कोसी नामकरणविरुद्ध आन्दोलन

इटहरी । प्रदेशको नाम ‘कोशी’ कि ‘कोसी’ भन्ने भाषाविद्हरूबीच विवाद भइरहँदा पहिचान पक्षधरहरूले भने प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् । मंगलबार पनि विराटनगरस्थित रोडशेष चौकमा पहिचान पक्षधर र सुरक्षाकर्मीहरूबीच झडप भएको छ ।

‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले प्रदेशको नामकरण कोसी स्वीकार नहुने भन्दै आन्दोलन जारी राखेको हो । आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको आन्दोलन दिउँसो करिब ४ बजेसम्म जारी थियो । प्रहरीले भीड नियन्त्रण लिन २९ राउन्ड हवाई फायर र ४४ राउन्ड अश्रुग्याँस प्रहार गरेको उनले बताए । यस्तै, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पानीको फोहरासमेत प्रहार गरेको थियो ।

‘प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि भीड नियन्त्रण लिन हामीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेका हौं,’ एसपी पोखरेलले भने, ‘आन्दोलनका क्रममा प्रहरीहरू पनि घाइते भएका छन् ।’

प्रदर्शनकारी र प्रहरी झडपमा २२ जना घाइते

उनका अनुसार ६ जना नेपाल प्रहरी, तीत जना सशस्त्र प्रहरी र १३ जना प्रदर्शनकारी गरी २२ जना घाइते भएका छन् । घाइते हुनेहरूमा इटहरी–२० तरहराका सरोज लिम्बु, इटहरी–२० कै रेसम राई, इटहरी–५ का पदम लिम्बु, इटहरी–८ का विमल किराँती रहेका छन् । यस्तै, धरान–५ का एनके दर्नाल, धरान–१६ का शिव आङ्देम्बे, माङ्सेबुङ–३ का उदय नेम्बाङ, धरान–११ का ज्ञानप्रसाद राई, ग्रामथान–६ का सुरज राई, धरान–१८ का अशोक राई, धरानकै विशाल राई, धरान–१२ कै आस्था राई घाइते भएका छन् । यीबाहेक सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् ।

उनीहरूको विराटनगरस्थित कोसी अस्पताल र पारस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत ५ चैतमा आन्दोलनका क्रममा घाइते धरान–१५ बस्दै आएका पदम लिम्बु (लाजेहाङ) को १० चैतमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएपछि पहिचान पक्षधरहरू थप आन्दोलित बनेका हुन् ।

उर्लाबारीका वडाध्यक्ष कुटिए
यसैबीच, पहिचान पक्षधरहरूले मोरङको उर्लाबारीमा एकजना वडाध्यक्षमाथि कुटपिट गरेका छन् । उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेललाई पहिचान पक्षधरहरूले कार्यकक्षमै कुटपिट गरेका हुन् । कार्यालय खोलेको भन्दै उनीमाथि कुटपिट भएको बताइएको छ ।

कुटपिटपछि नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै घटना’bout आपत्ति जनाएको छ । कांग्रेस उर्लाबारी नगर कार्यसमितिका कार्यवाहक सभापति राजन रायमाझीका अनुसार कुटपिटमा संलग्नलाई कारबाही गर्न माग राखिएको छ ।

मोरङ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने संवैधानिक अधिकार हुँदाहुँदै जनप्रतिनिधिमाथि आफ्नै कार्यकक्षमा कुटपिट हुनु निन्दनीय र दण्डनीय रहेको छ भन्ने हाम्रो मान्यता रहेको छ, कुटपिटमा संलग्न व्यक्तिहरूमाथि तुरुन्त छानबिन गरी कडा कानुनी कारबाही गरियोस् भनी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’

दमक र पाँचथरमा तालाबन्दी
यसैबीच, झापाको दमक नगरपालिकामा पहिचान पक्षधरहरूले तालाबन्दी गरेका छन् । मंगलबार बिहान दमक नगरपालिकाको कार्यालय पुगेर पहिचान पक्षधरहरूले तालाबन्दी गरेका हुन् । ताला लगाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच झडप हुँदा नगरपालिकाका झ्यालका सिसासमेत फुटेका छन् ।

यस्तै, पाँचथरको फालेलुङ गाउँपालिकामा पनि कोसी नामकरण खारेजीको माग राख्दै गाउँपालिकामा तालाबन्दी गरिएको छ । पहिचान पक्षधर प्रदर्शनकारीहरूले गाउँपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।

यसअघि संघर्ष समितिले फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका केही वडामा तालाबन्दी गरेको थियो । संघर्ष समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै १४ चैत १७ चैतसम्म कार्यालय बन्द गर्न माग राखेको छ ।

प्रदेशको नामकरण पहिचानका पक्षमा हुनुपर्ने माग राखिए पनि गत १७ फागुनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले कोसी नाम राखेको हो । कोसी नाम राखिएपछि पहिचानको सम्मान नभएको भन्दै पहिचान पक्षधरहरू आन्दोलित बनेका हुन् ।

लिम्बुको परिवारलाई राहत
यसैबीच, कोसी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बु (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई तत्काल राहतस्वरूप ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै, मन्त्रिपरिषद् बैठकले घटना सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको लालझाडी गाउपालिकामा एमाले बिजयी