एउटा प्रसिद्ध लोकोक्ति छ, पढेरभन्दा परेर जानिन्छ । तर, यो लोकोक्ति पूर्ण सत्य भने छैन । यो अर्धसत्य छ । त्यो ’cause पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर, पढेर धेरैलाई परेको जानिन्छ, परेर आफूलाई परेको मात्र जानिन्छ । त्यसैले पढेरभन्दा परेर जानिन्छ भन्ने भ्रममा बस्नु कदापि ठीक छैन ।
जुनसुकै पेसा व्यवसाय अपनाए पनि किताब पढ्न छोड्नुहुँदैन । जीवनमा केही नयाँ गर्न पढ्नैपर्छ । अघि बढ्न पढ्नैपर्छ । नपढी कुनै पनि क्षेत्रमा राम्रोसँग अगाडि बढ्न सकिँदैन, सफलता प्राप्त गर्न सकिँदैन । कुनैबेला बिल गेट्सले दिनको १५ घण्टा पढ्ने गर्थे, अहिले पनि पढ्ने गर्छन् । भनिन्छ, पुस्तकबिनाको कोठा आत्माबिनाको शरीर हो । यदि, जीवन रूपान्तरण गर्न चाहान्छौं भने पहिले त हामीले हाम्रो दिनचर्यालाई परिवर्तन गर्नुपर्छ । त्यसैले, आज व्यस्त बनिरहेको दिनचर्याबाट केही समय निकालेर पढ्नैपर्छ ।

पढाइको कुरा गर्दा मानिसको दिमागमा के पढ्ने ? कति पढ्ने ? कसरी पढ्ने ? जस्ता प्रश्नहरू खडा हुन्छन् । अहिलेको जमानामा पढ्नुपर्ने किताबहरू भनेको स्वास्थ्य, शिक्षा, उत्प्रेरणा र आफ्नो पेसा व्यवसाय वा लक्ष्यसँग सम्बन्धित किताबहरू हुन् । तर, किताबको महासागरमा कतिपय यस्ता किताब छन्, जुन सबैले पढ्नुपर्छ, त्यो पनि एकपटक होइन बारम्बार पढ्नुपर्छ । किताबरूपी महासागरका यस्ता मोतीहरू कुनकुन हुन त ? यस आलेखमा म यस्ता १० प्रसिद्ध किताबको चर्चा गर्न गइरहेको छु, जुन किताबहरूले मानिसलाई स्वस्थ, निरोगी, सधैं उत्प्रेरित, ऊर्जाशील राख्न मात्र होइन कि दिमागको बत्ती बाल्न सहयोग गर्नेछन् ।
ब्रेन बाइट्स
अनुसन्धानकर्ताहरूले एमआरआई स्क्यानमार्फत पढाइले मस्तिष्कमा सर्किट र संकेतहरूको जटिल नेटवर्क समावेश गर्ने पुष्टि गरेका छन् । पढ्ने क्षमता परिपक्व हुँदै जाँदा ती नेटवर्क बलियो र परिष्कृत हुने अनुसन्धानले देखाएका छन् ।
साहित्यिक कथाहरू पढ्ने व्यक्तिले अरूका भावना र विश्वास बुझ्ने उच्च क्षमता देखाउने अनुसन्धानको दाबी छ । सामाजिक सम्बन्ध निर्माण गर्न त्यसलाई कायम राख्ने सीपका लागि पनि यस क्षमताको आवश्यक छ । त्यस्तै, अनुसन्धानकर्ताहरूले नियमित रूपमा किताब पढ्ने विद्यार्थीहरू धेरै शब्दावलीको विकास गर्न सक्षम हुन्छन् र यसले जीवनका धेरै क्षेत्रमा प्रभाव पार्नसक्छ ।
सन् २००९ मा संयुक्त राज्य अमेरिकामा एक शोधकर्ताहरूको समूहले ३० मिनेट अध्ययन गर्दा रक्तचाप, मुटुको धड्कन र मनोवैज्ञानिक पीडाको भावनालाई योग र हास्यले जस्तै प्रभावकारी रूपमा काम गरेको पत्ता लगाएका थिए ।
