बझाङ । थलारा गाउँपालिका–९ का जगत विष्टले डेढ वर्ष भयो भारत नछिरेको । यसअघि उनी १२ वर्ष भारत बसेका थिए । आफ्नै गाउँघरमा रोजगारी गरेर छोराछोरीको लालनपालन गर्ने र जन्म दिने बाबुआमा, दाजुभाइ, दिदी बहिनी, छोराछोरी, श्रीमती र गाउँलेहरूसँगै बस्ने भनेर उनी पछिल्ला दिनमा भारत नगएका हुन् ।
भारत नजाने, आफ्नै भूमिमा बस्ने भनेर विष्टले सानो व्यवसाय सुरु गरे । मेहनती स्वभावका विष्टले केही लगानी पनि गरे । अपुग पैसा छिमेकीसँग ऋण लिए । त्यसपछि कालिका बहुद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरे । गाउँमा नै व्यावसायिक फर्म दर्ता गरेर व्यवसायी बन्ने सपना उनको बाल्यकालकै थियो ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा अध्ययन गर्न नपाए पनि उनले भारतमा मजदुरी गरेर कमाएको रकम र छिमेकीको सहयोग लिएर गाउँमा बाख्रा, बंगुर र कुखुरा पालन सुरु गरे । दिगो पनि हुने, अरूको देशमा गएर गाली र अपमान सहनु पनि नपर्ने भन्दै उनले सबैभन्दा बढी लगानी र मेहनत बाख्रामा गरे ।
झन्डै ५ वटा बाख्राबाट व्यवसाय सुरु गरेका विष्टले बल्लतल्ल २२ बाख्रासम्म बनाउन सफल भएका थिए । केही दिनअघि मात्रै उनले छिमेकी गाउँपालिका खप्तडछान्नाबाट झन्डै १० बाख्रा किनेर ल्याएका थिए । घरमा समस्या पर्दा र छोराछोरीको पढाइ खर्चको जोहो त्यही बाख्रा बिक्री गरेर टार्दै आएका थिए ।
तर, तिनै विष्टको सपनामा अहिले गम्भीर आघात परेको छ । सदाझैं बिहीबार दिउँसो पनि उनी बाख्रा लिएर गाउँनजिकै रहेको जयपृथ्वी नगरपालिका–५ स्थित नाउली नवादेउ सामुदायिक वन गएका थिए । २२ वटा बाख्रा चराउन लगेकोमा १२ ओटा मात्र ल्याउन सके । १० ओटा बाख्रा सबै बाघले मारिदियो ।
त्यसो त सो वन जंगली जनावरको आक्रमणको हिसाबले सुरक्षित नै मानिन्थ्यो । तर, बिहीबार कसरी र कहाँबाट बाघ आएर बाख्रा मा-यो भनेर विष्ट आफंै चकित छन् । बाघले बाख्रा मारेपछि निराश बनेका विष्टले भने, ‘१२ वर्ष भारतका विभिन्न सहरमा पुगेर जीविक चलाएँ, अब कति भारतमा मात्रै बस्ने, गाउँमा केही गरेर बस्नु प-यो भनेर गाउँ फर्किएँ, गाउँ आएर भर्खरै मात्रै व्यवसाय सुरु गरेको थिएँ । अभागीको पहिलो गाँसमा नै ढुंगा भनेजस्तो भयो ।’
बाख्रापालनका लागि लिएको ऋण तिर्न नपाउँदै पाएको चोटले उनी विक्षिप्त बनेका छन् । अब अरुले ऋण पत्याउलान् भन्ने आश पनि उनमा छैन । अन्य आम्दानीको पनि स्रोत छैन ।
‘सात जनाको परिवार बाख्रापालनमै निर्भर थियौं, फेरि भारत जाने मन पनि छैन, के गर्ने के नगर्ने सोच्नै सकेको छैन,’ उनले भने ।
बाघले बाख्रा मार्दा आफ्नो झन्डै २ लाख रुपैयाँबराबरको क्षति भएको उनले सुनाए ।