काठमाडौं । तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् । नगरप्रमुख महर्जनले पदभार ग्रहण गरेको एक वर्षको अवधिमा भएका उपलब्धि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
नगरप्रमुख महर्जनले नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने, करको दायरा बढाउने र सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई मुख्य एजेन्डा बनाएको बताए । यी कार्यमा निकै ठूलो उपलब्धि हात परेको उनको दाबी थियो ।
यसैगरी, नगरको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, खुला व्यायमस्थल निर्माण कार्य सम्पन्न भएको र तरकारी बजार निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । नगरको समृद्विका लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र खानेपानी मुहान संरक्षणमा उनको जोड थियो । आगामी आर्थिक वर्षमा १ देखि ११ वडामा १३ वटा देखिने खालका महत्वपूर्ण योजनामा बनाएर अघि बढ्ने बताए । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरु योजना बनाएर अघि बढेको नगरप्रमुख महर्जनको भनाइ थियो ।
नगरउपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले एक वर्षको अवधिमा ५० प्रतिशत मुद्दाको न्यायिक निरुपण गरेको बताइन् । कतिपय जनताको घरदैलोमा पुगेर पीडित र पीडकलाई सम्झाइबुझाई न्यायिक निरुपण गरेको अनुभव उनले सुनाइन् । भूगोलअनुसार मुद्दाको प्रकृति फरक रहेको उनको भनाइ थियो ।
महिला र बालबालिकाको क्षेत्रमा पनि उल्लेखनीय सुधार भएको उनले दाबी गरिन् । पालिकाले अशक्तलाई घरमै पुगेर कार्ड वितरण गर्दै आएको उनले भनाइ थियो । अनुगमन समितिको संयोजकसमेत रहेकी उपमेयरले मापदण्डअनुरूप योजना सम्पन्न गराउन र गुणस्तरीय काम गराउन नगरपालिका सफल भएको दाबी गरिन् ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले प्रथम वर्षमा सम्पन्न भएका योजना तथा कार्यक्रमको २१ बँुदे उपलब्धि सार्वजनिक गरेका थिए ।
तारकेश्वर ३ का वडाध्यक्ष परशुराम अर्याल संयोजक रहेको पत्रकार सम्मेलनको सहजीकरण योजना तथा राजस्व शाखा प्रमुख सागर अर्यालले गरेका थिए । २०७९ जेठ ६ गते तारकेश्वरका जनप्रतिनिधिले पद बहाली गरेका थिए ।