काठमाडौं । एलआरआई स्कुलको आयोजनामा नवौं एलआरआई अन्तरविद्यालय स्तरीय बास्केटबल तथा फुटसल फेस्ट सम्पन्न भएको छ । माघ १३ देखि १९ गतेसम्म भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका ट्रिनिटी, ग्लोबल कलेज, हिमालयन ह्वाइट हाउस, सीसीआरसी, गोल्डेन गेट कलेज सहभागी थिए ।
त्यस्तै डीएभी, बर्नहार्ट, ट्रिटन, ग्यालेक्सी, सामाखुसी विद्यालय, केसीसीएस, पुष्प सदन, नभोदित, ओमेगा, आईएमएस, न्यूजेनिथ, टाईंम्स, जनमैत्री एस. कलेज तथा आयोजक एलआरआइको सहभागिता थियो ।
लिग र नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितमा बास्केटबलतर्फ १६ र फुटबलतर्फ १० टोलीको सहभागिता रहेको थियो । शुक्रबार भएको फाइनलमा बास्केटबलतर्फ टाइम्स र सीसीआरसी कलेज भिड्दा टाइम्स कलेज विजयी भएको थियो । फुटबलतर्फ हिमालयन ह्वाइटहाउस कलेज र काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (केसीसीएस) भिड्दा हिमालयन ह्वाइटहाउसले उपाधि चुमेको थियो ।
विजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र, नगद पुरस्कार प्रदान गरिएको थियो भने सहभागी विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
सद्भाव, मित्रता र भाइचाराको उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई एलआरआईका प्रिन्सिपल देवकान्त जोशीले धन्यवाद व्यक्त गरेका थिए ।