भारतमै पोखियो तीन पुस्ताको पौरख

रोजगारी गरेर भारतबाट घर फर्किंदै गरेका देविलाल कामी ।

विश्वनाथ सिम्खाडा

कालिकोट । बाजुराको स्वामीकार्तिक खावर गाउँपालिकाका देविलाल कामीले भारतमा काम गर्न थालेको ३१ वर्ष भयो । १८ वर्षको कलिलो उमेरदेखि काम गर्न भारत जान थालेका उनी अहिले ४९ वर्षका भए । उमेर ढल्किँदै जाँदा पनि पौरख नमरेको बताउने उनी हरेक वर्ष कामको खोजीमा भारत जान्छन् ।

हिउँदे खेती लगाएर गत मंसिर महिनामा कामको खोजीमा भरतको नैनिताल गएका कामी फेरि बर्खे खेती लगाउन घर फर्किंदै गर्दा शुक्रबार कर्णाली कोरिडोरमा भेटिए । भारतमा सरसफाइका कामदेखि इँटा बोक्ने काम गर्ने कामी अहिले घर बनाउने डकर्मीको सहयोगीका रूपमा काम गर्दै आएका छन् ।

‘घरपरिवारमा मेलमिलाप पनि खासै राम्रो थिएन । आर्थिक अभावले साँझ–बिहान के खाऊँ के लाऔं भन्ने अवस्था थियो’ पुराना दिन सम्झँदै देवलाल भन्छन्, ‘नोकरीको खोजीमा १८ वर्षको हुँदा म भारत गएको हुँ । सुरुका दिनमा होटलमा भाडा माँझ्ने काम गरें । पछि अरू काम गर्दै गएँ ।’

कामको खोजीमा भारत छिर्ने कालिकोट, बाजुरा, अछाम पहाडको गाउँबस्तीका युवाको आर्थिक, सामाजिक बाध्यताले नेपाली राज्यसत्ताको कुरुप चित्र उदांगो बनाउँछ । तीन पुस्तादेखि कामको खोजीमा भारत गएर पसिना बगाउनेहरूको कथा–व्यथा । देवलालको जीवनको उर्वर समय उतै बित्यो ।

यस्तै, बेलाबखत कहिलेकाहीँ मात्र घर बस्नु पथ्र्याे । गाउँमै सानो पसल थियो । बुवा पनि उनी सानो भएको बेलादेखि नै भारततिर कामको खोजीमा जाने गर्थे । ‘बुवा पनि काम गर्न मुग्लान जानुहुन्थ्यो भन्ने सुनेको हो । हामी सानै थियौं पछि त उहाँ गाउँमै सानो पसल गरेर बस्नुुभएको सम्झना छ’, उनले राजधानी दैनिकसँग भने ।

भारतबाट काम गरी बर्खेबाली लगाउन घर फर्केका स्थानीय । तस्बिरः विश्वनाथ सिम्खाडा

देवलालको परिवारमा कस्तो छ भने उनका बुबा भारतमै काम गर्न जान्थे । देवलाल ३१ वर्षदेखि भारत आउजाउ गरिरहेका छन् र उनका आधा उमेरका छोरा दीपक कामी पनि अहिले भारतमै काम गर्छन् । काँधमा बोरा र हातमा झोला बोकेका देवलालले भने, ‘बुवाले आफ्नो पूरै जीवन भारतमा बिताउनुभयो, मैले त भारतलाई नै कर्मभूमि बनाएँ, अब मेरो छोरो पनि मसँगै काम गर्न हिँड्छ । देश भन्नु त हाम्रो तीन पुस्ताका लागि चाडबाड र खेती लगाउन घर आउने ठाउँ मात्रै भयो ।’

देवलालसँगै पिठिउमा गुन्टा बोकेर घर फर्किंदै गरेका अलिबहादुर दमाईको पनी जीवनको आधा दशक भारतमै काम गर्दा बित्यो । अलिबहादुर वर्षले ४६ पुगे १५ देखिको उमेरमा कामको खोजीमा भारत जाने गरेको छन् । कमजोर आर्थिक अवस्थाका कारण ८ कक्षाको पढाइ छोडेर १५ वर्षको उमेरदेखि मजदुरी गर्न बुवासँगै भारत जान थालेको बताउँछन् ।

‘अहिले त बुवा छैनन् बुवा पनि भारतमै काम गरेर परिवार पाले अहिले हामीले पनि भारतमै गएर घर परिवार पालिरहेका छौं । गाउँ घरमा संघीयता आयो भन्छन् । हामीलाई त्यो संघीयता के हो थाहा छैन । कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । भोट माग्न आउनेबेला रोजगारी दिन्छौं विकास दिन्छौं भनेर भोट माग्न आउँछन् । अहिलेसम्म रोजगारी पाएका छैनौं । पेट पाल्न भारतमै जानुपरेको छ । अझै हुने खाने जनप्रतिनिधिकै हालीमुहाली छ । हामीले भारतमा काम गर्नुपर्ने बाध्यता हटेको छैन,’ अलिबहादुरले भने ।

रास्कोटका धन्नाम चौलगाई २० वर्षको उमेरदेखि परदेशमा पसिना बगाउँदा बगाउँदा दिक्क छन् । आफ्नो देशमा रोजगारीको अवसर नै नपाइने कुरा बुझेर पनि ‘फेरि भारत नजाने’ वाचासहित उनी पाँच वर्षअघि भारतको उत्तर प्रदेशबाट घर फर्किएका थिए । स्वदेशमै केही गर्नुपर्छ भनेर कालिकोट फर्किंदा उनीसँग जोस–जाँगर थियो । हरसम्भव कोसिस पनि गरे । तर, कतै केही गर्दा पनि काम पाइएन । कामका लागि सुर्खेतदेखि काठमाडौंसम्म धाए केही भएन । त्यसपछि उनी गाउँमै खेतीपाती गरेर भए पनि जीविका चलाउने निर्णयमा पुगे । पहाडमा भएको जग्गामा पुख्र्याैलीले पारिवार पाल्न नसकिने भन्दै नगदे खेतीको सुरुवात गरे ।

विदेशको दुःखले झेलेका चौलगाई गाउँमा काउली, टमाटर, आलु उत्पादन गरी बिक्री गरेर केटाकेटी पाल्ने अठोट गरेका उनलाई त्यो उब्जनीले साँझबिहानकै छाक टार्न मुस्किल पर्न थाल्यो ।

चौलगाई फेरि मुटुमाथि ढुंगा राखेर भारततिर हान्निए । ४२ वर्षका चौलगाई अहिले भारत काम गर्न जान थालेको ठीक २५ वर्ष पुग्यो । ‘घरपरिवार चलाउन काम गर्नैप¥यो । नेपालमा कुनै काम पाइँदैन’ चौलगाईले भने, ‘पहाडमा थोरै जमिन छ त्यहाँको उत्पादनले साँझबिहानको छाक पनि टर्दैन । अरूतिर अवसर नमिले पनि खेतीपाती गर्दा केही प्रगति नभएर फेरि भारत जानुको विकल्प भएन ।’ चार जना छोराछोरीको पढाइ खर्च, लत्ताकपडा तथा दैनिक खर्चमै कमाएको पैसा ठिक्क हुने उनी बताउँछन् ।

रास्कोट–२ का नरी सार्की ५६ वर्षका भए । २० वर्षको तन्नेरी उमेरदेखि रोजगारीको खोजीमा भारत पसेका सार्की उतै काम गर्न थालेको २५ वर्ष पुग्यो । गुजरात राज्यको सुरत सहरमा रहेको एउटा कपडा उद्योगमा काम गर्दै आएका उनलाई अहिले आफ्नै देश बिरानोजस्तो लाग्छ ।

नरीको भनाइमा नेपालमा काम पाए उनीहरू भारत जाने थिएनन् । ‘अर्काको देशमा पसिना बगाउने रहर कसलाई पो हुन्छ र ? घरव्यवहार चलाउन, छोराछोरीको पालनपोषण र पढाइ खर्च जुटाउन हामी भारत जान्छौं,’ उनले भने, ‘मेरो तीन पुस्ताले भारतीय भूमिमै काम गर्दागर्दै जीवन बिताए । अब छोराहरूको पुस्ताले पनि यहाँ काम नपाएर उतै जानुपर्लाजस्तो अवस्था छ ।’ संघीयतापछि पनि यहाँका अधिकांश नागरिक भारतकै भरमा जीविकोपार्जन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