आत्मदाह दुरुत्साहन र सरकारको दायित्व

विदेशमा मात्र फाटफुट रूपमा हुने गरेको आत्मदाह वा आफैंले आफैंलाई जलाई हत्या गर्ने आश्चर्यजनक घटना नेपालमा पनि बराबर देखिन थालेको छ । इलामका प्रेमप्रसाद आचार्यले गत १० माघमा संसद् भवन नयाँ बानेश्वर अगाडि चोकमै आत्मदाह गरेर सबैलाई मर्माहत बनाए । गत माघ १५ गते नै कास्कीको मादी गाउँपालिका ४ घर भई पोरखा नगरपालिका–१३ स्थित काहुखोलामा व्यवसाय गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षत्रीले आत्मदाहको प्रयास गर्दा घरबेटी संगीता सापकोटाले बचाइन तर बचाउने क्रममा आफैं आगलागीमै परी चिन्ताजनक अवस्थामा अस्पताल पु-याएकी संगीता सापकोटाको उपचारकै क्रममा दुई दिनपछि मृत्यु भयो । यही क्रममा गत माघ महिनामै विराटनगरका व्यावसायी मोहन न्यौपानेले व्यावसायिक असफलताबाट हतोत्साहित भई आत्महत्या गरे । माघ महिनामै भएका यी घटनाले व्यावसायिक असफलताकै कारण आत्महत्या गर्नेको संख्या बढेको देखाउँछ ।

आत्मदाह आफैंमा आपराधिक कार्य भए पनि सम्बन्धित व्यक्तिकै मृत्यु हुने भएकाले कसुरदारविहीन अपराधजस्तो देखिए पनि घटनासँग अप्रत्यक्ष रूपमा सम्बन्धित देखिने व्यक्ति पनि कारबाहीको दायरामा पर्न सक्छन् । पीडितलाई आत्मदाह गर्नेसम्मको अवस्थामा पु¥याउने वा त्यस्तो कार्य गराउन प्रोत्साहित गर्ने वा उक्साउने व्यक्ति यस्तो मुद्दामा दोषी ठहरिन सक्छन् । आत्मदाह वा आत्महत्या भन्नुको तात्पर्य आफूले आफ्नै जीवनलीला समाप्त पार्नु हो । यसलाई अर्को शब्दमा भन्नुपर्दा आफैं मर्नु हो । आफैंले आफैंलाई मार्ने क्रममा कसैले आफ्नै शरीरमा आगो लगाउँछन् । कसैले विष सेवन गरेर आत्महत्या गर्छन् । कसैले झुन्डिएर आत्महत्या गर्दछन् त कसैले घातक हतियारै प्रयोग गर्छन् । प्रक्रिया अलगअलगै भए पनि आत्मदाह वा आत्महत्या गर्नुको उद्देश्य मृत्युवरण नै हो ।

आत्महत्या गर्ने अवस्थामा मानिस पुग्नुको मुख्य कारण पनि व्यापकै हुन्छ । पारिवारिक एवं सामाजिक जीवनयापन गर्ने क्रममा, पेसा र व्यवसाय सञ्चालन गर्ने क्रममा, आयआर्जन गर्ने क्रममा तथा विशेष इच्छा आकांक्षा पूरा गर्ने क्रममा आइलाग्ने असफलता र नैराश्यता क्रमिक रूपमै बढ्दै गए बाँच्नुको सार भएन भन्ने अवस्थामा मानिस पुग्छ । यसरी एकोहोरिएको अवस्थामा पुगेको व्यक्तिमा सान्त्वना दिने वा उज्ज्वल भविष्यको आशाको दियो जलाइदिने दोस्रो व्यक्ति कोही देखापरे मानिसमा परिवर्तन आउन सक्छ । त्यो अवस्था नभए व्यक्ति बाँच्नुभन्दा मर्नु नै उचित भन्ने अवस्थामा पुगेर आत्महत्या गर्न अग्रसर हुन्छ । यस क्रममा उसले विभिन्न प्रक्रिया अपनाउँछ ।

आत्महत्याको कारण असीमित हुन्छ । कतिपय व्यक्तिले आत्महत्या गर्नुअगाडि यसको कारण खुलाई सुसाइड नोट छोडेका हुन्छन् । पछिल्लो समयमा सञ्चार साधनमै रेकर्ड गरी कतिले आत्महत्या गर्छन् । कतिले अत्यन्त निकटतम विश्वास प्राप्त व्यक्ति, साथी संगतिसँगै आफू तनावयुक्त अवस्थामा पुग्नुको कारण खुलाएका हुन्छन् । उनीहरूको असामान्य व्यवहार कतिपय परिवारका सदस्यले मार्क गर्छन्, कतिले गर्दैनन् । आत्महत्याको अधिकांश घटना पछिल्लो समयमा आत्महत्या वा आत्मदाह दुरुत्साहन शीर्षकमा मुद्दा चल्ने गर्छ ।

