स्थायी शिक्षकको प्रमाणपत्र नक्कली

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ३५ वर्षसम्म अध्यापन गराउँदै आएका शिक्षक उदयराज यादव दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा बाँकेको कम्दी–७ पदमपुरमा रहेको शहीद स्मारक माध्यमिक विद्यालयका तत्कालीन शिक्षक उदयराज यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको थियो ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यादवलाई दोषी ठहर गरेको हो । दोषी ठहर भएका यादवलाई सजाय निर्धारण गर्न भने बाँकी रहेको छ ।

यादवले प्रावि तहको शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन यूपी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको खुलेको थियो । उनले प्राथमिक शिक्षकका रूपमा २६ कात्तिक २०४१ सालमा गते नियुक्ति लिँदा नक्कली प्रमाणपत्र पेस गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

अनुसन्धान क्रममा यादवले नक्कली प्रमाणपत्र पेस गरी २६ कात्तिक २०४१ साल प्राथमिक शिक्षकका रूपमा नियुक्ति लिई २९ २०७६ सालसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको माग दाबी गरिएको थियो ।

कम्प्युटर अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली
सिद्धार्थनगर नगरपालिका भैरहवाका तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवालीको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको विशेष अदालतले ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले ज्ञवालीलाई दोषी ठहर गरेको हो । ज्ञवालीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वैशाख २०७७ मा मुद्दा दायर गरेको थियो ।

ज्ञवालीले बढुवा हुने क्रममा पेस गरेको भारतीय शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । उनको माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट नक्कली झुठ्ठा शैक्षिक प्रमाणपत्र पेस गरी कम्प्युटर (प्राविधिक) र अधिकृत द्वितीय (प्राविधिक) पदबाट सहायकस्तर प्रथम तह (नासु) कम्प्युटर अपरेटर र अधिकृत छैठौं (प्राविधिक) कम्प्युटर अधिकृत पदमा गरी दुईपटकसम्म बढुवा भएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

डेढ करोड गैरकानुनी सम्पत्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गुप्ताको स्रोत नखुलेको १ करोड ४९ लाख ९७ हजार ८ सय ६४ रुपैयाँ रकम बिगो कायम गरेर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । २९ वैशाख २०५१ मा सार्वजनिक सेवा प्रवेश गरेका गुप्ताको २५ जेठ २०७९ सम्मको आम्दानी र खर्चमाथि अख्तियारले छानबिन गरेको थियो ।

‘अनुसन्धान अवधिमा विद्यमान सम्पत्ति १ करोड ४९ लाख ९७ हजार ८ सय ६४ बराबरको स्रोत नखुलेको हुँदा सार्वजनिक पदधारण गरेका नन्दकिशोर गुप्ताले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन जानुका साथै मनासिव कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भयो,’ अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

सोही रकमलाई बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो । पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति पत्नी उषा गुप्ताको नाममा जग्गा खरिद तथा घर निर्माणलगायतमा खर्च गरेको भेटिएको आरोपपत्रमा उल्लेख छ । सम्पत्ति जफतको प्रयोजनका लागि अख्तियारले पत्नी उषा गुप्तालाई पनि प्रतिवादी कायम गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज