वीरगन्ज । डेड दशक अगाडीदेखि उठाउँदै आएका मुद्दा लगायत विभिन्न २२ बुँदे प्रस्ताव सहित वीरगन्ज उद्योग बाणिज्य संघको ४७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र’ लाई राज्यद्वारा आधिकारिक रुपमा घोषणाको माग संघले डेड दशक अगाडीदेखि उठाउदै आएको छ ।
मोफसलकै जेठो अर्थात ७९ बर्ष अगाडी जन्मिएको वीरगन्ज उद्योग बाणिज्य संघले ४७ औं बार्षिक साधारण सभा गर्दा पनि पुराना मुद्दा बोकिरहनु परेको संघको गुनासो छ । राज्यको राष्ट्रिय अर्थतन्त्रलाई गतिशील र जीवन्त बनाउने देशको लक्ष्यमा नीजि क्षेत्र जहिले पनि सकारात्मक रहेको तर राज्य अझै उदार हुन नसकेको वीरगन्ज उद्योग बाणिज्य संघका पदाधिकारीले बताए । लामोसमयदेखि संघले उठाउँदै आएका मुद्दा संघको ४७ औं बार्षिक साधारण सभासम्म पनि घिसार्दै ल्याउनु परेको संघको तर्क छ ।
राजनीतिक परिवर्तनका विभिन्न आयाम र स्वरुपमा नजिकबाट नियाल्ने मात्र नभई संस्थागत भूमिका समेत खर्चिदै आएको संघले त्यस भूमिकाको अन्तिम सार देशको उद्योग, व्यापार र अर्थतन्त्रलाई विगतको भन्दा सवल, सृदृढ र सक्षम बनाउने उद्देश्यमा अझै सन्तुष्ट हुन नसकेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले बताए ।
कुनै राजनीतिक नीति, सिद्धान्त र आदर्शको साँघुरो घेराभित्र नपरी मुलुकको आर्थिक समृद्धिमा टेवा दिन उद्योग, व्यवसाय संचालन गर्दै आएको नीजि क्षेत्रलाई राज्यले स्वतस्फूर्तः रुपमा काम गर्ने वातावरण नबनाउँदा आयात प्रतिस्थापन र राजश्व संकलनको लक्ष्यमा सकारात्मक संकेत नदेखिएको उनको तर्क छ ।
आर्थिक बर्ष ०७९–०८० को ६ महिनामा पुँजीगत खर्च ९ दशमलब ६४ प्रतिशत मात्र खर्च गरी १० प्रतिशत पनि कटाउन नसक्ने र अस्थिर सरकारहरुको कारण चालु आर्थिक बर्ष १४ खर्ब ३ अर्ब राजश्व संकलन गर्ने भनिएको लक्ष्यमा आधा बर्ष वित्दासम्म एक चौथाईको हाराहारीमा मात्र राजश्व संकलन हुनु पनि राम्रो छनक नभएको उनले बताए । बैंकहरुको व्याजको दर एकल अंकमा राखिनु पर्ने भन्ने संघको यो बर्षको पहिलो प्रस्ताव तर्फ संकेत गर्दै अध्यक्ष डा.गुप्ताले अघिल्लो आ.ब.को तुलनामा समेत यो बर्ष राजश्व संकलन ९० अर्बले न्यून हुनु तथा चालु खर्च भने गतबर्षको तुलनामा ह्वात्तै बढ्नु खतरनाक संकेत देखिएको प्रष्ट पारे ।
सरकारका मन्त्री तथा नीजि क्षेत्रका नेताहरुलाई मात्र प्रमुख अतिथि बनाई साधारण सभा गर्ने संघले यो पटक भने त्यो परम्परालाई क्रमभंग गरी साहित्य क्षेत्रका आख्यानकार डा.ध्रुवचन्द्र गौतमलाई प्रमुख अतिथि बनाई बार्षिक साधारण सभा उद्घाटन गरेको हो । यो सभामा रेमिट्यान्स, उधारो कारोवार, भारतीय मुद्राको सहजता, बैंकको प्रिमियम दर, दुईदर प्रणालीको मूल्य अभिवृद्धि कर लागु गर्नुपर्ने, नन फिल्टरको व्यवस्था सम्बन्ध, बिल बिजकलाई मान्यता दिनुपर्ने र एकिकृत जाँचचौकी ( आइसिपी ) र सुख्खा बन्दरगाह ( आइसिडी ) को वर्तमान समयस्या हल गर्न पर्ने जस्ता प्रस्तावहरु प्नि समेटिएको छ ।
