‘साइट क्लियर’ नहुँदा चिनियाँ पक्ष कामविहीन

काठमाडौं । नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकिरहेको छैन ।

आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै काममा सरकार अलमलिएको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा विस्तार हुने कलंकीदेखि महाराजगञ्ज खण्डमा नेपाल पक्षले ‘साइट क्लिअर’ अझै सम्पन्न गरेको छैन ।

‘साइट क्लियर’ सम्पन्न नहुँदै नेपाल सरकारले चिनियाँ पक्षलाई दुईपटक बोलाएर विस्तार कार्य अघि बढाउन अनुरोध गरिसकेको छ । चिनियाँ पक्षले भने शतप्रतिशत ‘साइट क्लियर’ नहुँदासम्म काम नथाल्ने अडान राख्दै आएको छ ।

चक्रपथ दोस्रो खण्ड विस्तारः सरकारको ढिलाइले झनै अलमल

नेपाल सरकारले ‘साइट क्लियर’ सम्पन्न भएको जनाएपछि चिनियाँ पक्ष एक महिनाअघि ‘फिल्ड भिजिट’मा आएको थियो । तर, निर्माणस्थलमा मन्दिर देखेपछि चिनियाँ पक्ष फर्कियो ।

करिब एक वर्षअघि पनि नेपालले चिनियाँ पक्षलाई विस्तार कार्य हस्तान्तरणका लागि बोलाएको थियो । स्वयम्भूस्थित ‘दुईवटा बिजुलीका पोल नहटाएको’ भन्दै चिनियाँ पक्ष फिर्ता भएको थियो ।

यद्यपि, एक वर्षबीच नेपाल पक्षले बिजुलीका पोल भूमिगत भने गरेको छ । तर, आयोजनाअन्तर्गत विभिन्न ठाउँमा मठमन्दिर छन् भने स्वयम्भूको पुरातात्विक सम्पदा क्षेत्रभित्र पर्ने भाग र महाराजगञ्जस्थित जग्गाको मुआब्जा विषय अझै टुंगिन सकेको छैन ।

यसअघि, गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने चक्रपथ स्थलगत निरीक्षण गरेको थियो । त्यसबेला टोलीले स्वयम्भूका दुईवटा विद्युत्का टावर नहटाएको विषयलाई गम्भीर रूपमा लिएको थियो । स्वयम्भू र सानो भ¥याङमा रहेका दुईवटा ६६ केभीको बिजुलीका टावर नेपाल विद्युत् प्राधिकरणले हटाइसकेको छ ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्डमा नेपालले पहिला ‘साइट क्लियर’ अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले ‘सर्भिस ट्र्याक’ बनाउनुपर्ने हुन्छ ।

यसअघिको सरकारको पालामा परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक चीन भ्रमणक्रममा पनि चक्रपथ विस्तार विषय उठान भएको थियो । चीनको स्टेट काउन्सिलर र परराष्ट्रबीचको भेटमा निर्माण कार्य यथाशीघ्र सुरु गर्ने सहमतिसमेत भएको थियो ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै चिनियाँ सरकारले गर्ने भनिएका आयोजना कार्यमा तीव्रता भने देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले आयोजनास्थलका मन्दिर हटाएर चिनियाँ दूतावासमार्फत ‘साइट क्लियर’ भएको जानकारी गराएर विस्तार कार्य अघि बढाउन अनुरोध गर्ने बताएका छन् ।

संवादमा वृद्धि
नयाँ सरकार गठनसँगै चक्रपथ दोस्रो खण्ड विस्तारका लागि दोहोरो संवाद वृद्धि भएको छ । चिनियाँ राजदूत तथा दूतावास अधिकारीले नै यस विषयमा चासो राखेर उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।

मन्त्री श्रेष्ठले भेटमा चक्रपथ दोस्रो खण्ड विस्तार थाल्न अनुरोध गरेका छन् । चिनियाँ अधिकारीले भने यसअघि कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ विस्तार क्रममा ‘साइट क्लियर’ नहुँदै आफूहरूले काम अघि बढाउँदा ‘साइट क्लियर’कै विषयमा लामो समय अल्झिनुपरेको उल्लेख गरेका छन् । उनीहरूले निर्धारित मितिभन्दा निर्माणमा ढिलाइ हुँदा आफ्नो कम्पनी र देशकै बेइज्जत हुने काम भएकाले ‘साइट क्लियर’ चाँडै सक्न आग्रह गरेका छन् ।

आयोजनास्थलमा विवाद कायमै
दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत महाराजगञ्जमा २ सय ४० मिटर खण्ड क्षेत्रको मुआब्जा विवाद अझै टुंगिन सकेको छैन । दोस्रो खण्डअन्तर्गत स्वयम्भू मन्दिरआसपासका पनि मापदण्डनुसार ‘साइट क्लियर’ हुन सकेको छैन ।

सो स्थानमा नेपाल पक्षले ‘म्युचुअल अन्डरस्टान्डिङ’मा काम अघि बढाउने विश्वास लिएको पाइएको छ । आयोजना प्रमुख मेघराज मरासिनी स्वयम्भूमा पुरातात्विक सम्पदाका कारण मापदण्डनुसार नहुने देखिएको जनाउँदै सम्पदाका हकमा ‘कन्सिडरेसन’ हुने देखिएको बताउँछन् ।

विवादको विकल्प खोज्दै सरकार
महाराजगञ्ज र स्वयम्भूमा मापदण्डनुसार ‘साइट क्लियर’ नभएपछि सरकारले वैकल्पिक उपाय खोजी थालेको छ । चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर र थप ६–६ मिटरमा ‘सर्भिस ट्र्याक’ बनाउनुपर्ने हुन्छ । क्षेत्रफलनुसार नहुने भएपछि नेपाल पक्षले सो क्षेत्रमा चौडा घटाएर बनाइदिन चिनियाँ पक्षलाई अनुरोध गरेको छ ।

नेपाल पक्षले चौडा कम गर्न नमिल्ने भएमा ती स्थानमा सडक विस्तार जिम्मा नेपाल सरकार आफैंले गर्ने र अन्यत्र विस्तार थाल्न अनुरोध गरेको छ ।

‘मुआब्जालगायत कारण चौडा कम भएका ठाउँको विस्तार जिम्मा नेपाल सरकारले नै गर्नेगरी काम अघि बढाउन पनि भनेका छौं,’ सचिव शर्माले भने । नेपालको अनुरोधमा चिनियाँ पक्षमा कुनै प्रतिक्रिया जनाएको छैन ।

सरकारले काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापन गर्न चक्रपथ विस्तार दोस्रो खण्ड निर्माण गर्न भन्दै आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब बजेटसमेत विनियोजन गरिसकेको छ । सोहीनुसार अहिले ‘सर्भिस लेन’ तथा ढल हाल्ने काम भइरहेको छ । चीन सरकारले यसअघि भने चक्रपथ विस्तारअन्तर्गत कोटेश्वर–कलंकी खण्ड विस्तार सम्पन्न गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज ओलीको आम सभा