खोटाङ । आत्मदहको प्रयास गर्दा घाइते भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भलकाजी बास्तोलाको मृत्यु भएको छ । गत चैत ३ गते राती शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेका बास्तोलाको बिहीबार राती जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।
कीर्तिपुर बर्न अस्पताल, काठमाडौंले थप उपचार हुन नसक्ने भन्दै बिहीबार डिस्चार्ज दिएपछि बास्तोलालाई फर्काएर जिल्ला अस्पताल दिक्तेलमा राखिएको थियो । घाइते बास्तोलाको उपचारका क्रममा राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
जिल्ला अस्पतालले रेफर गरेपछि घाईते बास्तोलालाई चैत ४ गते कीर्तिपुर बर्न अस्पताल, काठमाडौं लगिएको थियो । तर बास्तोलाको स्वास्थ्य अवस्था सुधार हुनुको सट्टा ‘क्रिटिकल’ हुँदै गएपछि बर्न अस्पतालले डिस्चार्ज दिएको थियो ।
बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएर बचाउने प्रयास गरेका थिए । उनले घरायसी तनावका कारण शरीरमा आगो लगाएको बताइएको छ ।