काठमाडौं महानगरले अन्तिम फोहोर विर्सजनस्थल बन्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहोर पु¥याउने कामपा–५ को सुनौलो परिवार नेपाललाई ५० हजार जरिमाना गरेको छ । विगत ७ महिनादेखि अर्थात् साउन १ गतेदेखि स्रोतमा फोहोर वर्गीकरण गरी कामपासहित उपत्यकाका १८ स्थानीय तहको सामान्य फोहोर मात्र व्यवस्थापन गर्न बन्चरेडाँडास्थित डम्पिङ साइट लगिँदै आएको छ ।
कुनै बेला दुर्गन्ध फैलिँदा बिरामी र आफन्त तथा आसपासका सर्वसाधारणको गालीसमेत खानुपर्ने तथा व्यवस्थापन टाउको दुखाइ भइरहेको फोहोरबाट भेरी अस्पतालले हाल मोहर कमाइरहेको छ । प्लास्टिक र कागजजन्य फोहोर बिक्री गरेर मासिक ७० हजार आम्दानी गर्छ । संक्रमित रातो डिब्बामा गैरसंक्रमित निलो र हरियो बाल्टिनमा दैनिक २ सय ५० किलो फोहोर उत्पादन हुन्छ । दैनिक १२ सय बिरामी आउने तथा ६ सय केजी फोहोर संकलन हुने लुम्बिनी अस्पतालमा पनि २ सय, २ सय केजी फोहोर निर्मलीकृत गर्न सकिने ३ वटा मेसिन जडान गरिएको छ । इन्सिनेरेटर, बाल्ने, जलाउने तथा सिधै नगरपालिकालाई दिने प्रवृत्ति अन्त्य भएको छ ।
नेपालमा वार्षिक करिब ७ लाख टन उत्पादन हुन्छ । २ सय ९३ सहरी स्थानीय तहमा मात्रै ल्यान्डफिल्ड छन् । नेपालमा सन १९७१ तिर अन्तर्राष्ट्रिय दाताहरू आकर्षित हुन थालेपछि सन् १९८१ मा जिटीजेडको सहयोगमा ठोस फोहोर गोकर्ण ल्यान्डफिल्डमा १० वर्ष व्यवस्थापन आयोजना सुरु भएको हो । सन् २००० मा गोकर्ण बन्द भएपछि नदी किनारा र छरछार, सन् २००३ मा बाग्मती, विष्णुमती किनारातिर फाल्ने, सन् २००५ मा १ वर्षसम्म भनिएको सिसडोलमा १७ वर्षसम्म र हाल बन्चरेडाँडामा व्यवस्थान हुँदै छ । संघीय संरचनापछि नेपालमा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० वटा गाउँपालिका रहेका छन् । २ सय ९३ सहर घोषणा भएका र करिब ६५ प्रतिशत जनता सहरमा बसोबास गर्न थालेका छन् । देशमा एक होइन बिनापूर्वाधार र योजना ८ वटा राजधानी बनेका छन् ।
बढ्दो फोहोर
फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । आधुनिक युगको सहरीकरण, औद्योगिकीकरण तथा नवजीवनशैलीको पाश्र्व प्रभावकैरूपमा फोहोर व्यवस्थापन ज्वलन्त चुनौती बन्दै छ । नेपालमा जनसंख्या वृद्धिसँगै भवन निर्माण, सवारी साधन र उपभोग्य वस्तुको तीव्र विस्तारले वातावरणीय तथा पर्यावरणीय सन्तुलन खलबलिएको छ । खानेपानीको अभाव छ, ढल निकासको व्यवस्था छैन । अव्यवस्थित सहरीकरणले राजधानी र ठूला मध्यम मात्र होइन, साना सहरहरू पनि अत्यन्तै कुरूप तथा फोहोर बनाएको छ ।
सबै महानगर, उपमहानगर तथा नगर उन्मुख सहरमा न त व्यवस्थित बसोबास छ, न त योजनाबद्ध पूर्वाधार निर्माण नै । नेपालका हरेक नगर क्षेत्रमा मानवीय संकट बढ्दो छ ।
स्वास्थ्य समस्या
