जनकपुरधाम । जनकपुरधामको पुरानो पुस्तकालय मध्ये सहृदय पुस्तकालयको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सूचना प्रविधिको विकास र बिस्तारसँगै पठन संस्कृतिमा आएको कमीले पुस्तकालयको महत्वलाई कम गराए पनि पुस्तकालयको महत्व कहिल्यै कम हुन नसक्ने वक्ताहरुले वताए ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनवाट बोल्दै पूर्व सांसद एवं जनकपुरधामका वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहले सूचना प्रविधिबाट सतही सूचनामात्र थाहा पाइन्छ, गहन र विस्तृत अध्ययनका लागि पुस्तकालय अपरिहार्य रहेको वताए ।
सबै ठाउँमा पुस्तकालय नहुनु, भएका पुस्तकालयमा पठनीय पुस्तक नपाइनु, पठन संस्कृति कम हुँदै जानुले पाठकलाई पुस्तकालयले आकर्षण गर्न सकेको छैन । पुस्तकालयले मानव जीवनमा ज्ञान, सीप अभिवृद्धि गरी सभ्य र शिक्षित समाज निर्माण गर्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नु आवश्यक रहेको उहाँको कथन रहेको थियो ।
समारोहमा लोकसेवा आयोगका पूर्व सदस्य कृष्णचन्द्र झा लगायले बोल्नु भएको थियो ।