‘भुटानी शरणार्थी प्रकरणका दोषी कारबाहीको दायरामा आउनुपर्छ’

इटहरी । खेलकुदमन्त्री डिगबहादुर लिम्बूले भुटानी शरणार्थी प्रकरणमा सबै कुरा बाहिर आउनुपर्ने र अनुसन्धान अझै जरासम्म जानुपर्ने बताएका छन् ।

इटहरीस्थित नेपाली कांग्रेसका नेता विकास केसीको निवासमा भएको कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री लिम्बूले वर्तमान अवस्थामा देखिएको भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोकोही भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस मोरङका सभापतिसमेत रहेका उनी मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । मन्त्री भएपछि आफ्नो गृहजिल्ला मोरङ आएका उनले सुनसरीको इटहरीमा कार्यकर्ता भेटघाटका क्रममा अहिले देशमा भ्रष्टाचारको कुरा उठिरहँदा सबै कार्यकर्ताले अनुसन्धान प्रभावित नपार्न र अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए ।

‘यो प्रकरणमा मेरो पार्टीको प¥यो, हाम्रो मान्छे प¥यो भन्ने हेर्नुहुँदैन,’ पत्रकारको प्रश्नमा उनले भने, ‘अनुसन्धानमा हामीले सहयोग गर्नुपर्छ । सबै कुरा बाहिर आउनुपर्छ, अनुसन्धान अझै जरासम्म जानुपर्छ ।’

सरकारले अनुसन्धानको पाटोमा काम गरिरहेको र थप अनुसन्धान हुने उनको भनाइ छ । ‘कसुर प्रमाणित भयो भने कानुनको दायरमा जोकोही पनि आउनुपर्छ,’ उनले भने ।

उनले एक फरक प्रसंगमा आफू भर्खरै खेलकुदमन्त्री भएको र युवालाई खेलकुद क्षेत्रमा प्रोत्साहित गर्ने बताए । ‘हामीले खेलकुद क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘रोजगारीको सिर्जनासँगै युवालाई खेलकुद क्षेत्रमा स्थापित गर्नका निम्ति मेरो भूमिका रहन्छ ।’
उनले वर्तमान अवस्थामा राजनीतिप्रति देखिएको चरम असन्तुष्टिले कार्यकर्तासँगै नेतृत्व सच्चिनुपर्ने समेत बताए । ‘युवा साथीले संगठन सुदृढीकरणका निम्ति काम गर्नुपर्ने देखिन्छ, अब पार्टीमा शेरबहादुर गुट र शेखर गुट भनेर हुँदैन,’ उनले भने, ‘जुनै गुट भएपनि काम गर्ने साथीले अवसर पाउनुपर्छ भन्ने कुरा हो र सँगै नेतृत्वलाई सच्याउनका निम्ति वडा तहबाटै दबाब सृजना गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै कांग्रेस इटहरीका युवा नेता विकास केसीले सुनसरी र मोरङमा रहेका खेलकुद संघ संस्था र खेलाडीको विकासका निम्ति काम गर्न माग गरे । नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका केसीले भने, ‘खेलकुद बुझेको मान्छे खेलमन्त्री हुँदा हामी खुसी छौं, अब युवाले चाहेको खेल क्षेत्रको विकास गर्न हामी सबैको एकै स्वर रहेको छ ।’

कार्यकर्ता भेटघाट कार्यक्रममा सुनसरी क्षेत्र–२ का निवर्तमान सभापति मणिराम श्रेष्ठ, सुनसरी २ (क) का सभापति सुबेक्छु देवान राई, इटहरीका कार्यबाहक सभापति बालकृष्ण विष्ट, राजा क्लबका अध्यक्ष सन्तबहादुर डुम्जन, प्रेस युनियन सुनसरी सभापति पवन अधिकारी, नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)