राष्ट्रपतिमा आठ जना आकांक्षी, कांग्रेसलाई माओवादीकै भर


काठमाडौं । आगामी फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मुख्य चार दलबाट आठ आकांक्षी देखिएका छन् ।
चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न निर्वाचन आयोगले आगामी २५ फागुनमा निर्वाचन तयारी गरिरहँदा सो पदमा चार दलबाट आठ आकांक्षी देखिएका हुन् ।

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्र र एमालेबाट अलग भएर संसद्मा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले नयाँ राष्ट्रपतिका लागि आआफ्ना दाबी गर्दै आएका छन् ।

कांग्रेसबाट राष्ट्रपति पदका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले इच्छा राख्दै आइरहेका छन् । उनीहरूले सोहीअनुसार आफ्नै दलभित्र र बाहिरसमेत आन्तरिक छलफल तथा भेटघाट तीव्र बनाएका छन् ।

एमालेबाट संविधानसभा अध्यक्षसमेत रहिसकेका सुवास नेम्बाङ नयाँ राष्ट्रपतिका लागि चर्चामा छन् । सोही दलबाटै अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल र डोरमणि पौडेलले समेत ‘लबिङ’ गरिरहेका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफ्नै दलको निर्वाचन चिह्नका उम्मेदवार जिताउन भूमिका निर्वाह गरेका नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाउन चाहना राख्दै आएको छ ।

त्यस्तै, एमालेबाट अलग भएर बनेको दल नेकपा एकीकृत समाजवादीले पनि नयाँ राष्ट्रपतिका लागि सकेसम्म आफ्नै दलबाट उम्मेदवार उठाउनेगरी छलफल गर्दै आइरहेको छ । सो दलबाट झलनाथ खनालले आकांक्षा राख्दै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आगामी राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोजी गर्ने बताउँदै आएका छन् । उनको आशयलाई भने एमालेले ‘शंकाका नजर’ले हेर्दै आइरहेको छ । प्रचण्डको आशयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेकै उम्मेदवारमा राष्टिय सहमति खोजिने बताउँदै आएका हुन् ।

कांग्रेसले भने माओवादी केन्द्रको साथ लिएर नयाँ राष्ट्रपति आफ्नो पोल्टामा पार्ने आशा राख्दै आइरहेको छ । तर, सत्ता गठबन्धन बन्दा र प्रचण्ड र प्रधानमन्त्री नियुक्त हुँदै एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार नयाँ राष्ट्रपति एमालेलाई दिन माओवादी तयार नहुँदा मात्रै कांग्रेसको सो आशा पूरा हुने देखिन्छ ।

कांग्रेस महामन्त्री गगन थापाले भने गत बिहीबार तनहुँ पुगेर माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई मत हाल्ने अपेक्षा रहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भनेका थिए, ‘त्यसो भयो भने राजनीतिमा सन्तुलन हुन्छ ।’

राष्ट्रपतिका लागि चर्चामा रह“दै आएका नेपाल समाजवादी पार्टी अध्यक्ष डा. भट्टराईले पनि शनिबार गोरखा पुगेर राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्नेमा जोड दिए । अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको भन्दै उनले आफ्नो नाम पनि शुभेच्छुकबाट आइरहेको उल्लेख गरे ।

‘सकेसम्म सरकार निर्माणलगायत सबै विषयमा पा“च वर्ष राष्ट्रिय सहमति गरेर जाऔं, नभए देशको अभिभावकका रूपमा परिकल्पना गरिएको राष्ट्रपति सबैको सहमतिमा बनाऔं भन्ने बहस चलिरहेको छ,’ भट्टराईले पत्रकारसँगको भेटघाटमा भने, ‘कतिपय शुभेच्छुकले म पनि एउटा पात्र हुन सक्छु भन्ने चर्चा चलाउनुभएको छ ।’

राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २ सय ७५ सदस्य, राष्ट्रियसभाका ५९ सदस्य र र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल ८ सय ८४ मतदाता हुन्छन् ।

आयोगले राष्ट्रपति निर्वाचन सकिएपछि उपराष्ट्रपति पदको निर्वाचन गर्ने छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरक मितिमा गर्नुपर्ने उल्लेख छ । व्यवस्थाअनुसार राष्ट्रपति निर्वाचन सम्पन्न भएको १५ दिनभित्र उपराष्ट्रपति निर्वाचन गर्नुपर्छ ।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदै ‘कसरी गर्ने ?’ भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा पर्दै आएको छ । ती प्राविधिक विषय मिलाएर आयोगले निर्वाचन गर्नेगरी रणनीति बनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २९ फागुन र उपराष्ट्रपतिको पदावधि ९ चैतमा सकि“दै छ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।

आयोगले संविधानमै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष तोकिएकाले पदावधि कायम रहँदा नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ विषयमा अन्योलता देख्दै आएको हो । सो विषयमा आयोगले गत १८ पुसमा प्रधानमन्त्री प्रचण्ड र सरकारका मन्त्रीसँग छलफल गरेको थियो ।

देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

तेस्रो पटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुनः नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको अनुसूचीअनुसार देशको कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई एक हजारले भाग गर्दा जुन नम्बर आउँछ, त्यो नै एक संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभा सदस्यको मतभार पनि यही प्रक्रियाबाट तय हुन्छ ।

यसअघि २०७४ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा भने २०६८ को जनगणनाअनुसार संघीय सांसदको ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम थियो । तर, हाल जनसंख्या बढेकाले मतभार संख्या फरक हुनेछ । पछिल्लो जनगणनाको अन्तिम विवरण औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
इटहरीमा एमालेको विरासत तोड्ने योजनामा कांग्रेस, एमाले भन्छ : हामी जित्छौँ