काठमाडौं । सांगीतिक व्यान्ड नेपथ्यले अस्ट्रेलियाका विभिन्न सहरमा भव्य कन्सर्ट गरिरहेको छ ।
सो ब्यान्डका गायक अमृत गुरुङका अनुसार दुई दिनअघि अस्ट्रेलियाको ब्रिसबेनको ‘फोर्टिच्युड म्युजिक हल’मा टनाटन दर्शकमाझ कन्सर्ट प्रस्तुत गरिएको थियो । त्यस क्रममा ‘भेंडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरी म¥यो’, ‘जोमसोमे बजार’मा पस्किए ।
‘हाम्रा लोकगीतले नचाउने काम मात्र नगरेर नेपाली समाजकै सन्देश र दर्शन पनि बोकेका हुन्छन्’ गायक अमृत भने । कन्सर्ट अवधिमा उनले विदेशमा सबै नेपाली मिलेर बस्न र आइपरेका बेला एकअर्कालाई साथ दिन अनुरोध पनि गरे ।
यो सिंगो वर्ष सो ब्यान्डले ‘मानवताका लागि संगीत’का निम्ति समर्पित गरेको छ । अघिल्ला कन्सर्टमा प्रस्तुत गीतका सेट नै दोहो¥याइएको ब्रिसबेनमा पनि ‘यो जिन्दगानी’ गीत गाउने क्रममा सडक आश्रितका दृश्य देखाइएको थियो ।
नेपालस्थित मानवसेवा आश्रमका आश्रितको मनछुने दृश्य समेटेको सो भिडियोले धेरै दर्शकको मन छोएको देखिन्थ्यो । अस्ट्रेलियाको तेस्रो ठूलो सहरमा आयोजित कन्सर्टसहित नेपथ्य यस स्थानमा पाँचौंपटक उभिन पुगेको हो ।
‘यति भव्य सम्पन्न कन्सर्टको हिस्सा बन्न पाएकामा मेरो सम्पूर्ण टिम खुसीले गदगद भएको छ,’ स्थानीय आयोजक टोलीमध्येका सुनिल बस्नेत भने, ‘दर्शकको उपस्थिति र अत्यन्त सकारात्मक प्रतिक्रियाले यो कार्यक्रमलाई भव्य र सभ्य बनाइदियो ।’
कन्सर्टमा ब्यान्ड र व्यवस्थापनको १३ सदस्यीय टोलीमध्ये मञ्चमा गायक अमृतलाई सधैंजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरजकुमार थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाए ।
ब्रिसबेनको प्रस्तुतिसँगै नेपथ्यले अस्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेस्रो सो सम्पन्न गरेको छ । टोलीले अबको यात्रा क्यानबेरातर्फ गर्नेछ, जहाँ ३ पे्रmाबुअरीमा फेरि नेपथ्य घन्किनेछ । अस्ट्रेलियाको केन्द्रीय राजधानी यो सहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो । त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा सो हुँदै छ ।
यसपछि ब्यान्ड पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’ हुँदै अन्तिममा अस्ट्रेलियाकै पुछारतर्फ लाग्नेछ । बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा १७ तारिख शुक्रबारका दिन यसपटक अस्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुति दिने नेपथ्यले जनाएको छ ।