दुरुत्साहन शब्दको शाब्दिक अर्थ अनुचित वा खराब गतिविधिमा उक्साउने वा खराब कार्य गर्न प्रोत्साहन दिने कार्य भन्ने बुझिन्छ । अपराधिक कार्यसँग जोडेर हेर्दा आत्महत्या दुरुत्साहन भन्नाले व्यक्तिलाई आत्महत्या गर्न अभिप्रेरित गर्ने कार्य भने बुझिन्छ । प्रायःगरी यस्तो कार्य गर्ने निकटतम सहयोगी विश्वास प्राप्त व्यक्ति, व्यावसायिक साझेदार, विभिन्न निकाय एवं संघसंस्था सम्बद्ध कर्मचारी जोसुकैबाट पनि हुन सक्छन् ।

आत्मदाह वा आत्महत्या भन्नुको तात्पर्य आफूले आफ्नै जीवनलीला समाप्त पार्नु हो

अहिलेसम्म त आत्महत्या दुरुत्साहन घटनामा अधिकांश त निकटतम हेलमेलकै व्यक्तिउपरै कारबाही हुँदै आएको छ । तथापि पछिल्लो समयका केही घटनाको पृष्ठभूमिलाई हेर्दा दुत्साहन गर्ने निकटतम व्यक्ति मात्र होइन पेसा र व्यवसाय सम्बद्ध संघसंस्था, राज्य निकाय सम्बद्ध पदाधिकारी पनि दुरुत्साहनको कारण बन्छन् भन्ने बृहत् कोणबाटै यस्तो घटनाको अनुसन्धान गर्नुपर्ने भएको छ । राज्य निकायले मात्र होइन आमनागरिकले नै यस कुराप्रति विश्वास नगर्लान् तर दुरुत्साहनको जड व्यक्ति मात्र हुँदैन संघसंस्था र कार्यालयको भूमिका पनि दुरुत्साहनको जड हुन सक्छ भन्ने आशंकाको सम्भाव्यताप्रति माथि उल्लेखित आत्मदाह घटनालाई नै जोडेर यस स्तम्भमा चर्चा गरिएको छ ।

कसैलाई आत्महत्या गराउन, दुरुत्साहनको आरोप लागेकै व्यक्तिको भूमिका थियो भन्ने कुरा पुष्टि गर्न प्रमुख कारकतत्व मनसाय, कार्य, निजी लाभ, निजी स्वार्थ र निश्चित उद्देश्य नै हो । दुरुत्साहनकर्ता भनी अभियोग लगाइएको कुनै व्यक्ति भए, आत्महत्या गर्ने व्यक्तिको जीवित अवस्थाले दुरुत्साहनकर्तालाई पुग्ने हानिनोक्सानी’bout उपरोक्त बुँदामा केन्द्रित रही विस्तृत रूपमा अनुसन्धान विश्लेषण गर्नुपर्नेहुन्छ । दुरुत्साहन अभिप्रेरित उल्लेखित पाँच कारकतत्वमध्ये कुनैले मृतक र दुरुत्साहनकर्ताबीचको जीवितै रहँदाको सुसम्बन्ध, तत्सम्बन्धी पृष्ठभूमि तथा त्यसप्रतिको सामाजिक एवं पारिवारिक दृष्टिकोण पारस्परिक लाभ र क्षति एवं इज्जत र प्रतिष्ठाप्रति पुग्न सक्ने असर स्पष्ट रूपमै देख्न सकिन्छ । जसले आरोपित व्यक्ति नै दुरुत्साहनकर्ता हो भन्ने पुष्टि गर्छ ।

आत्महत्या दुरुत्साहनको पूर्व पृष्ठभूमि पनि घटनाको प्रकृतिअनुसार फरकफरकै हुन्छ । दृष्टान्तका निम्ति युवा युवतीबीचको प्रेम सम्बन्धमा उत्पन्न खटपटकै कारण कुनै एक पक्षले आत्महत्या ग¥यो भने अर्को पक्षलाई दुरुत्साहनकर्ताको आरोप लाग्न सक्छ, त्यो प्रमाणित हुने आधार पनि सजिलै फेला पर्छ । तथापि, अभियोगकर्ताको भूमिकालाई उपरोक्त पाँच कारक तत्वसँग तुलनात्मक रूपले नै हेर्नुपर्छ । सँगै बाँच्ने, सँगै मर्ने, उद्देश्यले प्रेममा बाँधिएका युवायुवतीको सुमधुर सम्बन्धबाट आफूलाई चोट पुगेको ठान्ने अर्को व्यक्ति वा तेस्रो पक्ष, जातीय संस्कार र परम्परा नमिलेको, जनजीविकाको आधारमा सुनिश्चित नभएको, उनीहरूको मिलेन दीर्घकालीन हुन नसक्ने, कसैमा चारित्रिक कमजोरी भएको, प्रेमसम्बनध कुण्ठित उद्देश्यमा मात्र निहित रहेको त्यसबाट आफू र आफ्नै परिवारको इज्जत र प्रतिष्ठामा आँच आउने ठानी युवायुवतीमध्येकै कुनैको अभिभावकले नै अस्वीकार गरे वा पारस्परिक प्रेममा बाँधिएका युवायुवतीमध्ये कुनै एकले उपरोक्त आशंकाकै भरमा सम्बन्ध तोडेको कारण अर्कोले आत्महत्या ग¥यो भने त्यो अवस्थामा अभिभावक एवं जीवित एकलप्रेमीकै भूमिका दुरुत्साहनकर्ताका रूपमा प्रमाणित हुन सक्छ ।