प्रदूषित पानीका कारण जन्डिस, हैजा, झाडापखाला, आउँ, हेपाटाइटिस, टाइफाइड र छालाजन्य तथा एलर्जिक समस्या र मौसमी रोगजस्तै शीतलहर र विभिन्न फ्लुको प्रकोप भइरहेको छ । यथेष्ट शारीरिक व्यायामको अभावमा मोटोपनाको समस्या, मुटुरोग, मधुमेह, उच्च रक्तचाप, हृदयाघात जस्ता दीर्घरोग बढ्दो छ । एचआईभी, औलो, क्षयरोगको संक्रमणको जोखिम बढ्दो छ ।
वायु प्रदूषण, मानसिक तनाव, धुम्रपान, मद्यपान, लागू औषधी सेवन, हिंसा, लुटपाट, अस्वस्थकर खाना, ताजा हरियो सागपात र फलफूलको कमीले गर्दा सहरियाको जीवन प्रत्येक पल जोखिमपूर्ण बन्दै गइरहेको पाइन्छ ।
वार्षिक करिब ७ लाख टन फोहोर उत्पादन हुने नेपालमा २ सय ९३ सहरी तथा स्थानीय तहमा ल्यान्डफिल्ड साइड छन्
सार्वजनिक स्थान र सडकपेटीमै भान्साको फोहोर, शौचालयको फोहोर, बीर्ययुक्त कन्डम, महिनावारीमा प्रयोग भएका प्याड, पोलिथिन, प्लास्टिकजन्य कागज, सामान, म्याद गुज्रेका औषधी, खाद्यपदार्थ, कीटनाशकहरू, होटलका बासी खाना, चुरोटका ठुटा, मदिराका बोतल, सवारी साधनजन्य फोहोर, कवाडी, पशुपक्षीका मल तथा मृत जनावर नै देखिन्छन् । गर्मी तथा वर्षायाममा त झन् फोहोरमा झिंगा र थुप्रोबाट पानी, रस बगिरहेका हुन्छन् ।
फोहोरको डंगुरबाट झिंगा, लामखुट्टे, मुसा, चरा तथा गाडीका पांग्रा, जुत्ता चप्पलबाट वरिपरि तथा घरभित्र संक्रमण पुग्दछ । रसाएको फोहोर पानी तथा अन्य जीवजन्तुबाट पानीका स्रोत पनि संक्रमित हुन्छ । जसबाट कीटजन्य, पानीजन्यलगायतका संक्रमणले महामारीको रूप लिन सक्छन् । घरभित्रको फोहोरले इन्प्mलुएन्जा, रुघाखोकी, क्षयरोग, दादुरा, ब्रोंकाइटिस, लहरेखोकी, लुतो, एलर्जीलगायतका चर्मरोग, श्वासप्रश्वासजन्य संक्रमण ल्याउँछ भने मुसाबाट प्लेग, रेबिज, लाम्खुट्टेबाट औलो, कालाजार, इन्सेफलाइटिस, सांला र माउसुलीबाट अन्य विभिन्न रोगहरू लाग्दछ ।
बंगुरको मलबाट नाम्ले किरा, भैंसी र रांगाको मलबाट सानो नाम्लेकिरा, कुखुरा तथा पक्षीको मल तथा प्वाँखबाट बर्डफ्लुजस्ता रोग सर्न सक्छ । पानी संक्रमित भई नउमालेर पानी पिउँदा टाइफाइड, हैजा, झाडापखाला, जन्डिस, जुका, भाइरल संक्रमण लाग्दछ । यसरी हजारौंको मृत्यु, लाखौं बिरामी तथा अर्बांै रुपैयाँ खर्च भइरहेको छ ।
फोहोर समस्या बन्दै जानुमा स्रोतसाधन र प्रविधिको कमीभन्दा पनि राजनीतिक प्रतिबद्धता, इच्छाशक्ति र अदूरदर्शिता प्रस्ट देखिन्छ
विश्व स्वास्थ्य संगठनले सन् २००२ मा मेडिकल वेस्ट भनेर नचाहिने, प्रयोग भएका सामग्री, रोगको निदान, उपचार, खोप, अनुसन्धान, जैविक किटाणु उत्पादन गर्ने प्रयोगशाला तथा प्रयोगशालाबाट फ्याँकिने बिरामीको दिसा, खकार, पिसाब, रगत, वीर्य, तन्तु, सुई, तथा ब्लेडजस्ता तीखा, धारिला सामग्री, रसायन, औषधि, स्वास्थ्य उपकरण, शल्यक्रियाद्वारा निकालिएका अंग, गर्भपतन, अप्रेसन गरी फ्याँकिएका शरीरका भाग, विकिरणजन्य फोहोरलाई जनाएको छ । मेडिकल वेस्ट अत्यन्तै संक्रामक र शीघ्र फैलिने हुन्छ, वातावरणीय स्वास्थ्यका लागि ठूलो चुनौती उत्पन्न गर्न सक्दछ । हरेक क्लिनिक र अस्पताललाई फोहोर संक्रमणमुक्त बनाएर मात्र बाहिर निकाल्न बाध्यकारी बनाएको छ तर ब्यवहारमा अन्य नियम कानुन झैं कागजमै सीमित छ ।
