क्यान्सरबाट हरेक वर्ष १ कराेडले ज्यान गुमाउछन्

गुल्मी–तम्घास घर भएका रामकृष्णले देब्रे घाँटीमा गाँठो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफएनएसी तथा बायोप्सी नै गराए । जहाँ उनीजस्तै गाँठो, गठखलो र पिलो भएका थुप्रै बिरामी थिए ।
मुखबाट रगत र पिप लगातार बहँदा तथा गाउँघरका मानिसले थरी–थरीका भयानक कथा सुनाउ“दा पनि केही नलागेका रोल्पा थवाङका तेमन बुढा स्वास्थ्य शिविरमा आएका थिए । न यस समस्याले दुःख दिएको छ, न खाना नै मागेको छ, किन पैसाको कुटुरो बोकी चिकित्सकलाई बुझाउने ? भनी प्रतिवाद गर्दै थिए । यस्ता समस्या र प्रतिवाद पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै स्वास्थ्य शिविरमा पाइन्छ ।

शन्दर्भ : विश्व क्यान्सर दिवस


यूआईसीसीका अनुसार क्यान्सरबाट बर्सेनि करिब १ करोड मर्ने गरेका छन् भने १ करोड १० लाख नयाँ क्यान्सरका बिरामी देखापर्छन्् । क्यान्सर रोगकै कारण प्रतिदिन २० हजारजनाको मृत्यु हुने गरेको छ, जुन विश्ववयापी रूपमा बर्सेनि हुने सबैखाले मृत्युको १३ प्रतिशत तथा एचआईभी एड्सजन्य संक्रमण, क्षयरोग तथा औलो सबै मिलाएर हुने मृत्युभन्दा पनि बढी हो । सन् २०२० को ग्लोबोकोन तथ्यांकमा नेपालमा प्रतिलाख ८१ जना र मृत्यृदर ५५ जना छ । बर्सेनि ३० हजार थपिने र २० हजारको यसैका कारण मृत्यृ हुने गरेको जनाएको छ ।
त्यस्तै, हरेक दिन ६ जना महिलामा स्तन क्यान्सरको पहिचान र तीनजनाको यही क्यान्सरबाट मृत्यृ हुने गर्छ । अमेरिकी क्यान्सर सोसाईटीनुसार विश्वमा महिलालाई लाग्ने क्यान्सरमध्ये सबैभन्दा बढी हरेक आठ महिलामध्ये एक महिला र हरेक १३ मिनेटमा एकजनाको मृत्यृवरण गराउने स्तन क्यान्सर हो । स्तन क्यान्सर १ प्रतिशत पुरुषमा पाइन्छ । सन् २०३० मा क्यान्सरका बिरामी २ करोड ४० लाखबढी रहने आँकलन छ ।

क्यान्सर रोगकै कारण प्रतिदिन २० हजारजनाको मृत्यु हुने गरेको छ


के हो क्यान्सर ?

शरीरका अंगप्रत्यंगका कोषहरू वा कोषिकाहरू अनियन्त्रित र असामजस्य रूपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने, नसर्ने रोगहरूमध्येको सबैभन्दा डरलाग्दो र प्राणघातक रोग हो, क्यान्सर । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । अर्बुदरोग उपचार गर्न सकिने एक दुःख हो, जुन पुरुषमा प्रायजसोको उपचार हुन्छ र महिलामा झन् सुरुमै पत्ता लगाउन सकिन्छ ।

कारण
अर्बुदरोग हुने सम्भावना निश्चित रूपले बढाउनेमा सुर्ती तथा सुर्तीजन्य पदार्थ जस्तै : धु्रमपान, खैनी, बिँडी, मादक पदार्थ, खानपिनमा तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खाना, प्रदूषणमा विषालु रासायन, आर्सेनिक, निकेल, अस्बेस्टस, अल्कत्रा र तार आदि पर्छन् ।
त्यसैगरी, विकिरणमा एक्सरे, अल्ट्राभाइलेट किरण, भाइरस माईबीभी, एचपीभी, एचएसभी—१, सीएमआई, भेरिसेला जोस्टर आदि पर्छन् । अनि पोषणको कमीमा भिटामिन ए, ई र सी, खनिज तत्व, फलामजस्ता तामा र म्यागनिज आदि पर्छन् । असुरक्षित यौन व्यवहारले पनि यसमा प्रभाव पार्छ । हर्मोनमा स्ट्रोजेन र टीएसएच तथा वंशाणुगत कारणले पनि भूमिका निर्वाह गरिरहेको हुन्छ । हरेक व्यक्तिले आफ्नो आहार विहारमा परिवर्तन गरेमा ४० प्रतिशत क्यान्सर रोक्न सकिन्छ ।

लक्षणहरू

क्यान्सर बालबालिकादेखि वृद्धसम्म सबैलाई लाग्न सक्छ । तर पनि जति उमेर बढ्दै गयो, त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ । तर, क्यान्सरको प्रकृति र किसिममा भने भिन्नता हुन्छन् । नेपालमा देखिएका क्यान्सरमा पुरुषमा मुख तथा घाँटीको, फोक्सोको र ठूलो आन्द्राको सबैभन्दा बढी पर्छ भने स्त्रीमा पाठेघरको मुखको, स्तन र फोक्सोको क्यान्सर तथा बालबालिकामा रगत र आ“खासम्बन्धी क्यान्सर बढी देखिएको छ । सरकारी आ“कडा हेर्दा पुरुषमा फोक्सोको, महिलामा स्तनको र बालबालिकामा रगतको क्यान्सर प्रमुख पाइन्छ ।

९० प्रतिशत क्यान्सर खानपिन, वातावरण र जीवनशैली तथा १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्छ


सुरुका आठ लक्षण यस प्रकार छन् : बिनाकारण वजन घटेमा, अपच वा खाना निल्न गाह्रो भएमा, दिसा वा पिसाबको बानीमा फरक परेमा, असाधारण रक्तस्राव वा पिप आएमा हेक्का राख्नुपर्छ । त्यसैगरी, उपचारद्वारा निको नहुने पुरानो घाउ भएमा, हतपत निको नहुने खोकी वा घोक्रो स्वर भएमा, कोठीको रंग र आकारमा परिवर्तन देखापरेमा र स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा पनि लक्षणका रूपमा लिनुपर्छ ।

अंगनुसार लक्षणहरू पनि फरकफरक देखिने गर्छन् । क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पता हुने र प्यारानियोब्लस्टिक सिन्ड्रोम हुँदै सिकिस्त हुन्छ र मृत्यु हुन्छ ।

विश्वमा करिब २ सय प्रकारका क्यान्सर देखापर्ने गरेका छन् । जसमा रक्त क्यान्सरको उपचार ज्यादै महँगो पर्छ । फोक्सो, आमासय÷पेट, आन्द्रा, पाठेघर, स्तन, छाला, रगत, लिम्फग्रन्थी, कलेजो, पित्तथैली, मुत्रथैली, ओठ, मुख आदि ।

उपचार

कुनैपनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्छ । वयस्कमा सयमध्ये ४० क्यान्सर निको हुन्छ भने बच्चामा सयमा ६० देखि ९० निको हुन्छ । यदि सुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकामा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

निदानमा धेरै समय लाग्ने, उपचारका क्रममा बारम्बार अस्पताल आउनुपर्ने, विभिन्न परीक्षण बारम्बार गराउनुपर्ने, विकिरण तथा केमोथेरापीका कुप्रभाव, पाश्र्वे प्रभावले बिरामी तथा आफन्तमा नकारात्मक सोच ल्याउने भएकाले बिरामी स्वयं, आफन्तहरू, संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमा धैर्यताको आवश्यकता पर्छ ।

बच्ने उपाय

हालसम्म प्राप्त ज्ञान, सीप र प्रविधिले एक तिहाइ क्यान्सर हुनुअगावै रोकथाम गर्न सकिने, अर्को एक तिहाइ समयमै पत्ता लगाइ उपचार गरी निको गर्न सकिने र बा“की एक तिहाइलाई निको पार्न नसके पनि यस रोगबाट हुने पीडा कम गरी स्तरीय आयु लम्ब्याउन सकिन्छ । एक अध्ययनअनुसार महिलामा ६० प्रतिशत र पुरुषमा करिब ४० प्रतिशत क्यान्सरको कारक तत्व असन्तुलित भोजन नै हो । सुरुमा उपचार गरे क्यान्सर निको हुन्छ तैपनि क्यान्सरबाट पाइने दुःख, हुने विकृति र विभिन्न समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलैसँग नियन्त्रण गर्न सकिने भएकाले रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ ।

यसका लागि चुरोट, बिँडी, खैनी, पान, तम्बाखु र गुटखाजस्ता लागू पदार्थ तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सडेगलेका, बासी, ढुसीपरेका, बेसी रंगाइएका, बुट्टाबुट्टी भएका र अखाद्य रंग मिसाइएका खानेकुरा नखाने र बेसी पोलेको मासु, डढेका खानेकुरा र बढी तातो, चिसो, चिल्लो खाना नखाने गर्नुपर्छ ।

यसका साथै, जाँडरक्सी सेवन नगर्ने वा थोरै मात्रा लिने, प्रत्येक दिन शारीरिक व्यायाम गर्ने, स्वच्छ सफा, ताजा, हरियो सागपात, पहेंलो फलफूल, गेडागुडी, रेसाजन्य, काँक्रो तथा पौष्टिक पदार्थ भएको शाकाहारी र सन्तुलित भोजन गर्ने, मासु खानैपरे पनि सेतो मासु जस्तैः माछा, कुखुरा खाने गर्नुपर्छ ।

नक्कली र जथाभावी औषधिको प्रयोग नगर्ने, खाना खाइसकेपछि मुख सधैं सफा राख्ने, वातावरणीय प्रदूषणबाट जोगिने, धेरै जनासँग यौन सम्पर्क नराख्ने, अनावश्यक मोटोपन घटाउने र नियमित शारीरिक व्यायम गर्ने, नुन बेसी हालेको खाना कम खाने र सम्भव भएसम्म ताजा नै खाना खानु उचित हुन्छ ।

अन्त्यमा, करिब ९० प्रतिशत क्यान्सर खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदिका कारणले र १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्छ । विकसित मुलुकमा क्यान्सरबाट जोगिनेको संख्यामा वृद्धि हुँदै आएको छ भने चेतनाको अभावले विकासोन्मुख मुलुकमा रोग फैलिसकेको अवस्थामा मात्र उपचारमा आउने, क्यान्सर बन्ने कारकहरूमा वृद्धि हुनाले क्यान्सर चेतनाप्रति हामी सबैको जिम्मेवारी अझै बढेको छ । स्वास्थ्यप्रति चेतनशील रहने र नियमित स्वास्थ्य परीक्षण गर्ने जस्ता व्यक्तिगत एवं वातावरणीय सरसफाई, उचित खानपान तथा स्वस्थ जीवनयापन गर्नाले क्यान्सर रोगबाट जोगिन सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी