नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ३६आंै आधारभूत प्रशासनिक तालिम (ब्याट) का कर्णाली समूहका प्रशिक्षार्थीहरूसँग निजामती सेवामा रहँदा मैले लिएको मूल्य र अनुभव सेयर गर्ने अवसर दिइएको थियो । कर्णाली समूहका प्रशिक्षार्थीहरूले समूहगत छलफलबाट निजामती सेवाका व्यावसायिकता, परिवर्तनशीलता, नागरिक सन्तुष्टि, सक्षमता र प्रभावकारिता तथा नवपरिवर्तनशीलता जस्ता समष्टिपरक मूल्यहरू पहिचान गरेका थिए । पाँच शीर्षकभित्र प्रशिक्षार्थीहरूले मेहनतसाथ निजामती सेवाका गुढ मूल्यहरू अटाएका थिए । उनीहरूको ज्ञानले मलाई सन्तुष्ट बनायो र भविष्यप्रति आशा पनि जगायो । उनीहरूको साथमा सवा एक घण्टाजति मैले मेरो समग्र अनुभवलाई प्रशासनिक मूल्यको विकास, परिवर्तन र द्वन्द्व गरी तीन शीर्षकमा प्रस्तुत गरेको थिएँ ।
सार्वजनिक मूल्यको चिनारीः
सार्वजनिक मूल्यको विकास सार्वजनिक जीवनको पहिलो दिनबाटै सुरु हुन्छ । मैले २०४५ सालको ब्याटबाट नै निजामती सेवाका मूल्यहरू सिकेको थिएँ । वास्तवमा, सार्वजनिक प्रशासन मूल्यमा आधारित प्रशासन प्रणाली हो । मूल्य व्यक्ति, समूह र संगठनको व्यवहारलाई मार्गनिर्देशन गर्ने आधारभूत तत्वहरू हुन् । सार्वजनिक मूल्यको सर्वमान्य परिभाषा पाइँदैन । मूल्यमा त्यस्तो गुण हुन्छ, जसले व्यक्ति, पदाधिकारी वा समूहलाई ठीक र बेठीक कार्यका लागि प्रेरित गरिरहेको हुन्छ । सार्वजनिक मूल्य, आचरण, नैतिकता र संगठनात्मक संस्कृति व्यक्ति, संगठन र समाजको व्यवहारलाई मार्गनिर्देशन गर्ने सिद्धान्तहरू हुन् । सार्वजनिक सेवामा प्रवेश गरेर सार्वजनिक कुर्सीमा बसेपछि कर्मचारीलाई सार्वजनिक जिम्मेवारी, सार्वजनिक अधिकार, सार्वजनिक पैसा, सार्वजनिक सूचना र सार्वजनिक समय एकसाथ प्राप्त हुने गर्छ । कर्मचारीले बोकेको मूल्यले उसको कार्यसम्पादन प्रक्रिया र क्षमतालाई गाइड गर्छ । वास्तवमा कर्मचारीले लिएको मूल्यले नै कर्मचारीको महत्व उजागर गर्छ र एउटा अलग पहिचान दिन्छ ।
कर्मचारीले बोकेको मूल्यले उसको कार्यसम्पादन प्रक्रिया र क्षमतालाई गाइड गर्ने भएकाले नै एउटा अलग पहिचान दिन्छ
म्याक्स वेवरको वेवरियन कर्मचारीतन्त्रले पदसोपान, निष्पक्षता, इमान्दारिता, तटस्थता, योग्यता, अवैयक्तिकता, नामरहितता, गोप्यता, सक्षमता, कार्यविधितताजस्ता मूल्यहरू जन्मँदा नै लिएर आएका थिए । कर्णले कानमा कुण्डल ल्याए झै, हरेक उद्देश्य प्राप्तिका लागि गरिने प्रत्येक उद्यममा मूल्यसँगै टाँसिएर रहेको हुन्छ । हरेक व्यक्तिका आआफ्ना व्यक्तिगत मूल्यहरू हुन्छन् । कोही कमजोरलाई सहयोग गर्ने ‘दयालुपन’का हुन्छन् भने कोही आफ्नो तर्कमा अडान राख्ने ‘अडिलो’ हुन्छन् । कोही ‘जसोजसो बाहुन बाजे उसोउसो स्वाहा’ गर्ने निर्देशन पालक हुन्छन् । कसैलाई ‘आफ्नोलाई भनेपछि नियम कानुन केही पालना गर्नैपर्दैन’ भन्ने लाग्छ । कोही विधि र प्रक्रियामा अलिकति पनि लचकता नल्याउने ‘कानुन्ची’ खालका हुन्छन् ।
हरेक संगठनका आफ्नै आदर्श मूल्यहरू रहेका हुन्छन् । कुनै पनि संगठनले भ्रष्ट हुन, समय पालना नगर्न वा नराम्रो व्यवहार गर्न सिकाउँदैन । मूल्यहरूमा सदैव सकारात्मक चरित्र रहेको हुन्छ । सार्वजनिक मूल्य हरेक पेसा र हरेक निकायमा फरकफरक हुन्छन् । डाक्टरको, वकिलको, शिक्षकको र सरकारी कर्मचारीको मूल्य फरकफरक हुन्छन् । सार्वजनिक प्रशासनका हरेक मन्त्रालय, निकायका मूल्यहरू पनि फरकफरक हुन्छन् । गृह मन्त्रालयले शान्तिसुरक्षा कायम गर्न गर्ने कार्य र महिला मन्त्रालयले गर्ने कार्य फरक हुन्छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, महिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी, जिम्मेवारी पूरा गर्ने प्रक्रिया र सरोकारवालाको पृष्ठभूमिमा मूल्यहरू फरक पाइन्छन् । विकास कार्यालयहरूले साझेदारी, सहकार्यको मूल्य विकास गरेका हुन्छन् । महिला मन्त्रालयले गैरसरकारी निकाय, समुदायसँग साझेदारी र सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्छन् भने गृह मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरी प्रशासन परिचालन गर्ने गर्छ ।
संगठनको सफलताका लागि मूल्यमा आधारित सार्वजनिक प्रशासनको रूपान्तरण नै आजको आवश्यकता हो
सुशासनका खम्बाहरू सार्वजनिक प्रशासनका मूल्यहरू हुन् । सार्वजनिक प्रशासनका लागि अमेरिकी समाजले प्रशासनिक मूल्यहरूका व्यक्तिगत मूल्य, संगठनात्मक मूल्य, पेसागत मूल्य, कानुनी मूल्य तथा नागरिक चाख मूल्य गरी पाँचवटा स्रोत पहिचान गरेको देखिन्छ । त्यस्तै, क्यानेडियन सार्वजनिक प्रशासनले नैतिकता, प्रजातान्त्रिक, व्यावसायिक तथा कर्मचारीमूलक मूल्यहरू गरी प्रशासनिक मूल्यहरूलाई मुख्य चार भागमा बाँडेको पाइन्छ । नैतिक मूल्यअन्तर्गत निष्ठा, निष्पक्षता, उत्तरदायित्व, लगनशीलता, श्रेष्ठता, सम्मान, इमान्दारिता तथा सत्यता जस्ता मूल्यहरू पर्छन् । प्रजातान्त्रिक मूल्यअन्तर्गत विधिको शासन, तटस्थता, समानता, खुलापन, उत्तरदायित्व, प्रतिनिधित्व र वैधानिकताजस्ता मूल्यहरू पर्छन् । व्यावसायिक मूल्यअन्तर्गत सक्षमता, प्रभावकारिता, नवपरिवर्तन, गुणस्तर, सिर्जनशीलता, उत्तरदायित्व र श्रेष्ठता पर्छन् । यसैगरी, कर्मचारीका लागि हेरचाह गर्ने, शालीनता, सहनशील, निष्पक्ष, करूणा, साहसिक परोपकारी र मानवीय भावजस्ता मूल्यहरू पर्छन् । सबै सार्वजनिक प्रशासन यिनै मूल्यहरूको सेरोफेरोमा चल्ने गर्छन् ।
सार्वजनिक मूल्यको महत्वः
सार्वजनिक प्रशासन अर्थात् व्यावसायिक जीवनमा मूल्यहरूको महत्व अहम् र गहन हुन्छ । सार्वजनिक मूल्य व्यक्ति तथा संगठन दुवैको चिनारी हो । संगठनमा मूल्यमा आधारित आचरण विकास गरिएका हुन्छन् । आचरणले हरेक कर्मचारीलाई मूल्यअनुरूप कार्यसम्पादन र व्यवहार प्रदर्शन गर्न प्रेरित गर्छन् । सार्वजनिक मूल्यहरूले प्रशासनलाई अनुशासित, इमान्दार, नैतिकवान् र कर्तव्यपरायण बनाउँछ । स्वःसचेत बनाइ निर्णयात्मक एवं नैतिक द्विविधा हटाउँछ । सार्वजनिक सेवाको अर्थ दिन्छ । प्रशासनप्रति नागरिकको विश्वास बढाउँछ । मूल्यले कार्यसम्पादनलाई प्रत्यक्ष वा परोक्ष रूपमा सकारात्मक रूपमा प्रभावित गर्छन् ।
कार्यसम्पादनको दौरान राजनीतिक, आर्थिक तथा सामाजिक मूल्यहरूबीच अन्तक्र्रिया हुन्छ । त्यतिबेला सुपेरियर अधिकारले मूल्यलाई डोमिनेट गरेको अनुभूति हुन जान्छ । व्यक्तिमा शक्तिको अगाडि एउटा मूल्य र आफू शक्तिशाली भएको अवस्थामा अर्को मूल्य देखाउने द्वैधमूल्य चरित्र रहने अनुभव पनि गर्न पाइन्छ । साथै, अवसरको अगाडि मूल्य समर्पण गर्ने प्रवृत्ति पनि व्यक्तिमा पाइन्छ । सार्वजनिक जीवन अर्थात् पदमा रहेको व्यक्ति आफ्नो कर्म र व्यवहारप्रति सधैं उत्तरदायी हुनुपर्छ । अर्थात्, मूल्यले प्राप्त सार्वजनिक अधिकार, पैसा, सूचना र समय प्रयोग तथा प्रयोग गर्दा देखाउने व्यवहारप्रति प्रयोगकर्ता स्वयं उत्तरदायी र जवाफदेही हुनुपर्ने माग गर्छ ।
सार्वजनिक मूल्यको विकास र स्थानान्तरणः
मानव जीवनमा मात्र नभएर संगठनको जीवनमा पनि ‘मूल्य विकास’ र ‘स्थानान्तरण’ निरन्तर चलिरहने प्रक्रिया हो । मूल्यको जननी घरपरिवार हो । व्यक्तिले घर, समूह र समाजसँगको संगत र अन्तक्र्रियाबाट मूल्यहरू सिक्ने र स्थानान्तरण हुने गर्छ । प्रचलित कानुन, सामाजिक तथा संगठनात्मक संस्कृति र आचरणजस्ता तत्वहरूबाट पनि मूल्य सिक्ने, सर्ने गर्छ । मूल्य व्यक्तिगत, समुदाय र समाजको आफ्नै प्रकारको हुन्छ । पेसाहरूको पेसागत मूल्य हुन्छ । सार्वजनिक सेवामा प्रवेश गर्दा कर्मचारीले आफ्ना मूल्य मान्यता लिएर प्रवेश गरेको हुन्छ । कुन मूल्य ग्रहण गर्ने र कुन मूल्य पालना गर्ने भन्ने विषय नितान्त व्यक्तिगत विषय हो । व्यक्तिले आफ्ना मूल्यहरूका अतिरिक्त संगठनमा प्रवेश गरेपछि साथीहरूसँगै बसेर विभिन्न समूहगत र सार्वजनिक मूल्यहरू सिक्ने, आन्तरिकीकरण गर्ने, पालना गर्ने र अभ्यास गर्ने गर्छ ।
परिवर्तनशील सार्वजनिक मूल्यः
सामान्यतया सार्वजनिक मूल्यहरू कठोर र स्थायी हुन्छन् । सार्वजनिक प्रशासनले काम गर्ने वातावरण परिवर्तनशील भएकाले मूल्यहरू पनि गतिशील एवं परिवर्तनशील हुन्छन् । शासन व्यवस्था, कानुन, सामाजिक सांस्कृतिक अवस्था, सूचना सञ्चार प्रविधि तथा नागरिक चेतना, नागरिकको चाहना आवश्यकता र मागमा आउने परिवर्तन, विश्वव्यापीकरण, प्रशासन सुधार तथा सार्वजनिक प्रशासनको सैद्धान्तिक परिवर्तन, बजारतन्त्रमा आधारित सुधार, कार्यसम्पादन प्रक्रियामा आउने परिवर्तन तथा नैतिकताको खोजीे जस्ता तत्वहरूले सार्वजनिक प्रशासनका मूल्यहरू पनि परिवर्तन भएको पाइन्छ ।