मेयो क्लिनिकका डाक्टरहरूले सुत्नुअघि नियमित पढ्न सुझाव दिएका छन् । बेलयाती दार्शनिक सर रोजर स्क्रुटनले एक समय लेखेका थिए, ‘काल्पनिक चीजहरूबाट प्राप्त हुने सान्त्वना काल्पनिक सान्त्वना होइन, डिप्रेसन भएका व्यक्तिहरू प्रायः सबैबाट अलग्एिको र टाढा भएको महसुस गर्छन् त्यो भावनालाई पुस्तकले कम गर्न सक्नेछ ।’ विद्युतीय माध्यमबाट मात्र पढ्नुहुँदैन । प्रिन्ट पुस्तकहरूलाई पल्टाउन सुरु गर्नुहोस् यसको जादु फरक पाउनुहुनेछ ।
भनिन्छ, संसारका जति पनि किताबहरूमा जेजे छ, त्यो सबै यस किताबमा छ । यस किताबमा जे छैन, त्यो संसारका कुनै किताबहरूमा पनि छैन । अतः यो किताब सबैले पढ्नैपर्ने किताब हो । गहन रूपमा यो किताब पढ्ने र बुझ्ने हो भने अरू किताब पढ्नैपर्दैन । तपाईंले खोजेका हरेक कुराहरू यस किताबमा छ ।
१०औं नम्बर किताबः
१० सर्वश्रेष्ठ किताबको लिस्टमा मैले १०औं नम्बरमा डा. दीपक चोपडाको बेस्ट सेलर किताब ‘परफेक्ट हेल्थ’लाई राखेको छु । परफेक्ट हेल्थ स्वास्थ्य विषयको एक श्रेष्ठ सेल्फहेल्प किताब हो । यो किताब प्राचीन आयुर्वेदिक ज्ञानमा आधारित छ । यसलाई माइन्ड बडी मेडिसिनको एक सम्पूर्ण किताब भने पनि हुन्छ । तनमनलाई स्वस्थ राख्न यो किताब निकै उपयोगी छ । यो किताब सबैले पढ्नैपर्ने किताबहरूमध्ये एक उत्कृष्ट हो ।
नवौं नम्बर किताबः
नवौं नम्बरको किताब हो, डेल कार्नेगीको विश्वप्रसिद्ध किताब ‘हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुन्स पिपुल’ । सन् १९३६ मा प्रकाशित यस किताब अहिले पनि उत्तिकै चर्चित छ, उपयोगी पनि त्यत्तिकै छ । यस किताबले तपाईंलाई सबैको प्रिय, आकर्षक तथा अझ सफल बनाउनका लागि सामाजिक तथा वार्तालाप कौशललाई कसरी प्रभावकारी बनाउने कुरा सिकाउँछ । यो किताब पढ्नुभएको छैन भने पढिहाल्नुहोस् । पढ्नुभएको छ भने फेरि पढ्नुहोस्, बारम्बार पढ्नुहोस् ।
आठौं नम्बर किताबः
आठौं नम्बरको किताब हो, ‘थिंक एन्ड ग्रो रिच’ । नेपोलियन हिलद्वारा लिखित यस किताब सन् १९३७ मा प्रकाशित भएको थियो । यस किताब अहिलेसम्म १० करोड प्रति बिक्री भइसकेको छ र लाखौं मानिसको जीवन परिवर्तन गर्न सफल भएको छ । यस किताबले तपाईंलाई पनि त्यस्तै सहयोग गर्नेछ । यो किताब पनि सबैले पढ्नैपर्ने किताब हो ।
सातौं नम्बर किताबः
सातौं नम्बरको किताब हो, ‘द फिलिङ गुड’ । फिलिङ गुड मनोचिकित्सक डेबिड बर्नको एक श्रेष्ठ किताब हो । यो किताब कग्निटिभ थेरापीमा आधारित सेल्फहेल्प किताब हो । यस किताबमा नकारात्मक सोच तथा संज्ञानात्मक विकृतिहरूको पहिचान गर्ने र त्यस किसिमका सोच हटाई कसरी मुड ठीक राख्ने मनोवैज्ञानिक टेक्निकहरू उल्लेख छ । यो किताब हरेक मानिसका लागि उपयुक्त छ । तनाव व्यावस्थापन गरी आनन्ददायक जीवन बाँच्न यो किताब अवश्य पढ्नुहोस् ।
