काठमाडौं । गीत संगीत क्षेत्रमा लामो योगदान पु¥याएको भन्दै संगीतकार प्रकाश गुरुङलाई अवार्ड समारोहमा १ लाख रुपैयाँसहित ‘विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९’ बाट सम्मानित गरिएको छ ।
१३औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ मा उनलाई यो सम्मान गरिएको हो । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गर्दै शुक्रबार राति अवार्ड सम्पन्न भएको हो ।
कार्यक्रममा गायिका सुकमित गुरुङलाई ५० हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९, लोकगायक बद्री पंगेनीलाई २५ हजार रुपैयाँसहित झलकमान लोकसंगीत सम्मान २०७९ प्रदान गरियो ।
यस्तै, २५ हजार रुपैयाँसहित गायक तथा संगीतकार भबिन ढुंगानालाई प्रेमध्वज संगीत रत्न सम्मान २०७९ र २५ हजार रुपैयाँसहित सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९ प्रदान गरियो ।
समारोहमा सुगम संगीततर्फ उत्कृष्ट गायकको अवार्ड रूपक डोटेलले, गायिकाको अवार्ड जुुनु रिजालले, संगीतकारको अवार्ड ईश्वर अमात्यले, गीतकारको अवार्ड बी पाण्डेले, महिला गीतकारको अवार्ड प्रभा बर्तौलाले र उत्कृष्ट सुगम गीतको अवार्ड छुटेपछि त गीतबाट दीपिका रिमाल थापाले पाए ।
यस्तै, पपतर्फ उत्कृष्ट गायकको अवार्ड सञ्जीव सिंहले, युगल गायनको अवार्ड हिमाल सागर र अनु चौधरीले, एरेन्जरको अवार्ड साहाश शक्यले प्राप्त गरे ।
अवार्ड समारोहमा लोकदोहोरीतर्फ उत्कृष्ट गायकको अवार्ड विक्रम परियारले, गायिकाको अवार्ड सुनिता बुढाक्षत्रीले, लोकदोहोरी भाकाको अवार्ड सन्तोष केसीले पाए । लोकदोहोरीतर्फ नै म्युजिक भिडियो निर्देशकको अवार्ड स्मृति तिमिल्सिनाले, म्युजिक भिडियो मोडलको अवार्ड रुविना अधिकारी र लोमस शर्माले र उत्कृष्ट लोकदोहोरी गीतको अवार्ड सुन्य भयोबाट घनश्याम रिजालले पाए ।
राष्ट्रिय भावको गीतको अवार्ड अर्जुन कौशलले, आधुनिक भिडियो निर्देशक अवार्ड रामजी लामिछानेले, भिडियो सम्पादकको अवार्ड प्रविण भट्टले, छायाकारको अवार्ड अजय रेग्मीले र विन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार कौशिला खनाल कमाचार्यले प्राप्त गरे । समारोहमा गीतकारबाट कमल सरगमले, भिडियो निर्देशनबाट काजिश श्रेष्ठले जुरी अवार्ड पाए ।
समारोहमा गीतिसंग्रह नजर ३ विमोचन गरियो भने नजर २ गीतिसंग्रहको सम्पूर्ण आम्दानी झुम्लावाङ भिलेज फाउन्डेसनलाई प्रदान गरियो । विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गीतिसंग्रहबाट संकलित सम्पूर्ण आम्दानी ८ लाख १८ हजार २ सय ५० रुपैयाँ दुई किस्ता गरी सोही संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले कार्यक्रममा बताइन् ।