राष्ट्रपति निर्वाचन : आआफ्नै रणनीतिले एमाले–माओवादी दूरी बढ्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारूढ दल आआफ्नै रणनीतिअनुसार अगाडि बढिरहेका छन् । एक अर्काप्रति सशंकित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) राष्ट्रपति निर्वाचनमा रणनीतिकरूपमा अगाडि बढ्न खोजेपछि उनीहरूबीच दूरी बढ्दै गएको स्रोत बताउँछ ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने निर्णय गरेपछि एमालेले सरकार गठनअघि भएको ‘भद्र सहमति’अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको छ । राष्ट्रपति निर्वाचनमा सरकार गठनअघिको सहमति कार्यान्वयनका लागि दुवै पार्टीका शीर्षनेता निरन्तर छलफलमा छन् ।

एमाले र माओवादी केन्द्रसहित सत्तारूढ दलबीच भएको सहमतिअनुसार राष्ट्रपति, सभामुख एमालेले पाउने भएको थियो । माओवादी केन्द्रले उपराष्ट्रपति र प्रधानमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पाउने सहमति सरकार गठनअघि भएको थियो ।
सत्तारूढ दलबीच भएको सहमतिअनुसार प्रधानमन्त्री, सभामुख, उपसभामुख निर्वाचन भइसकेको छ । पूर्वसहमतिअनुसार एमालेले राष्ट्रपति पाउनेछ । माओवादी केन्द्रले पाउने उपराष्ट्रपतिमा सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले समेत दाबी गर्दै आएको छ ।

पार्टीले उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुन्छ : एमाले
राष्ट्रिय सहमतिमै चयनका लागि सबै दलसँग छलफल हुन्छ : माओवादी


तर, माओवादी केन्द्र स्थायी कमिटी बैठकले राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मा गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सबै दलबीच छलफल गर्ने निर्णय गरेको छ । माआवादी केन्द्र अध्यक्षसमेत रहेका प्रचण्डले यसअघि गत ३ माघमा राष्ट्रपति निर्वाचन’bout आफूलाई विश्वासको मत दिएका दलबीच छलफल गरेका थिए ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने बताएका छन् । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार सम्पन्न शहीद स्मृति कार्यक्रममा नेम्वाङले ‘राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमाले नै उम्मेदवार खडा गर्ने’ दाबी गरे ।

उनका अनुसार राष्ट्रपति विषयमा अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल गरिरहेका छन् । नेम्वाङले राष्ट्रपति विषयमा अन्य दलस“ग सल्लाह गर्ने माओवादीको निर्णयलाई ‘अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको’ जिकिरसमेत गरे ।
एमाले महासचिव शंकर पोखरेल सहमतिका नाममा परिवर्तन खोज्नु कांग्रेसको ‘सत्तालिप्सा’ भएको आरोप लगाउँछन् । ‘सत्ता समीकरण भत्काउने कुनै पनि षड्यन्त्र सफल हुँदैन,’ उनले भने, ‘सत्ता समीकरणलाई मुलुकको हितका पक्षमा लैजान मिलेर अघि बढ्नुपर्ने आवश्यक छ ।’

महासचिव पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रममा फसाउने कोशिश भइरहेको टिप्पणी गर्दै राजनीतिक अस्थिरताको खेल सही बाटोमा अघि बढाउन एमाले दृढ संकल्पित रहेको बताए । ‘राजनीतिक अस्थिरतको दुष्चक्र कायम गर्ने जुन कोसिस गरिएको छ । त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ,’ उनले भने ।

नेपाली राजनीतिमा देखापरेका पछिल्ला परिस्थितिप्रति आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढने बताए । ‘अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेल भइरहेका छन्,’ उनले भने, ‘नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ । सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउन दृढ संकल्पित रहेको यहाँ उल्लेख गर्दछु ।’
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरे । माओवादी केन्द्र स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णयको खण्डन गर्दै उनले ‘राष्ट्रपति एमालेले पाउने भन्ने गठबन्धन दलबीच सहमति भएको र यसबाट कसैलाई अन्योल हुनु नपर्ने’ बताए ।

‘केही दल छिर्के दाउ हानेर वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयास गरिरहेका छन् । त्यो सफल हुने छैन । सत्तागठबन्धका दलप्रति एमाले सशंकित छैन,’ उनले भने, ‘राजनीति विश्वासले चल्ने हो । एउटा माघले जाडो जाने विषय पनि होइन । यो कसैलाई छिर्के हानेर दाउपेचमा राखेर राजनीति गर्ने विषय पनि होइन । इमानदारिता र निष्ठा राजनीतिका आधार हुन्, यी टुटे भने केही बाँकी रहँदैनन्, विश्वास घात कसैबाट हुने छैन ।’

नेपाली कांग्रेसले ‘कुनै पनि हालतमा राष्ट्रपति नपाउने’ ठोकुवा गर्दै ज्ञवालीले थपे, ‘धमिलो खोलामा माछा मार्न खोजेजस्तै कांग्रेसले राष्ट्रपति लिने दाउमा छ, कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा हो, गठबन्धनमा खेल्न यस्तो गरिएको सबैले बुझेका छन् ।’

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पार्टीले राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमतिमै गर्नका लागि सबै दलस“ग छलफल हुने बताउ“छन् । कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति आएकाले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने आवश्यता उनले औंल्याए ।

‘कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दियो । राजनीतिमा नयाँ परिस्थिति निर्माण भएर राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं भन्ने हाम्रो मत हो,’ पौडेलेले भने, ‘यसको मतलब एमालेलाई बाहिर राखेर सहमति गरौं भन्न खोजिएको होइन ।’

मिश्रित संसद् रहेकाले पाँचवर्षे कार्यकाल सुनिश्चित गर्न, संविधान संरक्षण र राजनीतिक दलबीच सहमतिमा सहजताका लागि माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई नै जोड दिने उनको कथन छ । ‘संविधानको संरक्षक तथा साझा अभिभावक राष्ट्रिय सहमतिबाटै चयन गर्दा सहज हुन्छ भन्ने माओवादी केन्द्रमा छलफल भएको छ,’ पौडेलले भने ।

उनले राष्ट्रिय सहमतिसाथ साझा व्यक्तिमा सहमति जुटाएर संविधानअनुसार नै राष्ट्रपति चयन हुने पनि प्रस्ट पारे । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले ‘भोलि हुने सम्भावित दुर्घटना रोक्न र सरकारलाई पा“च वर्षसम्म लैजानका लागि राष्ट्रिय सहमतिसाथ अघि बढ्नुपर्ने’ उनको सुझाव छ ।

राष्ट्रपति दलीय भागबन्डामा बाँडफा“ट गर्ने पद नभएको बताउँदै पौडेलले ‘कुनै पनि पार्टीलाई बाइपास गरेर अघि जान नसकिने’ जिकिर गरे ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को बन्दैछ आइजिपी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी