चुरेमकवानपुर । कृषि क्षेत्रलाई उच्चप्राथमिकता दिंदै बागमती प्रदेश सरकारले सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने तयारी थालेका छ ।
प्रदेश सरकारले यस अघि प्रतिलिटर दुधमा १ रुपियाँ दिएको थियो । प्रतिलिटरमा १ रुपियाँ दिँदा किसानलाई प्रेरणा मिलेको तर उनीहरुको लगानीमा राहत दिन नसकेको गुनासाहरु आएपछि यसलाई सम्बोधन गर्ने तयारी प्रदेश सरकारले गरेको हो । तर यसबाट सिधै किसान भने लाभान्वीत नहुने देखिएका छ ।
त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।
निर्देशनालयले अनुदान कार्यक्रममा सहभागी हुन सूचना निकालेको र सोही सूचनाको आधारमा प्रदेशको सबै जिल्लाबाट दुग्ध उत्पादक कृषि सहकारी मार्फत आवेदनहरु संकलन भएको कार्यालयले जनाएको छ ।
हालसम्म प्रदेशको सबैजसो जिल्लाबाट आवेदन प्राप्त भैसकेको निर्देशनालयले जनाएको छ । अब ति आवेदनमाथि अध्ययन गरेर फागुन मसान्त भित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने तयारी निर्देशनालयले गरेको छ ।
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ । तर यो कार्यक्रमबाट पनि साना किसान भने लाभान्वित हुने छैनन् । ठुला र व्यवसायिक किसानलाई मात्रै यो कार्यक्रमले सम्बोधन गर्ने देखिएको छ ।
कम्तिमा मासिक १ हजार ५ सय लिटर दुध संकलन गर्ने र वार्षिक कम्तिमा २ सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादन सहकारी मात्र अनुदान कार्यक्रममा सहभागी हुन पाउँछन् । यसअघि दिंदै आइएको प्रति लिटर १ रुपिया अनुदान भने सिधै सबै किसानको खातामा जाने व्यवस्था थियो । जसले थोरै थोरै दुध बेचर घरखर्च चलाउनेहरुले पनि लाभ लिन पाएका थिए । अब लागु हुने योजनामा भने ब्यवासयिक किसानले मात्रै लाभ लिन पाउने छन् । आर्थिक लगानी गरेर ठुलो व्यवसाय आँट्न नसक्ने किसानलाई भने यस पटक पनि सम्बोधन नहुने भएको हो ।
बागमती सरकारले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो । गत आर्थिक वर्षमा २६० वटा दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई १६ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो । गत वर्ष किसानले प्रतिलिटर १ रुपैंया ६४ पैसा अनुदान पाएका थिए । बागमती सरकारले २०७६ सालदेखि दुधमा नगद अनुदान दिंदै आएको छ ।