प्रशासनिक मूल्य विकास झै मूल्य परिवर्तन पनि निरन्तर चलिरहन्छ । नेपालको सार्वजनिक प्रशासनमा राणाकालमा प्रशासन शासकमुखी मूल्य लिएर बाँचेको थियो । पञ्चायतकालमा शासन व्यवस्थाप्रति प्रतिबद्ध मूल्य लिएर हुर्कियो । प्रजातान्त्रिक शासन व्यवस्थामा पारदर्शिता, उत्तरदायित्व, सहभागिता, विविधताको सम्मान, कानुनको शासन, उपलब्धिमूलक प्रशासनजस्ता मूल्यहरू विकास भए । नयाँ सार्वजनिक व्यवस्थापनको अवलम्बन तथा प्रजातन्त्रमा बजार प्रणाली मिसिएपछि ‘भ्यालु अफ मनी’ (सार्वजनिक बजेटको मूल्य), प्रभावकारिता र सक्षमताजस्ता मूल्यहरू अगाडि आए । विश्वव्यापीकरणले अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्ने भएपछि ग्लोबल मूल्यहरू सिक्नु र काम गर्नुपर्ने बनायो । नयाँ सार्वजनिक सेवाले सेवाग्राहीको तुलनामा नागरिकको मूल्य उठायो । गणतन्त्र र संघीयता शासन प्रणालीमा आइपुग्दा सार्वजनिक प्रशासनमा समानुपातिक समावेशी, विविधता व्यवस्थापन, नागरिकको सम्मान, ज्ञान व्यवस्थापन, नैतिकता प्रवद्र्धन, कार्यक्षेत्रमा आध्यात्मिकता, इनोभेशनजस्ता मूल्यहरू थपिँदै र अभ्यास हुँदै गयो ।
सार्वजनिक मूल्यमा पाइने द्वन्द्व र चुनौतिः
विभिन्न परिस्थितिमा राजनीतिक, आर्थिक तथा सामाजिक मूल्यहरू र पेसागत मूल्यहरूबीच द्वन्द्व हुन जान्छ । मूल्य द्वन्द्व खासगरी व्यक्ति आफैंभित्र, अन्तरव्यक्ति तथा व्यक्ति र संगठनबीच हुने गर्छ । द्वन्द्वको पहिलो कारण कर्मचारीको व्यक्तिगत मूल्य र संगठनको मूल्यबीचको फरकपन हो । दोस्रो, निर्वाचित राजनीतिज्ञले इमोसनल मूल्य लिएर आउने र नियुक्त कर्मचारीका विधिमूलक मूल्य हुने कारण मूल्य टकराव हुन्छ । निर्वाचित पदाधिकारी आफ्नो मूल्यमा अडिग रहने र कर्मचारी सहजै आफ्नो र पेसागत मूल्य छाड्न वा सम्झौता गर्न नचाहने वातावरणमा द्वन्द्व हुन्छ ।
तेस्रो कारण, राजनीतिको स्वार्थ र प्रशासनको स्वार्थ मिलेन भने पनि द्वन्द्व हुन्छ । भिन्नभिन्न मूल्यबीचको द्वन्द्वले प्रशासनिक कार्यसम्पादनमा नकारात्मक प्रभाव पार्छ । मूल्य द्वन्द्वको व्यवस्थापन गर्न नयाँ वा साझा मूल्य विकास गर्ने गरिन्छ । साझा मूल्यले संगठनमा साझा शक्ति निर्माण गर्छ र संगठनलाई ऊर्जावान् र उत्पादक बनाउँछ ।
मूल्य द्वन्द्वसँगसँगै मूल्य चुनौतिहरू पनि हुन्छन् । संगठनात्मक मूल्यको विकास, परिमार्जन र वितरण तथा मूल्यको पालना गर्नु÷गराउनु पहिलो चुनौति हो । परम्परागत प्रशासन प्रणालीदेखि आधुनिक डिजिटल युगसम्म आइपुग्दा निजामती सेवाको अगाडि मूल्यहरूको चाङ बनेको छ । मूल्यहरूको साङ्लोमा प्रशासन जकडिन पुग्यो भने कार्यसम्पादन राम्रोसँग गर्न सक्दैन । संगठनमा विकास गरिएका मूल्यहरू सार्वजनिक नीतिहरू सार्वजनिक निजी साझेदारी, सहकारी समुदाय वा एजेन्सीमार्फत गराउँदा मूल्यहरूको पालना कमजोर हुन सक्छ । त्यस्तै, कर्मचारीतन्त्र नागरिकको चित्त बुझाउने कि, सरकारको पारदर्शिताको पालना कि, राष्ट्रिय सूचना संरक्षण, सामाजिक सेवा कि, बजार प्रणलीको पालनाजस्ता चुनौतिहरू मूल्यसँग जोडिएर आउने गर्छन् ।
मूल्यमा आधारित व्यवस्थापनः
मूल्यहरूको व्यवस्थाले मात्र निजामती सेवा प्रभावकारी हुँदैन । त्यसको इमान्दार पालना पनि हुनुपर्छ । वेवरियन कर्मचारीतन्त्र आदर्श मूल्यमा आधारित हुँदाहँुदै पनि आशातित रूपमा कार्य गर्न असक्षम बन्दै गयो । अनुत्पादक संगठनात्मक मूल्यहरू परिवर्तनयोग्य बनेपछि नयाँनयाँ मूल्यहरू विकास, परिवर्तन र वितरण हुँदै गए । प्रशासनिक समाजमा मूल्यमा आधारित व्यवस्थापनको अभ्यास बढ्यो । संगठनमा नेतृत्वलाई मूल्यको स्रोत मानिन्छ । मूल्यमा आधारित नेतृत्वले मात्र मूल्य विकास र अभ्यास गर्न÷गराउन सक्छ ।
मूल्यमा आधारित व्यवस्थापनमा नेतृत्वले साझा मूल्यको विकास र वितरण गर्छ । त्यसका आधारमा संगठनले उत्पादक कार्य गर्छ भन्ने विश्वास बढेको छ । मूल्यमा आधारित व्यवस्थापनको पहिलो उद्देश्य नेतृत्वको निर्णय प्रक्रिया र काम गराइलाई सकारात्मक गाइड गर्नु हो भने दोस्रो उद्देश्य संगठनका कर्मचारीहरूको व्यवहारलाई निर्देशन गर्नु हो । तेस्रो उद्देश्य, संगठनमा पाइने विविधताको व्यवस्थापन गरी एकीकृत ऊर्जा हासिल गर्नु हो भने चौथो उद्देश्य, संगठनको लक्ष्य प्राप्त गर्न संगठनको प्रचारात्मक क्षमता वृद्धि गर्नु हो । पाँचौं उद्देश्य ‘टिम स्प्रिट’ संगठित र प्रभावकारी बढाउनु हो भने छैठौं उद्देश्य मूल्य कथनहरूको प्रकाशन, मूल्यसम्बन्धी कर्मचारीका लागि तालिम सेमिनारको व्यवस्था, मूल्यहरूको समसामयिक मूल्यांकन र परिमार्जन गर्नु हो ।
सारमा, मूल्य आधुनिक संगठनको आधारभूत तत्व भएको छ । परिवर्तनको पृष्ठभूमिमा भविष्यमा निजामती सेवाको सफलताका लागि नवपरिवर्तन, लचकता, निष्पक्षता, निर्णायकता, सक्षमता, विशेषज्ञता, जोखिममूखी, तटस्थ, पारदर्शी, सहभागितामूलक, उत्तरदायित्व र परिणाममूलकजस्ता मूल्यको आवश्यकता पर्ने पनि स्पष्ट देखिन्छ । कर्मचारीको व्यवहारलाई निर्देशित गर्न नेतृत्वका लागि सुसंगत मूल्य विकास गर्न चुनौतिपूर्ण देखिन्छ । अर्थपूर्ण मूल्य विकास र वितरण गर्न सहज पनि छैन । कर्मचारीको व्यवहारलाई मूल्यले मात्र होइन व्यावसायिक नैतिकता, कानुन, राजनीतिक सामाजिक कार्य वातावरणले पनि प्रभावित गरिरहेको हुन्छ । संगठनात्मक मूल्यको विकास परम्पराबाट भएको भए पनि सामाजिक राजनीतिक एवं प्राविधिक क्षेत्रमा आएको आमूल परिवर्तनले मूल्यहरू निरन्तर विकास र परिमार्जन भएका छन् । संगठनको सफलताका लागि मूल्यमा आधारित सार्वजनिक प्रशासनको रूपान्तरण नै आजको आवश्यकता हो ।