छैठौं नम्बर किताबः
छैठौं नम्बरको किताब हो, ‘द अल्केमिस्ट’ । द अल्केमिस्ट पाउलो कोइल्होद्वारा लिखित एक चर्चित उपन्यास हो । सन् १९८८ मा प्रकाशित यस उपन्यास पोर्चुगिजमा लेखिएको थियो । अहिलेसम्म यो किताब विभिन्न भाषामा गरेर ६ करोड ५० लाख प्रति बिक्री भइसकेको छ । यो उपन्यास रोचक मात्र छैन, ज्ञानवद्र्धक र मानिसको जीवन नै परिवर्तन गर्नेखालको छ ।
पाँचौं नम्बर किताबः
पाचौं नम्बरको किताब हो, ‘मैन्स सर्च फर मिनिङ’ । यस किताब भिक्टर फ्रैंकलद्वारा सन् १९४७ मा लेखिएको किताब हो । अहिलेसम्म यो किताब एक करोडप्रति बिक्री भइसकेको छ । एक अध्ययनका अनुसार यो किताब अमेरिकाका १० प्रभावशाली किताबहरूमध्येको एक हो । यो किताबले दोस्रो विश्वयुद्धका बेला आसविट्ज शिविरमा कैदीका रूपमा रहँदा फ्रैंकलको अनुभव वर्णन गर्छ । आमा, बुबा, भाइ र गर्भवती पत्नीको मृत्यु हँुदा उनले के कस्ता मनोचिकित्सा पद्धतिहरू अपनाएर कैदमा बाँचेका थिए ? भन्ने कुरा यसमा उल्लेख छ । फ्रेंकल तर्क दिन्छन् कि ‘हामी दुःखपीडाबाट बच्न सक्दैनौं तर हामी यसलाई कसरी प्रतिक्रिया दिने हो भन्ने छनोट गर्न सक्छौं । र, अगाडि बढ्नका लागि हाम्रो अनुभवको उपयोग गर्न सक्छौं ।’
चौथो नम्बर किताबः
चौथो नम्बरको किताब हो, ‘द पावर अफ पोजिटिभ थिंकिङ’ । यो किताब नर्मन भिन्सेन्ट पिलद्वारा लेखिएको हो । यस किताबको अहिलेसम्म ५० लाख प्रति बिक्री भइसकेको छ । यस पुस्तकले तपाईंलाई कसरी आफैंमा विश्वास गर्ने, चिन्ता गर्ने बानी हटाउने र आफ्नो दृष्टिकोण परिवर्तन गरेर जीवन नियन्त्रित गरेर सफलतातिर अगाडि बढ्ने सिकाउँछ ।
तेस्रो नम्बर किताबः
तेस्रो नम्बरको किताब हो, ‘द सेभन हेबिट अफ हाइली इफेक्टिभ पिपुल’ । द सेभन हेबिट अफ हाइली इफेक्टिभ पिपुल सिटिफन कोवीद्वारा सन् १९८९ मा लेखिएको एक चर्चित किताब हो । यस किताब अहिलेसम्म २ करोड ५० लाख प्रति बिक्री भइसकेको छ । यस किताबमा कोवीले प्रायजसो सेल्फहेल्प किताबहरूमा उल्लेख गरिने व्यक्तित्व नैतिकताका विरुद्धमा तर्क दिएका छन् । उनले यसमा चारित्रिक नैतिकतालाई महŒव दिएका छन् ।
दोस्रो नम्बर किताबः