त्यसैगरी विदेशी मशिनरी पार्ट भारतबाट आयात गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय सरकारले लगाएका कर खारेज गर्न पर्ने, सेजको सफल संचालनमा संघको अवधारणा अनुसार सेजभित्र विक्री गर्ने प्लटहरुको दर सरकारले रु.२० प्रति स्वायर फिटलाई घटाई रु ५ प्रति स्वायर फिट गरिनु पर्ने, टर्न ओभर टेक्सको अवधारणा अनुरुप बार्षिक पाँच करोडभित्र कारोवार गर्ने उद्योग तथा प्रतिष्ठानलाई एउटा निश्चित रकम तोकिनु पर्ने, बाह्य दुवानी खर्चलाई मान्यता दिनु पर्ने, ऐच्छिक बिमाको सुविधा, सामाजिक सुरक्षा कर र टिडिएसको बाध्यात्मक अवस्था हटाउनु पर्ने, डिजिटल सेक्यूरिटी विङ्ग, नीजि क्षेत्रसँग किसान, अन्तर्राष्ट्रियस्तरको टे«ड फेयर ग्राउण्डको विकास गरिनु पर्ने पनि १९ नम्बर सम्मका प्रस्तावहरु रहेको संघको बार्षिक साधारण सभाको प्रस्तावहरुमा उल्लेख गरिएको छ ।
खुल्ला बोर्डर भएको नेपालको सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने पर्यटक वा यात्रुहरुसँग गरिने व्यवहारमा ह्यापी बोर्डरको अवधारणा ल्याइनु पर्ने, त्यसै गरी २१ नम्बरमा वीरगन्जदेखि पोखरिया हुँदै ठोरीसम्मको क्षेत्रमा सरकारले एउटा नयाँ औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरी भारतको बन्दरगाहबाट सबैभन्दा नजिक पर्ने पर्सामा नै वीरगन्ज–पोखरिया–ठोरी क्षेत्रलाई समेटी नयाँ औद्योगिक कोरिडोर स्थापना गरिनु पर्ने बिषय पनि संघको नयाँ प्रस्तावमा समेटिएको छ । ४७ औं वीरगन्ज उद्योग बाणिज्य संघको साधारण सभाको अन्तिम प्रस्ताव अर्थात २२ नम्बरमा भने नेपालकै सबैभन्दा बढि मालसामान ओसारपसार हुने वीरगन्जमा छुट्टै सुविधा सम्पन्न ट्रान्सपोर्ट नगरको विकास गरिनु पर्ने सरकारसँग माग गर्ने प्रस्तावलाई पनि संघले आफ्नो प्रस्ताव नम्बरमा समेटेको छ ।
संघको नयाँ कार्य समितिका लागि सोमबार फागुन २९ गते निर्वाचन गर्ने कार्य तालिका रहे पनि तीन दिन अगाडी नै ३५ सदस्य निर्विरोध कार्य समिति चयन भइसकेकोले अन्य संघ संस्थाहरुमा जस्तो वीरगन्ज उद्योग बाणिज्य संघमा अस्वस्थ प्रतिस्पर्धाको झन्झट सकिएको छ । ५ सय ८२ जना नविकरण गरिएका संघका सदस्यहरु मध्ये ४५ जनाको कार्य समिति हुनेमा ३५ सदस्य कार्यसमिति सदस्य भित्रैबाट १० जना पदाधिकारी टुंगो लगाउने विधान छ । त्यसपछि ३ मनोनित, तृतीय उपाध्यक्ष मनोनित र ५ थाया मन्त्रित गरी सबै टुगो लगाउने संघले जनाएको छ । पधाधिकारी सहित नयाँ कार्य समितिका सबै सदस्यहरुको केही दिन भित्र नै सपथ गरी कार्यभार सुम्पने तयारी भइरहेको संघका निर्वाचन मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जनाएका छन् ।