काठमाडौं उपत्यकाको टुँडिखेलमा रहेको मृतात्माले बालबच्चा र अन्यलाई दुःख दिन थालेपछि यसदिन घोडा कुदाएर धपाइएको धार्मिक कथन छ । फलतः मृतात्मालाई लखेट्न सफल भएको दिनको सम्झनामा काठमाडौं उपत्यकाका तीनै जिल्लामा फरकफरक तरिकाले घोडेजात्रा मनाइन्छ । अतः परापूर्वकालमा टुँडिखेल पूर्वदक्षिण दिशामा रहेको रूखमा बास गर्ने ‘गुरुमापा’ नाम गरेको राक्षसले उपत्यकाको मानवबस्तीमा विभिन्नखाले दुःख दिने र बालबालिका खाइदिने गथ्र्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले राक्षस मार्नका लागि अनेक उपाय खोज्न थाले ।
त्यसैक्रममा राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्परा सुरुवात भएको किंवदन्ती छ । अहिले पनि दौडने घोडाको टापले राक्षसको आत्मा दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउनसक्ने बूढापाकाको कथन रहेको पाइन्छ ।
हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगका रूपमा नेपालका विभिन्न चाडपर्वलाई पनि लिइएका छन् । यसरी घोडेजात्रा पनि एक प्रमुख पर्व हो । ती चाडपर्वमा सम्पूर्ण नेपालीले खुला हृदयले मिलेमतो गरी भाग लिने गर्छन् । यो चाड चैत्र कृष्ण औंसीका दिनमा पर्छ । यसलाई पिशाच चतुर्दशी पनि भनिन्छ । यस दिन टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि हुन्छन् । यस पर्वमा घोडेजात्रा नेवार समुदायको एउटा ठूलो चाड पनि हो । यस दिन भगवान् शिवजीको धूमधामसँग पूजाआजा गरिन्छ ।
जनश्रुतिनुसार घोडेजात्रामा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यंग्य गरिएको पाइन्छ
यसमा भन्ने हो भने अझ बढी नाचगान, बाजागाजा र परम्परागत वेशभूषामा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन् । यस दिन काठमाडौंको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजा अर्चना पनि गर्ने परम्परा छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाइदिई सफासुग्घर तुल्याई ‘मद्यमांस’ को तामसी भोग चढाइन्छ । यस भोगमा छ्यापी, लसुन जस्ता उत्तेजक भोजनको प्राचुर्य प्रयोग हुन्छ । भनिन्छ, घोडेजात्रा पछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किंवदन्ती पनि आजसम्म त्यतिकै चरितार्थ रहेको पाइन्छ ।
धार्मिक लोकोकृतनुसार लुकुवा महादेवका ’boutमा अर्को एउटा कथा पाइन्छ । अघि शिवजीले भष्मासुर दानवको तपस्यादेखि खुशी भएर जसको शिरमा हात राख्लास्, त्यो भष्म हुनेछ भनी बरदान दिएपछि भष्मासुर शिवजीकै शिरमा हात राख्न जाइलाग्यो । राक्षसले शिवजीलाई लखेट्न थालेपछि शिवजी लुक्न गए । सो कुरा थाहा पाएर श्री विष्णुनारायणले मोहिनी रूप धारण गरेर भष्मासुरलाई भुलाइ उसको आफ्नै शिरमा हात राख्न विवश गराएका थिए । त्यसपछि भष्मासुर आफै भष्म भयो ।
यसरी भष्मासुरको नास गराएपछि शिवजीलाई रछानबाट उतारी स्नान गराई पवित्र गराइएको उल्लेख पाइन्छ । त्यसैले, यस दिनलाई पिशाच चतुर्दशीका रूपमा प्रतिष्ठित गरी लुकुवा महादेवको पूजा गर्ने परम्परा चलाइएको थियो । यो चलन काठमाडौंमा मात्र नभइ नेपाल अधिराज्यभरका नेवार समाज भएका प्रायः सबै ठाउँमा देखिन्छ । यसै दिनदेखि काठमाडौंमा कंकेश्वरी, भद्रकाली आदि मातृका देवीहरूको खटयात्रा हुन्छ । मातृका देवीहरूमध्ये पनि यस यात्रामा मुख्य रूपमा भद्रकालीको यात्रालाई प्रमुख मानिन्छ ।
