बेलाबेलामा समाजमा फैलने महामारी समाजको उपज हो । स्वस्थ रहनका लागि आवश्यक सावधानी नअपनाउँदा रोग बढ्दछन् । धार्मिक मान्यतामा बेलाबेलामा आउने महामारी समाजका लागि खबरदारी पनि हो । हिन्दू धर्मग्रन्थअनुसार समाजमा कुकर्म बढ्दै गएपछि पापको घडा भरिन्छ, त्यो भरिएको घडा घोप्ट्याउन ईश्वरको विभिन्न रूपमा जन्म हुन्छ । पूर्वीय दर्शनको महान् ग्रन्थ गीतामा भनिएको छ, ‘परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामियुगे युगे ।।’ अर्थात् दुष्टको विनाश गरी धर्मको स्थापना गर्न म युगयुगमा जन्म लिनेछु ।
श्रीमद्भागवत पुराणमा भगवानले दुष्टको विनाश गर्न माछा, कछुवा, बँदेल, सिंहजस्ता विभिन्न प्राणीको रूप धारण गरी पृथ्वीमा जन्म लिएको वर्णन छ । पुराणका यस्ता कथालाई सत्य मान्नेले कोरोना भाइरस पनि ईश्वरको कुनै अदृश्य रूप हो र यो पृथ्वीमा पापको थुप्रो चुलिँदै गएकाले मानिसलाई चेतावनी दिन आएको भन्न पनि सक्छन् । स्मरण रहोस्, यतिबेला मानिस आफूलाई प्रकृतिमाथिको विजेता ठानिरहेको छ । तर, प्रकृतिभन्दा मानिस कमजोर छ । कोरोनाको त्रासमा मानिसको विचलित मानसिकता यसैको उदाहरण हो ।
तर, आधुनिक विज्ञान र पश्चिमा जगत्ले यस्ता पूर्वीय दर्शनका वैदिक र पौराणिक मान्यता स्विकार्दैन । विज्ञानले त ईश्वरीय अस्तित्वलाई पुरै नकार्छ । संसारको अस्तित्व मात्र मानवसँग सम्बन्धित ठान्छ । त्यसैले, आजको मानिस विज्ञानको आडमा विश्वविजेता मात्र होइन, सारा ब्रह्माण्डको विजेता बन्न प्रयास गरिरहेको छ । तर, यथार्थचाहिँ यही हो कि ठूलो ब्रह्माण्डको विजेता हुने चाहना राख्ने मानिस बेलाबेला कोरोनाजस्तो सानोे जीवाणुसँग हार्छ । यो समाजको सामान्य सत्य मात्र होइन, शाश्वत सत्य हो ।
रोग समाजले उत्पत्ति गर्छ र समाजलाई नै आतंकित पार्छ । समाजबाटै उत्पत्ति भएको कोरोनाको संक्रमणले यतिबेला विश्व आतंकित छ । मान्छेले प्रकृतिका ठूलाठूला भौतिक वस्तुलाई चुनौती दिनु तर ससाना भाइरसले मान्छेलाई चुनौती दिनु धेरैलाई अनौठो लाग्ला तर यो सृष्टिको नियम हो । यो ब्रह्माण्डमा कहिले कसको पालो, कहिले कसको पालो आउँछ । यतिबेला प्रश्न छ, शक्तिशाली अजंगको मान्छे कि, सानो जीवाणु भाइरस शक्तिशाली ? भन्ने प्रश्न अनुत्तरित छ ।
मानव समाजशास्त्रभन्दा कीटाणुको समाजशास्त्र निकै फरक छ । मानिसले बनाएको कानुनभन्दा प्रकृतिले बनाएको कानुन फरक छ । कीटाणुको समाजशास्त्र मानिसको समाजशास्त्रसँग मिल्दैन । मानिसको समाजमा ठूलोले सानोलाई खान्छ, कीटाणुको नियममा सानोले ठूलोलाई पनि सखाप पार्छ । त्यसैले त देखिनेभन्दा नदेखिने कुटाणु कोरोनाजस्तै शक्तिशाली हुन्छन् ।
भनिन्छ, मान्छे यो विश्वको सबैभन्दा बुद्धिमानी प्राणी हो अरे । यो दाबी मानिसको मात्र हो । अरू प्राणी मानिसलाई सबैभन्दा बुद्धिमानी मान्दैनन् होला, बरु सबैभन्दा क्रुर ठान्छन् होला । किनकि सबै प्राणीलाई मान्छेले आफ्नो स्वार्थमा प्रयोग गरिरहेको छ र आफूलाई बुद्धिमान दाबी गरिरहेको छ । हुन पनि हो क्रुर प्राणी न बुद्धिमान हुन्छ, न बहादुर । अरू प्राणीलाई आफ्नो वशमा पार्दैमा मान्छे बहादुर हुँदैन । त्यस्तो दिग्भ्रमित बहादुरीलाई त कोरोनाजस्तो