यो पृष्ठभूमिमा मृतककै बाबुआमा, दाजुभाइ, दिदीबहिनी मात्र होइन युवायुवतीकै अन्तर सम्बन्ध नै आफ्नो स्वार्थको बाधक बनेको ठान्ने कुनै तेस्रो व्यक्तिकै भूमिका पनि दुरुत्साहन प्रमाणित गर्ने आधार बन्न सक्छ । यसरी विश्लेषणात्मक रूपमा केलाएर हेरिए आरोपित व्यक्तिमा उल्लेखित पाँच कारकतत्व अन्तरनिहित रहेको पाइन्छ । आत्मदाह गर्ने उल्लेखित इलाम निवासी प्रेमप्रसाद आचार्यले बानेश्वरमा गरेको घटनालाई उपरोक्त कारक तत्वसँग जोडेर केलाउने हो भने यसको मोटिभेटिङ फेक्टर प्रेम वियोगजस्तै पारिवारिक परिधिभित्र मात्र होइन सिंगो समाज र राज्य संयन्त्रसम्मको बृहत् क्षेत्र सम्बन्धित भएको पाउन सकिन्छ । यो कसरी भन्ने’boutमा पनि संक्षिप्त चर्चा गरौँ ।

आत्मदाह गर्नुअगाडि आचार्यले उल्लेख गरेको सुसाइड नोटको विवरण हेर्दा उनी व्यावसायिक असफलताको कारण तनावको अन्तिम चरणमा रुमलिएको देखिन्छ । साथै आचार्यले व्यावसायिक असफलताकै कारण आत्मदाह गरे भन्ने कुरा पनि स्वतः पुष्टि हुन्छ, त्यो आफ्नो ठाउँमा छ । आचार्यको व्यावसायिक असफलताको कारकतत्व आचार्य स्वयंकै बानीव्यहोरा वा आचरण हो वा अन्य कुनै पक्ष यसमा सम्बन्धित छ ? अर्थात् अर्को पक्षको सम्बन्ध भए कुन पक्षको र त्यसको कारण के हो ? भन्ने कुराको आशय सुसाइड नोटले संकेत गरेको भए पनि विस्तृत रूपमा उजागर गरेको छैन । यसमध्ये अग्रस्थानमा आउने कारण आचार्यको व्यवसायबाट लाभ लिने तर आचार्यलाई त्यसको प्रतिफल नदिने अथवा नगदै कारोबार गर्ने व्यक्तिले आचार्यलाई धोका दिएको हुन सक्छ । त्यस्तो व्यक्ति पहिचान गर्ने र उनीहरूबीचको कारोबारको अवस्था जानकारी लिने । यसैगरी, आचार्यले कुनै वित्तीय संघसंस्था एवं कार्यालयबाट लोन लिएरै व्यवसाय गरेको तथा त्यसको दुरुपयोग आफैंले गरेर असफल बने वा कारोबार सम्बद्ध अन्य व्यक्तिको कारण आचार्य असफल भए ? आचार्यले नितान्त निजी लगानीबाटै व्यवसाय सञ्चालन गर्दा लेनदेन गरिएका व्यक्तिकै कारण टाट पल्टेको भए सुसाइड नोटमा उल्लेखित व्यक्ति नै दुरुत्साहनकर्ता हुन सक्छन् ।

