मध्यपहाडी लोकमार्गः ढलानको बालुवामा गुणस्तरहीन माटो प्रयोग

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मध्यपहाडी लोकमार्ग खोटाङ र भोजपुरको सिमाना अवस्थित चखेवाभन्ज्याङ–सेखुवा सडकमा कालोपत्रेका लागि गुणस्तरहीन सामग्री प्रयोग भएको खुलेको छ ।

साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले समन्वय गरेको सो सडकखण्डमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको हो ।

जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत टोलीले गरेको अनुगमनमा सो सडकखण्डमा गुणस्तरहीन सामग्री प्रयोग भएको खुलेको हो ।

अनुगमनका क्रममा कालोपत्रेका लागि सब–बेसको सामग्री तथा ढलानका लागि प्रयोग गरिएको बालुवामा माटो मिसिएको पाइएको हो ।

गाउँपालिका अध्यक्षले लिएका थिए जिम्मा

जिसस प्रमुख राईले सब–बेस, कजवे निर्माणमा स्ट्यान्डर्डविपरीतको बालुवा प्रयोग गरिरहेको भेटिएको बताएका छन् । गुणस्तरहीन निर्माण सामग्री हटाउन र माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको संरचना भत्काएर फेरि गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिएको उनको भनाइ छ ।

सो सडक निर्माणमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस डोल्पाका सभापति दीपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी पनि आबद्ध रहेको छ ।

शाही आबद्ध निर्माण कम्पनी सिद्धिसाई कन्ट्रक्सन हो । सिद्धिसाईसहित भारत कन्स्ट्रक्सन÷मैनाचुलीे जेभीले ठेक्का लिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत खोटाङको चखेवाभन्ज्याङ–सेखुवा सडकको १० किलोमिटर खण्ड २०७२ सालदेखि अलपत्र अवस्थामा रहँदै आएको छ ।

अलपत्र परेको चखेवाभन्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बाझैं बन्न पुगेको छ ।

सो जेभी कम्पनीले २०७५ फागुन ३० गतेसम्म सम्पन्न गर्नेगरी २०७२ चैत २ गते कालेपत्रे गर्न सम्झौता गरेको थियो । तर, सात वर्षसम्म पनि कांग्रेस जिल्ला सभापतिको निर्माण कम्पनीले नै सडक अलपत्र पार्दै आएको हो ।

राजमार्गअन्तर्गत खोटाङ भोजपुरका अन्य सबै भागमा कालोपत्रे सम्पन्न भइसकेको छ । राजनीतिक शक्तिको आडमा शाहीले भने कालोपत्रेको काम नै नगरी नवीकरण गर्दै आएको पाइएको हो ।

निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित स्थानीय नागरिकले यसअघि ठेक्का तोड्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत आयोजनालाई ज्ञापनपत्र बुझाएका थिए ।

कालोपत्रेको काम अलपत्र पारेको भन्दै साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका स्थानीयले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, धुलिखेल, काभ्रेलाई ३ सय ३ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका थिए ।

स्थानीयले ठेक्का तोड्न माग गरिरहँदा पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले भने ठेक्का तोड्न सडक विभागलाई यसअघि नै सिफारिस गरिसकेको छ । गाउँपालिका अध्यक्ष राईले निर्माण कम्पनी र आयोजना कार्यालयबीच समन्वय गराएर असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गराएपछि काम हुँदै आएको छ ।

सात वर्षसम्म सडक निर्माण नगरी बसेको निर्माण कम्पनीले ठेक्का तोडिने अवस्थामा काम अघि बढाए पनि गुणस्तरहीन सामग्री प्रयोग गरेपछि पुनः विवाद उत्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भागबन्डा पु-याउन प्रचण्डलाई सकस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय