काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले आफ्नो मौलिक चलचित्रका रूपमा दाबी गर्दै आएको फिल्म बुलाकी यही १ वैशाखबाट रिलिज हुँदै छ । यो फिल्मका अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्त अभिनित गीत ‘दुनियाँलाई सम्झाई देउन…’को लिरिकल भिडियो शनिबार रिलिज गरिएको छ ।
सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा बादल थापाको स्वर छ । यो गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेताका रूपमा आएका विराज विष्टबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।
बुलाकीमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ । टोपेन्द्र विष्टले निर्माण गरेको सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाइ यसमा मुख्य भूमिकामा छन् । यस्तै प्रकाश कँडेल र सरस्वती खत्रीले पनि बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दै छन् ।
यो सिनेमा शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको यो फिलममा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टको पटकथा तथा संवाद छ ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोती विष्टको प्रस्तुति रहेको यो फिल्म डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको छ । फिल्मको वितरण त्रिनेत्रम् र एफडी गर्दै छन् ।