वित्तीय संस्थाबाट लोन लिएर आचार्यले व्यवसाय सञ्चालन गरेको, कारोबार गरेकै व्यक्तिले धोका दिएको तथा वित्तीय संस्थाले भने चक्रवृद्धि दरमै लोन बढाइरहेको अवस्था भए व्यावसायिक कारोबारमा धोका दिने व्यक्ति र वित्तीय संस्था सम्बद्ध अधिकारी नै आत्मदाहको दुरुत्साहनकर्ता ठहरिन्छन् । यदि वास्तविकता यही भए वित्तीय संस्थाको अनुगमन नियन्त्रण गर्ने उपल्लो तहकै निकायले यसको नैतिक जिमम्ेवारी लिनुपर्नेहुन्छ । आत्महत्या दुरुत्साहन मुद्दालाई अब यस्तै बृहत् क्षेत्र समेटेर अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सम्बन्धित निकायको उदासीनताको कारण पनि तल्लो निकायको लापर्बाहीबाट पछिल्लो समयमा पीडित बन्दै आएका व्यक्ति धेरै छन् । यसमध्येकै इलामका प्रेमप्रसाद आचार्य त एक प्रतिनिधि मात्र मात्रै हुन् ।

आत्महत्याका बिरलै घटना व्यक्ति स्वयंसँग सम्बन्धित हुन्छन् भने अधिकांश घटना दोस्रो एवं तेस्रोपक्ष सम्बद्ध हुन्छन्

अर्थ मन्त्रालय मुलुकको वित्तीय संघसंस्था र निकायको केन्द्रबिन्दु हो । यस मन्त्रालयको मुख्य भूमिकामध्ये वित्तीय निकायलाई व्यवस्थित गर्ने हो । सरकारी एवं गैरसरकारी सबै वित्तीय निकायको सेवाप्रवाह सर्वसाधारण नागरिकका निम्ति सहज र सुविधाजनक हुनुपर्छ । लोन प्रवाह सही ढंगले भए नभएको ? प्रवाह गरिएको लोन सदुपयोग भए नभएको ? लोनबाट व्यावसायी लाभान्वित भए नभएको ? हेर्ने, अनुगमन गर्ने गराउने तथा आवश्यक व्यवस्था मिलाउने दायित्वबाट अर्थ मन्त्रालय चुकेकै कारण वित्तीय संस्थाको मनमोजी व्यवहारबाट सर्वसाधारण ऋणी अहिले प्रताडित हुँदै आएका छन् । यस दृष्टिकोणले हेर्दा वित्तीय कारोबारकै कारण कसैले आत्महत्या गरे दुरुत्साहनकर्ताको छिटा अर्थ मन्त्रालयसम्म पुग्छ भन्ने कुरामा मन्त्रालय पनि सजग बन्नुपर्छ । लोन प्रवाह गर्ने तल्लो निकायको पदाधिकारीउपर दुरुत्साहनकर्ताको आरोपमा कारबाही गरिनुपर्छ ।

अपराधिक प्रवृत्तिले ल्याएको चुनौती ऐनकानुनद्वारा नै नियन्त्रण गर्ने हो । यस क्रममा परम्परागत ऐन कानुनमा सुधार गर्नुपर्छ । आत्मदाह अहिले चुनौतीपूर्ण बनेको छ । यही माघ १९ गति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको गेट अगाडि ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले पेट्रोल छर्केर आत्मदाह गर्न लाग्दा प्रहरीले बचाएको जानकारी भएको छ । जनताको जीउधनको रक्षा गर्ने दायित्व राज्यको हो । व्यक्तिको स्वतन्त्रताको नजरले हेर्दा स्वेच्छाले आत्मदाह गर्न लागेको व्यक्तिलाई बचाउने कार्य वैयक्तिक स्वतन्त्रताविरुद्धको मानिन्छ । कानुनकै अर्को नजरले हेर्दा व्यक्तिको ज्यान बचाउने कार्य कानुनसम्मत ठानिन्छ । आत्महत्याको बिरलै घटना व्यक्ति स्वयंसँग सम्बन्धित हुन्छ भने अधिकांश घटना दोस्रो एवं तेस्रोपक्ष सम्बद्ध हुन्छ । दोस्रो वा तेस्रो पक्षको कारणबाट हुने आत्महत्यामा तिनै दुई पक्ष दुरुत्साहनकर्ता हुन्छन् । आत्मदाहको उपरोक्त पछिल्ला घटनाले दुरुत्साहनकर्ताको क्षेत्रलाई अनुसन्धान क्रममा व्यापक बनाउने निर्देशन दिएको छ ।

आत्मदाह गर्न अभिप्रेरित गर्ने दोस्रो पक्ष जतिकै तेस्रो पक्ष वा आधारस्तम्भ मानिने तेस्रो पक्ष वा समाज, सरकारी एवं गैरसरकारी संघसंस्था तथा राज्यको प्रशासनिक दायित्व प्रभावकारी ढंगले सम्पादन नगरी मुकदर्शक बन्ने स्थानीय निकायका सम्बद्ध अधिकारी एवं प्रतिनिधिसमेतलाई आत्महत्या दुरुत्साहनकर्तामा समेटी कारबाहीको दायरामा नल्याएसम्म आत्मदाह नियन्त्रण हुन सक्दैन ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?