यस पर्वको इतिहासलाई हेर्ने हो भने घोडेजात्रा यसअधि आजको जस्तो रूपमा हुँदैन थियो । विगतको समयमा तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो । यसमा दर्शन गर्न जाँदा राजा घोडामा जाने गर्थे । यसमा राजाको पछिपछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो । यसमा राजाको दर्शनयात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुने गर्थे । यसरी राजाको घोडेयात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप लिन गएको अनुमान गर्न सकिन्छ । यस जात्राको तत्कालीन रूप पाटनको बालकुमारी चौरमा हिजो आजसम्म पनि देख्न पाइन्छ । आज आएर विभिन्न मनोरञ्जनहरू थपिँदै गए र यो घोडेजात्राको तयारी धेरै दिन अघिदेखि गरिन थालेको हो ।
विगतको समयमा तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइएपछि राजा भद्रकाली दर्शन गर्न घोडामा जाँदा उनका पछिपछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो
यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले घोडा, मोटर, मोटरसाइकल, साइकल रेसजस्ता खेलहरूको प्रतियोगिता हो । यसका अलवा विभिन्न खेल, तमासा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ । नेपाली सेनाले हेलिकोप्टरबाट विभिन्न किसिमका रोचक तथा घोचक कार्यक्रम पनि गर्ने गर्छ । जसले गर्दा घोडेजात्रा हेर्नेको संख्यामा तीव्र प्रतिस्पर्धा हुन थालेको छ । घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महŒव पनि रहेको छ । यस किसिमका प्रचलनको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन् । यो जात्रा खासगरी काठमाडौं उपत्यकाका तीनै सहरमा भव्य रूपमा मनाइन्छ ।
यस जात्रामा विशेषगरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ । यो चाड तीन दिनको भएता पनि अन्तिम दिन चैत्र शुक्ल परेवाका दिन मातृका देवीको खट सहरमा परिक्रमा गराई ६ वटा गल्लीबाट ल्याई असनको चोकमा सातवटा खट घुमाउने कामलाई ‘सप्तमातृका’को आपसमा ढोगभेट भएको भन्ने किंवदन्ती छ ।
समग्रमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न चाडपर्व आ–आफ्नै किसिमका महत्व बोकेर आएका छन् । त्यसमध्ये घोडेजात्रा पनि एक महत्वपूर्ण पर्व हो । यसको धार्मिकभन्दा सामाजिक महत्व बढी भएको पाइन्छ । जसले गर्दा नेवारी सम्प्रदायमा भएको आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्त रूपमा प्रस्तुत गरिरहेको छ । जसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ । अतः नेवारी समाजमा यसलाई जोड दिइएको प्रतीत हुन्छ । त्यसैले, हिन्दू संस्कृतिमा आफ्ना पूर्वजहरूप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरका रूपमा यस जात्रालाई लिन सकिन्छ ।
यो घोडेजात्रा पर्व विशेषतः कृषकवर्गले आनन्द मान्ने चाड हो । यस चाडमा ठूलो भोज हुन्छ र सडकमै मानिसहरू टन्न पेयपदार्थ तथा मादकपदार्थ खाएर हिँडेको पनि देखिन्छ । खानपिनले मस्त भएर कसैले कसैको वास्ता गर्दैनन् । त्यसैले होला जनश्रुति रहेको छ, घोडेजात्रा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यंग्य गरिएको पाइन्छ । यसर्थ, प्रत्येक वर्ष घोडेजात्रा यसरी नै सम्पन्न हुन्छ ।