चक्रपथ विस्तारमा छिटो साइड क्लियर गर

चक्रपथ दोस्रो खण्ड विस्तार गरी आफ्नो काम पूरा गर्न चिनियाँपक्षले हतार गरिरहँदा नेपाल सरकार कानमा तेल हालेर बसिदिँदा सर्वसाधरण अचम्ममा परेका छन् । चिनियाँ पक्षले आफूले गरेको सहमतिअन्तर्गत कार्य पूरा गरी प्रतिफल देखाउन र जनतामाँझ चिनियाँ पक्षका कारण काम नहुँदा दुःख पाइयो भन्ने गुनासो निवारण गर्न चाहेको देखिन्छ । तर, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि नेपाल सरकारले साइट क्लियर गरिदिनुपर्छ । यही काम नेपालका तर्फबाट हुन सकिरहेको छैन । आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै काममा सरकार अलमलिएपछि काम अघि बढ्न नसकेको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा विस्तार हुने कलंकी– महाराजगन्ज खण्डमा नेपाल पक्षले ‘साइट क्लिअर’को आफ्नो जिम्मेवारी समयमै पूरा गरिसकेको भए यो खण्ड आजभन्दा ३ वर्ष पहिले नै पूरा भइसक्ने थियो ।

नेपाल सरकारले आफ्नातर्फबाट यसरी उदासिनता र अकर्मण्यता देखाउनु उचित थिएन र हुँदैन पनि । अझ आश्चर्यलाग्दो कुरा त केसम्म हुन गएको छ भने साइट क्लियर गर्ने काम पूरा नहुँदै नेपाल सरकारले चिनियाँ पक्षलाई दुईदुईपटक बोलाएर जात्रा देखाएको छ । केही काम गरिहाल्ने र बाँकी विस्तारका काम गर्दै गर्ने जस्ता दोधार र अकर्मण्य सुझाव चिनियाँ पक्षलाई दिँदै आएको पनि छ । तर, चिनियाँ पक्ष भने सतप्रतिशत साइट क्लियरको काम पूरा नहुँदासम्म काम नथाल्ने अडान राख्दै आएकाले काम रोकिन गएको छ । यो चिनियाँ पक्षभन्दा नेपाल सरकारले बुझ्नुपर्ने कुरा हो । तर, नेपालको बेइज्जत हुनेगरी र केटाकेटीलाई ललीपप थमाएको जस्तो गरी सरकारले साइट क्लियर भइसकेको भन्दै एक महिनाअघि नै चिनियाँ पक्षलाई फिल्ड भिजिट गर्न बोलाएको थियो । तर, निर्माणस्थलमा मन्दिर तथा यस्तै सार्वजनिक चासो र महत्वका कुरा देखेपछि चिनियाँपक्ष सो बाँकी काम छिट्टै पूरा गर्न भन्दै पर्खिएको थियो । देख्दा सामान्य लाग्ने तर चिनियाँ पक्षले हात हालेमा विवाद निम्तने खालका यस्ता कुरामा नेपाल सरकार समयमै चनाखो हुनुपर्छ ।

नेपालको विकास निर्माणका काम अन्तर्राष्ट्रिय विवाद निम्तने खालका हुनुहुँदैन । मन्दिर, चर्च, स्तुपा आदि भनेका धार्मिक साम्प्रदायिक विवाद निम्तने र निम्त्याउने कुरा हुन् । नेपालमा हुने र गरिने विकास निर्माणका कार्य अन्तर्राष्ट्रिय विवादमा अल्झने हुनुहुँदैन । नेपाल आफैंमा भूरणनीतिक चासोको स्थान हो । उत्तरमा चीन र दक्षिणमा भारत जस्ता भीमकाय अर्थतन्त्र धानिरहेका र निरन्तर विकास गरिरहेका छिमेकी देशकै कारण नेपाल अन्तर्राष्ट्रिय चासोमा पर्न गएको हो । नेपालको विकास र उन्नतिका लागि चीन, भारत र अमेरिकालगायतका छिमेकी तथा मित्र देशले चासो र उत्सुकता देखाउनु नेपाल र नेपालीका लागि सकारात्मक कुरो हो । तर, यही कुरो नेपालमा सम्पन्न हुँदा त्यसले विवाद ननिम्त्याओस् भनेर नेपाल सरकारले चार कान चार आँखा बनाएर टाठो भई सबैतिर हेक्का राख्नुपर्छ । सबैसँग समदूरीका आधारमा सम्बन्ध दीगो बनाइराख्न सधैं संवेदनशील हुन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !