दार्चुला । जिल्लाकोे व्यास गाउँपालिका–१ स्थित छाङरु र तिंकरका स्थानीय सदरमुकाम खलंगाबाट थातथलो फर्किन थालेका छन् । चिसो छल्न सदरमुकाम झरेका उनीहरू फेरि छाङरु–तिंकरकै बस्ती फर्किन थालेका हुन् ।
भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसँग जोडिएका छाङरु र तिंकरमा चिसो अत्यधिक बढेपछि त्यहाँका बासिन्दा सदरमुकाम झर्ने गर्छन् । तिंकर र छाङरुमा अल्पसंख्यक सौका समुदायको बसोबास छ । उनीहरू हिँउदका ६ महिना खलंगा बसाइँ सर्छन् । स्थानीय भाषामा उनीहरू यसलाई ‘कुञ्चा’ सर्नु भन्छन् ।
नेपालीलाई गाउँ फर्किन भारतकै भर
छाङरु र तिंकरवसीलाई आफ्नै भूमि जान भारतको अनुमति लिनुपर्र्ने बाध्यता छ । नेपालतर्फबाट छाङरु र तिंकर जान बाटो नहुँदा स्थानीयले भारतीय बाटोको प्रयोग गर्ने गर्छन् । तिंकर र छाङरुमा १ सय १३ परिवारको बसोबास छ । जाडो छल्न खलंगा झर्ने र गर्मी छल्न थातथलो चढ्ने पुरानै चलन हो । नेपाली भूमिमा बाटो नहुँदा भारतीय पक्षको अनुमति माग गरेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय अशोक बुढाथोकीले बताए ।
‘कहिले काहीँ भारतीय पक्षले आवतजावतका लागि अनुमति पनि दिँदैन, एसएसबीले विभिन्न बहानामा ढिलाइ गर्ने तथा अनावश्यक चेकजाँच गर्ने गर्छन्,’ बुढाथोकीले भने, ‘नेपालतिर बाटो बनेको भए अर्काको भर पर्नुपर्ने बाध्यता पर्ने थिएन ।’ छाङरु र तिंकरवासीलाई सदरमुकाम आवातजावत गर्न नेपाली बाटो प्रयोग गरेर तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने हुन्छ । सदरमुकाम खलंगाबाट व्यास गाउँपालिकाको केन्द्र सुनसेरासम्म हालै सडकको ट्र्याक खुलेकाले त्यहाँसम्म गाडी चल्ने गरेको छ । सुनसेराभन्दा माथि हिँडडुल गर्न अप्ठेरो बाटो रहेको छ ।
‘छाङरु र तिंकर पुग्न नेपालतर्फबाट बाटो छैन, बस्तुभाउसहित सदरमुकाम झर्ने त्यहाँका स्थानीय भारतीय बाटोकै प्रयोग गर्छन्,’ व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले भने, ‘हिँडेर जोखिमपूर्ण तीन दिनको यात्रा गर्नुपर्छ, बस्तुभाउ नेपालतर्फबाट लैजान गाह्रो छ ।’
भारतले गाडी गुड्ने बाटो निर्माण गरेकाले सो बाटोबाट छाङरु र तिंकरवासी एक दिनमै सदरमुकाम ओहोरदोहोर गर्ने गर्छन् । भारतसँग बाटो प्रयोगका लागि अनुमति माग्नुपर्छ । छाङरु र तिंकरका स्थानीय सदरमुकामबाट थातथलो फर्किन थालेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपसिंह धामीले बताए ।
‘प्रशासनबाट अनुमतिका लागि सिफारिस गरेर भारतीय प्रशासनलाई पठाएका थियौं,’ प्रजिअ धामीले भने, ‘अनुमति पाएर स्थानीय छाङरु र तिंकरका लागि पशुचौपाया लिएर हिँडिसकेका छन् ।’ उनका अनुसार भारतले बाटो प्रयोगका लागि २ सयभन्दा बढी पास दिएको छ । धार्चुला हुँदै भारतीय बाटोको प्रयोग गरेर जाने उनीहरू सीतापुलबाट नेपालतर्फ आउँछन् ।