काठमाडौं । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ नयाँ वर्षको छेको पारेर १ वैशाखमा रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ । कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेकेका छन् ।
चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन् । लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्नेगरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोह प्रस्तुत गरिएको छ ।
चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर)मै केन्द्रित छ । २०५२ को परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्ताबेज बनेको छ । चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरु हुन्छ । बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरू बीच हुने कलहका कारण हो ।
सन्तान नहुनुको दोष हाङ्माले मात्र खेप्नुपरेको छ । त्यहीँ सिलसिलामा श्रीमान्लाई ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ । हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन् । त्यही क्रममा पालममा जितेर अर्कैले हाङ््मालाई पत्नी बनाउँछ ।
हाङ्माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन् । पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ । बेहुली बनेर ससम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउँदिनन् । त्यही क्रममा नाम्साङलाई अर्को विवाहको दबाब पर्छ । तर, पालम गाउँन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउँदैनन् । त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन् । हाङ्मालाई जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन । नाम्साङको आमाको देहान्त हुन्छ । शुभकार्य रोकिन्छ । त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा । के नाम्साङले दोस्रो विवाह गर्छन् ? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन् ? हाङ्मालाई पालममा जितेका श्रीमान्ले के गर्छन् ? यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ । यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन् ।
निर्देशक सुब्बाले आफ्नो संस्कृतिलाई सरल ढंगले कोरेका छन् । मसलाको प्रयोग गरिएको छैन । अर्गानिक छ ‘जारी’ । कथामा मौलिकता छ । फाल्तु दृश्य जोडिएको छैन । नाम्साङ र हाङ््मा बीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गर्ने कोशिस सफल छ । थुप्रै दृश्य छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन् ।
पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै चलचित्रको सबल पक्ष हो । लिम्बू लबजले मिठास भरेको छ । गीतले मनोरञ्जनका लागि मात्र छैन, कथालाई अगाडि बढाउँछ ।
अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाएका छन् । अभिनेत्री मगरको सहनशीलताले दर्शकको मन चसक्क बनाउँछ । अभिनेता विजय बरालले मंगल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल छन् । काव्यिक चलचित्रको संज्ञा पाएको ‘जारी’मा जनजाति महिलाको विद्रोहको फरक आयाम देख्न सकिन्छ ।
यति हँुदाहँुदै पनि पहिलो हाफमा कतिपय अनावश्यक दृश्य छन् । समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुकेका छन् ।
कालोपोथी, सेतो सूर्य र ऐना झ्यालको पुतलीले प्रदर्शनका लागि गर्नुपरेको संघर्ष ‘जारी’ले सोच्नै परेन । यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतासमेत प्रमणित गरेको छ । भविष्यका लागि बनेको चलचित्र हो जारी ।