क्रिकेटको उपलब्धिलाई संस्थागत गरौं

वर्षाका कारण दुई दिन चलेको एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा नेपालले मंगलबार घरेलु मैदानमा यूएईलाई ७ विकेटले हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । च्याम्पियन नेपालले अब सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप २०२३ मा प्रतिस्पर्धा गर्नेछ । सीमित साधनस्रोतका बाबजुत पनि नेपाली खेलाडी र टिम सम्हालेको छोटो समयमै इतिहास बनाउन सफल प्रशिक्षक मोन्टी देसाई धन्यवादका पात्र भएका छन् । एसिया कपमा नेपाल, भारत र पाकिस्तानको समूहमा छ । भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नु नेपालका लागि आफैंमा सुनौलो अवसर हो ।

एकदिवसीय क्रिकेट इतिहासमा अस्ट्रेलियापछि सबैभन्दा धेरै खेल जित्ने देश हो भारत । भारतले १ हजार २९ खेलमा ५ सय ३९ खेल जितेको छ । त्यसैगरी ९ सय ५० खेलेको पाकिस्तानले ५ सय १ खेलमा जित दर्ता गरेको छ । भारत दुईपटकको विश्वविजेता हो भने पाकिस्तानले १९९२ मा इमरान खानको कप्तानीमा विश्वकप जितेको छ । त्यसैगरी भारतले सातपटक र पाकिस्तानले २ पटक एसिया कप जितेका छन् । यस्ता क्रिकेटका शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धामा उत्रनका लागि नेपालले आजबाट नै तयारी सुरु गर्नुपर्छ ।

यसअघि नेपालले टी–२० विश्वकप खेलेको थियो । १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमको समूह चरणमा सबैको मन जितेको थियो । २०१८ मा जिम्बाबेमा भएको विश्वकप छनोटबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो । यद्यपि, पाकिस्तानको यात्रा गर्न भारतले अस्वीकार गरेका कारण अहिलेसम्म एसिया कप कहाँ हुन्छ भनेर टुगो लागिसकेको छैन । कतार वा यूएईमा प्रतियोगिता गराउन समेत लविङ भइरहेको छ । यस्तो अवस्थामा नेपाल सरकारले समेत खेलमार्फत कूटनीति सम्बन्धलाई विस्तार गर्न सक्छ ।

क्रिकेटमा नेपालको यो असाधारण यात्रालाई निरन्तरता दिन नेपाल सरकार, क्रिकेट एसोसिएसन अफ नेपाल तथा निजी क्षेत्रको भूमिका अझ प्रभावकारी हुन आवश्यक छ । क्यानमा हुने आन्तरिक द्वन्द्व, राजनीतिक चलखेललाई अन्त्य गरेर नीति विधि र प्रविधिमा संघलाई सञ्चालन गर्नुपर्छ । नियमित ट्यालेन्ट हन्ट गर्ने, लिगहरू सञ्चालन गर्ने विषयमा क्यानले प्राथमिकता दिनुपर्छ । प्रयाप्त स्रोतसाधन उपलब्ध गराउनेतर्फ सरकारले ध्यान दिन ढिला भइसकेको छ ।

राज्यका विदेश नीतिका लक्ष्यहरू हासिल गर्न अब खेलकुद कूटनीतिलाई पनि एक उपकरणका रूपमा लिन सक्नुपर्छ । त्यसका लागि पनि राज्यले खेलकुदमा योजनाबद्धरूपमा लगानी वृद्धि गर्ने नीति अपनाउनुपर्छ । यति बेला सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा छ । क्रिकेटको उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम तथा बजेटमा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखोस् । तब मात्र यो उपलब्धिलाई संस्थागत गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी