वीरगन्ज । दुई जना मात्र कानून व्यवसायी महिला रहेको पर्सामा आगामी फागुन १२ र १३ गते पहिलो पटक कानून व्यवसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनको सबै तयारी पूरा भइसकेको नेपाल बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुधिर कुमार कर्ण लगायतका कानून व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरी सार्वजनिक गरे ।
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको गत पुस २३ को केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार फागुन १२ र १३ गते कानून व्यवसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन र नेपाल बारको केन्द्रीय कार्यकारिणी परिषद्को बैठक वीरगन्जमा हुने निर्णय अनुसार तयारी पनि पूरा भइसकेको उपाध्यक्ष कर्णले बताए । ‘कानून पढ्ने तर कानून व्यवसायमा आकर्षित नहुने महिलाहरुको लागि पनि दीगो पेशाका रुपमा यो पेशा रहेको अवगत गराउने गरी पेशागत उत्कृष्टता, हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ फागुन १२ गते बिहान १० बजे राष्ट्रिय सम्मेलन यहाँ सुरु हुनेछ ।’ उनले भने । कार्यक्रम अघि वीरगन्जको घण्टाघरबाट प्रभातफेरि निस्कदै कार्यक्रम हुने स्थल ‘वीरगन्जको टाउन हलमा पुगी प्रभातफेरि सकिने उपाध्यक्ष कर्णले बताए । त्यस लगत्तै १० बजे सम्मेलनको विधिवत उद्घाटन सर्वोच्च अदालतका का.मु प्रधान न्यायधिश हरिकृष्ण कार्कीले गर्ने कार्यक्रम रहेको बारका केन्द्रीय उपाध्यक्ष कर्णले प्रष्ट्याए । यसको साथै १३ गते नै कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको कार्यकारिणी परिषद् सदस्यहरुको बैठक पनि वीरगन्जमा नै सुरु हुनेछ । कानून व्यवसायीहरुको छाता संगठन बार एशोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औ बैठक १३ गते मध्यान्ह १ बजेबाट सुरु हुन्छ उनले बताए ।
बारको ४८ औं कार्यकारिणी परिषद् बैठक पनि यहि हुने
नेपाल बार एशोसिएसनको मधेश प्रदेशका संयोजक समेत रहेका अधिवक्ता कर्णले मधेश प्रदेशमा कानून व्यवसायी महिलाको उपस्थिती ज्यादै न्यून भएकोले यो सम्मेलनबाट मधेश प्रदेशमा समेत कानून व्यवसायी महिला यो पेशा प्रति आकर्शित हुने बारको अपेक्षा रहेको पनि पाइएको छ । यसरी फागुन १२ गतेदेखि सुरु भएको कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन र केन्द्रीय बैठक १४ गते सम्म चल्ने पनि नेपाल बार एशोसिएसनले जनाएको छ ।
४० बर्षको इतिहासमा कानून व्यवसायीहरुको यस्तो उपस्थिति जम्मा दुई पटकमात्र वीरगन्जमा भएको थियो । यो पटक सहित बारको तेस्रो र कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन चाही पहिलो पटक यहाँ हुनेछ । यो पटक वीरगन्जमा सबै कानून व्यवसायीहरुको उपस्थिति झण्डै १ हजार जति पुग्ने बारको अनुमान छ । कानून व्यवसायी महिलाहरु मात्र देशैभरी ६ सय छन् । बाँकी बारको केन्द्रीय परिषद् सदस्यहरुको पनि ४८ औं बैठक हुने भएपछि त्यो संख्या बढेर हजार जति पुग्ने स्थानीय कानून व्यवसायीहरुले पनि बताए ।
कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन का.मु. प्रधान न्यायाधिश कार्कीले र बारको केन्द्रीय कार्यकारणी परिषद्को बैठकको उद्घाटन नेपालका कानूनमन्त्रीले गर्ने तय भएको नेपाल बारले जनाएको छ ।
परिषद्को बैठकमा न्यायालय सुदृढीकरणको बिषयमा कानून व्यवसायीको पेशागत शुद्धता र दक्षता अभिबृद्धि, बिधान संसोधन, लगायतका बिषयले उच्च प्राथमिकता पाउने नेपाल बारका केन्द्रीय उपाध्यक्ष कर्णको भनाइ छ । दुवै कार्यक्रम हुने तयारी ’bout सार्वजनिक गरिएको कार्यक्रममा उच्च अदालत बार एशोसिएसन वीरगन्जका अध्यक्ष अधिवक्ता बिशाल चौधरी, पर्सा बार एशोसिसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, बरिष्ठ अधिवक्ता दिपकराज भण्डारी र पर्सा बारका पूर्व अध्यक्ष अधिवक्ता राजनाथ ठाकुर लगायतको पनि उपस्थिति रहेको छ ।
एकैपटक ठूलो संख्यामा कानून व्यवसायीहरु वीरगन्ज आइपुग्ने भएपछि पर्साको वीरगन्ज र बाराको सिमरा लगायतका होटलहरुमा पनि बास बस्ने व्यवस्था मिलाइएको नेपाल बारले जनाएको छ ।