दोस्रो नम्बरको किताब हो, ‘रिच डैड पुर डैड’ । रिच डैड पुर डैड किताब रोबर्ट कियोसाकीद्वारा लिखित एक चर्चित किताब हो । यो किताब फाइनान्स म्यानेजमेन्टको एक श्रेष्ठ किताब हो । किताबमा रोबर्ट कियोसाकीका दुई पिता छन्, जसमा एक धनी र अर्का गरिब छन् । तपाईंलाई लाग्न सक्छ दुईवटा पिता कसरी ? एउटा उनका जनमदाता पिता हुन्, जो गरिब थिए । अर्का उनका एकदमै मिल्ने साथीका पिता हुन्, जसलाई रोबर्टले आफ्नै पिता मान्थे । जन्मदाता पिता गरिब थिए तर उनी निकै पढेलेखेका थिए । अर्का धनी पिताले भने स्कुलको पढाइलेखाइ पनि पूरा गर्न सकेका थिएनन् । दुवै पिताले जीवनमा खुब मेहनत गरे तर पैसाको मामलामा दुवैको राय बिलकुल अलग थियो ।
पहिलो नम्बर किताबः
१० वटा सर्वश्रेष्ठ किताबको सूचीमा पहिलो नम्बरको किताब हो, ‘श्रीमद्भागवत गीता’ । श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मात्र होइन, यो मनोचिकित्सा हो, सकारात्मक मनोविज्ञान हो, हौसला एवं प्रेरणाका साथै सफलताको मार्गदर्शक हो । भनिन्छ, संसारका जति पनि किताबमा जेजे उल्लेख गरिएको छ, त्यो सबै यस किताबमा छ । यस किताबमा जे छैन, त्यो संसारका कुनै किताबमा पनि छैन । अतः यो किताब सबैले पढ्नैपर्ने किताब हो । गहन रूपमा यो किताब पढ्ने र बुझ्ने हो भने अरू किताब पढ्नैपर्दैन । तपाईंले खोजेका हरेक कुरा यस किताबमा छ ।
प्रसिद्ध गणितज्ञ तथा तर्कशास्त्री पीडी आस्पेन्सकीको किताब ‘टर्सियम आर्गनम’ मलाई निकै मन परेको किताब हो । टर्सियम आर्गनमको मतलव हो, विचारको तेस्रो सिद्धान्त । आस्पेन्सकीले यस अद्भूत तथा अतुलनीय किताब लेख्नुभन्दा पहिला दुईवटा अन्य किताब यस्तै लेखिएका थिए । पहिलो किताब एरिस्टोटलले लेखेका थिए, जसलाई एरिस्टोटलले ‘आर्गनम’ भने । जसको अर्थ हुन्छ, विचारको पहिलो सिद्धान्त । अनि दोस्रो किताब बेकनले लेखे, जसलाई बेकनले नाम दिए, ‘नोवम आर्गन अर्थात् विचारको नवीन सिद्धान्त । त्यसपछि आस्पेन्सकीले विचारको तेस्रो सिद्धान्त लेखे । अनि भने, तेस्रो सिद्धान्त पहिलोभन्दा पूर्वमौजुद थियो । यस किताब यति रहस्यले भरिएको छ कि किताबका हरेक पृष्ठ, हरेक वाक्यांश, हरेक वाक्य तथा हरेक शब्द अर्थगर्मित छन् ।
अतः यी किताब आफ्नो पुस्तकालयमा राख्नुहोस् । एकपटक होइन, पटकपटक पढ्नुहोस् । किताबमा उल्लिखित विषयमा चिन्तनमनन गर्नुहोस् । कहिलेकाहीँ त किताबको एउटा वाक्यले नै सारा जीवन बदलिन सक्छ । घरमा पुस्तकालय छैन भने एउटा चिटिक्कको पुस्तकालय बनाउनुहोस् । घरमा पुस्तकालय भएपछि घरमा पढ्ने वातावरण पनि बन्छ । पुस्तकालय भोलिका सन्ततिका लागि अमूल्य उपहार पनि हो ।
अर्को कुरा दसैं तिहारमा, अन्य चाडपर्वमा, जन्मदिनमा, विवाह तथा पास्नी आदिमा कटकटिया नोट तथा लुगाफाटा दिनुभन्दा नयाँ कटकटिया किताब दिनु सुनमा सुगन्ध छरेजस्तो हुन्छ, मेरो विचारमा ।
(लेखक साइकोथेरापिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन्)