व्यावसायिक रूपमा आफ्नो सहभागितासहित अघि बढ्न तत्परता देखाउनु जरूरी छ, न कि कुनै त्रास ! त्यसैले विकास निर्माणमा सिर्जनात्मक विधिता ल्याऔं, फोटोकपी नगरौं !