सामान्य जीवाणुले तहसनहस पारिदिन्छ । त्यसैले, मान्छे आफ्नो दृष्टिमा जति बुद्धिमान र शक्तिशाली छ, सम्पूर्ण प्राणीको दृष्टिमा त्यत्तिकै बुद्धिहीन, विवेकहीन र शक्तिहीन छ । तर, मानिसको भ्रमित दुनियाँमा कहिलेकाहीँ बुद्धि नभएको भाइरसले बुद्धि भएको मान्छेलाई तहसनहस पार्छ । कारोनाजस्तो देख्न नसकिने कुराको प्रभाव देख्न सकिने मात्र होइन, तहसनहस नै बनाइदिन्छ । यतिबेला मानिसको विश्वविजेता दम्भमाथि प्रकृतिको ठाडो चुनौती छ ।
ब्रह्माण्ड विजय गर्न हिँडेको मानिस कोरोनाजस्तो नदेखिने जीवसँग किन डराइरहेछ
दर्शन भन्छ, मृत्यु सत्य हो, बाँच्नुचाहिँ भ्रम हो । तर, मानिस बाँच्ने मोहको भ्रममा मृत्युसँग डराइरहेको छ । मृत्यु शाश्वत सत्य भन्ने मानिस नै हो । मृत्युचेतको ठूलाठूला दर्शन छाँट्ने पनि मानिस नै हो भने मानिस मृत्युसँग किन डराएको होला ? अहिले कोरोनाको डरले हरेक मान्छे नुन खाएको कुखुराजस्तो झोक्राएको छ । कसैको अनुहारमा चमक छैन । सबैका अनुहारमा चिन्ताका रेखा छन् । यतिबेला कोहीसँग विजयको लालसा छैन । बाँच्ने जिजीविषा मात्र छ । मान्छे केहीसँग डराउँदै तर मृत्युसँग डराउँछ । साँच्ची किन होला ? जतिसुकै शाक्तिशाली दाबी गरे पनि मान्छे मृत्युसँग किन डराउँछ हँ ?
कोरोनासँगै क्वारेन्टाइन शब्द पनि यतिबेला प्रचलित छ । सबैले सुनेकै कुरा हो हिजो क्वारेन्टाइन शब्द जीवजन्तु निर्यातमा प्रयोग हुन्थ्यो । आज क्वारेन्टाइनमा मान्छे पुगेको छ । बाँच्नका लागि मानिस पशुझैं क्वारेन्टाइनमा बस्न बाध्य छ । बाँच्नका लागि, फगत केही दिन थप बाँच्नका लागि । हिजो मान्छे पशुको जीवनलाई घृणा गथ्र्यो । कोही मानिसलाई नीच देखाउन परे पशु भनिन्थ्यो । तर, आज बाँच्नका लागि मान्छे पशुको नियति भोग्दै छ । प्रमाणित भयो, मान्छे बाँच्नका लागि सब गर्न तयार छ । हेर्नुहोस् त, मानव जीवन क्या विचित्र छ ।
मानिसले आफूलाई संसारको सबैभन्दा सर्वश्रेष्ठ र सर्वशक्तिमान ठाने पनि संसारको सबैभन्दा दुर्बल प्राणी भनेकै मानिस हो । जो मृत्युजस्तो सत्य कुरासँग डराउँछ, लुक्छ र भाग्छ । संसारमा सबैमाथि विजय हासिल गरें भनेर दम्भ गर्ने मानिसलाई कोरोना चेतावनी बनेर आएको छ । संसारलाई सुन्दर देख्नेलाई सामान्य भाइरसले कुरूप संसार बनाइदिने चेतावनी दिँदै छ । यथार्थमा कोरोनाले संसार हल्लाइदियो तहसनहस पारिदियो र मै हुँ भन्ने मान्छेको हैसियत देखाइदियो । जताततै त्रास, त्रास, त्रास केवल त्रास छ । आश हारेका छन् । आशमाथि त्रास हाबी भएको छ ।
मान्छे कति विचित्र छ । यस्तो संकटमा मर्ने त्रास मात्र होइन, केहीमा कमाउने आश पनि छ । देशमा १० वर्षे द्वन्द्वको राजनीतिक संकटदेखि भूकम्पजस्तो प्राकृतिक संकटमा कमाएका अहिले पनि कमाउ धन्दामा छन् । कालोबजारीले शिर ठड्याउँदै छ । उपभेक्ताका घाँटी निमोठ्ने फँणा उठ्दै छन् । ती पनि कोरोना समाजकै उपज हुन् । हो तिनीहरू पनि कोरोनाबाट बाँच्न त चाहन्छन् तर अरूलाई कोरोना संक्रमणबाट बचाएर होइन, अरूलाई महँगीको चेपुवामा च्यापी मारेर आफूचाहिँ आलिसान बाँच्न चाहन्छन् । साँच्ची, त्यो आलिसान महलमा बस्ने मान्छेलाई कोरोनाको संक्रमण हुन्छ कि हुन्न होला सोच्नुहोस् त ?
हिन्दू धर्मअनुसार समाजमा कुकर्म बढ्दै गएपछि त्यो पापको घडा घोप्ट्याउन ईश्वरको भिन्न रूपमा पुनर्जन्म हुन्छ
२०७२ सालको भूकम्प हाम्रो मन मस्तिष्कबाट टाढा छैन । सो भूकम्प जाँदा मालिकदेखि मजदुरसम्म बाँच्नकै लागि सडकमा सुते । सब एक ठाउँमा देख्दा देशमा साम्यवाद आएजस्तो लाग्थ्यो । राजनीतिक दलहरू मिलेको देख्दा कति राम्रो राजनीतिक संस्कृति भनेझैँ आभास हुन्थ्यो । कारण संस्कृतिको विकास भएको होइन रहेछ, त्यतिबेला देखिएको त्यो दृश्य त मात्र बाँच्ने जिजीविषाको परिणाम पो रहेछ । भूकम्पको प्रभाव सकियो, फेरि मालिकको दर्जा मालिक नै भयो र मजदुर उस्तै मजदुर बन्यो । दलहरू फेरि एक आपसमा खिचातानीमा उत्रिए । साम्यवाद गयो, पुनः पुँजीवाद आयो । विगतजस्तै पुँजीपति मालिक बने पुँजीहीन श्रमिक, श्रमिक नै भए । दोहोरिएको पाठचाहिँ त्यो बेला मान्छेको हैसियत भूकम्पले बतायो, आज फेरि बुझाउन खोज्दै छ मानिसलाई उसको हैसियत कोरोनाले ।
यो सब सामाजिक त्रासको केन्द्रमा सरकार छ र छ प्रतिपक्ष पनि । सरकारलाई यतिबेला कोरोनाविरुद्ध कामभन्दा बढी काम गरेको देखाउने चटारो छ । प्रतिपक्षलाई भने सरकारले केही पनि गरेन भन्ने जोसजाँगर चलेको छ । पक्ष उपलब्धिको पहाड देख्छ । प्रतिपक्ष उपलब्धि शून्य भन्छ । कोरोनाको जीवाणु देख्न नसक्ने पक्ष÷प्रतिपक्षका यी भ्रमहरू कहिले धरातलमा आउने हुन् । कन्फ्युजन र भ्रममा बाँच्ने नेपाली समाजको चरित्र कस्तो विचित्र छ ।
मानिसको मनोविज्ञान पनि गज्जबकै छ । संकट आयो ल¥याकलुरुक पर्छ, संकट ट-यो अरूको आउकैमाथि टेकुँलाझैं गर्छ । यतिबेला कोरोनाको प्रभावले मानिसको दुर्बल चरित्र उदांगिएको छ । विश्वभर नै यतिबेला कोरोना सतर्कताभन्दा बढी सन्त्रास बनेर आएको छ । अब के बनेर जान्छ, हेर्न बाँकी छ । तर, मानिसको हैसियत भने प्रकृतिले चिनाइदिन्छ, बेलाबेलामा । कोरोनाले फेरि एकपटक मानिसको हैसियत चिनाइदिएको छ ।