फोहोरलाई मोहर बनाउन सकिने
तथापि, फोहोर आफंैमा खराब होइन ’cause यही खाएर बंगुर हलक्क बढ्छ, बोटबिरूवा गजबले सप्रिन्छ र त्यहीबाट बायोग्यास, ऊर्जा उत्पादन हुन्छ । अमेरिकाले फोहोरकै प्रयोग गरेर ९८ प्रतिशत स्टिल, ९६ प्रतिशत कारको ब्याट्री, ७४ प्रतिशत अल्मुनियम, ४३ प्रतिशत कागज तथा ४० प्रतिशत बचेको फोहोर र २७ प्रतिशत सिसाजन्य फोहोर पुनर्चक्रीय पद्धतिद्वारा प्रयोग गरी स्वच्छ सहर बन्न बनाउन सफल भएको छ । नेपाल सरकार र नेपालीले किन नसक्ने ? जान्नेलाई श्रीखण्ड र नजान्नेलाई खुर्पाको बिँडजस्तै छ फोहोर ’cause सहरको सौन्दर्य, वातावरण, पर्यटन व्यवसाय तथा स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने फोहोरलाई पुनः प्रयोग गरी मोहोर वा रुपैयाँमा बदल्न सकिन्छ भन्नेको जानकारी अभाव छ ।
सीमित मात्रामा भए पनि गड्यौलाद्वारा स्तरीय मल उत्पादन विधि अपनाएर फोहोर तह लगाउने नभएका होइनन् । स्थानीयस्तरमै फोहोर व्यवस्थापनसम्बन्धी सचेतना तथा कृषिमल उत्पादन भएका छन् । उता घोराही नगरपालिकाले सहर सफा मात्र नगरी विभिन्न व्यवसाय पनि सञ्चालन गरी फोहोरबाट नाफा कमाएको छ । बाँयो ग्याँस प्लान्ट बनाई एलपी ग्यास तथा मलको खर्च जोगाउने प्रशस्त छन् ।
स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमा १० देखि १५ प्रतिशत संक्रामक र ७० देखि ९० प्रतिशत हानिकारक हुन्छन् । नियमले संक्रामक र हानिकारक फोहोरलाई संक्रमणमुक्त नबनाएर संस्था बाहिर निकाल्न पाइँदैन । यसरी नियम र सामान्य तथ्य नमानी संस्था बाहिर निकाल्दा र थुपार्दा व्यक्ति, वातावरण, समाज र नदी संक्रमित र दुर्गन्धित छन् । अस्पतालको फोहोर कुल फोहोरको १ प्रतिशत जति भए तापनि निकै संक्रामक र खतरनाक हुन्छ । अत्यन्तै हानिकारक फोहोरमैला सुरक्षित तवरले व्यवस्थापन नगर्ने हो भने वा घरेलु फोहोरसँगै मिसिन गएमा सहरी वातावरण एवं जनस्वास्थ्य, जीवजन्तुमा हानि पुग्छ, ठूलो प्रकोप फैलिन सक्छ ।
फोहोर दैनिक रूपमा बढे तापनि आजसम्म ६५ प्रतिशत बढी जैविक अर्थात् कुहिने फोहोर छ जसलाई कम्पोस्ट मल बनाउन सकिन्छ भने ३५ प्रतिशत अजैविक फोहोरलाई पुनर्प्रयोग गरी व्यवस्थापन गर्न सकिन्छ । विकसित देशले फोहोरमैलालाई विभिन्न प्रविधिहरू अपनाएर फोहोरको उचित व्यवस्थापन गर्नुका साथै मनग्गे फाइदा लिइरहेका छन् । तर, हामीजस्तो विकासोन्मुख देशमा दिनानुदिन समस्या बन्दै जानुमा स्रोतसाधन र प्रविधिको कमीभन्दा पनि राजनीतिक प्रतिबद्धता, इच्छाशक्ति र अदूरदर्शिता प्रस्ट देखिन्छ ।