चुरे (मकवानपुर) । सबै प्रकारका श्रमको सम्मान गर्नुपर्ने बहस बेलाबेलामा चल्ने गरेको छ । प्रकृतिअनुसार काम कष्टकर वा सहज हुन सक्छ तर काम सानो ठूलो भन्ने हँुदैन । यस्ता बहसमा कमै स्मरण गरिने र कमै उदाहरणमा जोडिने काम हो आरनको काम । कुनै समय हेंलाको पेसा मानिने आरनमा समयानुकूल प्रविधिको प्रयोगपछि गज्जबले रोजीरोटी चलेको छ ।
फलाम पिटेर त्यसलाई साइज दिनु चानचुने काम हैन । मानवीय जीवनको धेरै जसो काममा फालाम आवश्यक हुन्छ । कृषि कर्ममा त झनै नभई नहुने वस्तु हो फलाम । फलामलाई उच्चतापक्रममा तताएर, पिटेर साइजमा ल्याएर, धार दिनु र कृषि औजार बनाउनु सहज काम पक्कै हैन । जसका लागि श्रमसँगै सिप र कौशलताको अनिवार्यता हुन्छ । परम्परागत आरनको पेसा शारीरिकरूपमा कष्टकर पेसा हो ।
यही पेसामा आफूलाई आधुनिकताको खोजी गरिरहेका छन् मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ फारलाइनका खिलबहादुर विश्वकर्मा ।
उनी ५० वर्ष अघिदेखि यही आरन व्यावसाय सञ्चालन गरिरहेका छन् । यो आरन व्यावसायमा उनको ३ पुस्ता भिज्यो । ५० वर्ष पहिले परम्परागत पेसाका रूपमा यो आरन चल्थ्यो । सामग्री बनाएपछि तत्काल ज्याला पाइँदैनथ्यो । वर्षमा एकपटक आफ्ना सेवाग्राही (विष्ट)बाट रासन संकलन गरिन्थ्यो । सामान्य छाक टार्ने निर्वाहमुखी व्यावसायका रूपमा आरनबाट सामान बनाउने गरिएको उनी बताउँछन् । तर, अब समय र परिवेश फेरिएको छ । त्यही आरन अब राम्रो आम्दानी गर्ने व्यवसाय बनेको छ । अहिले कृषि औजार कारखानाका रूपमा दर्ता गरेर यो व्यावसाय सञ्चालन थालिएको छ ।
५० वर्ष अगाडि हातले खलाती तानेर आगो फुकेर फलामका सामान बनाउनुपर्ने बाध्यता भोग्दै आएका बृद्ध खिलबहादुर विश्वकर्मा अहिले भने आधुनिक प्रविधिको प्रयोगमा सहज तरिकाले विगतभन्दा बढी आर्थिक उपार्जन गर्छन् । जंगल डुलेर दाउरा बटुलेर, आगो बालेको भुँग्रोमा रापिँदै फलाम तताउनु पर्दैन अहिले उनलाई । बिजुलीका माध्यमले आगोमा फलाम तताउँछन् र बनाउँछन् कृषिऔजार ।
उनीभन्दा अघिको पुस्तादेखि यो आरन व्यावसाय सुरु गरिए पनि आफ्नै पहलमा प्रविधिको माध्यमले कृषिऔजारका सामान बनाएर उनले काम गर्दै आए । उनको यो आधुनिक आरनमा हसिया, कचिया, कुटो, कोदालो, कोदाली, कैंची, चुप्पी, चुलेसीलगायतका सामग्री बनाइँदै आएको छ । विगतमा पनि बनाउने सामग्री तिनै थियो, तर दुःख धेरै आम्दानी कम थियो । अब उनी सहज श्रममा राम्रो आय गर्छन् ।
आरन व्यावसायलाई निर्वाहमुखीबाट रोजगारी सिर्सना गर्ने गतिलो माध्यम समेत बनाए उनले । उनको कृषिऔजार कारखानामा अहिले ६ जनाले रोजगारी पाएका छन् । यहाँ कृषिऔजार बनाउने काम गर्न पाउँदा अर्काको मुलुकमा कठिन काम गर्नुपर्ने बाध्यताबाट छुटकारा पाएको कृषिऔजार कारखानामा कार्यरत उमेश विश्वकर्मा बताउँछन् । ‘जहाँ गए पनि बगाउने पसिना हो, आफ्नो ठाउँमा बसेर, रोजगार भएको छु’ उनले भने, ‘विदेश जाने रहर छैन, यहाँ पैसा छ ।’
उमेश मात्र होइन, यस कारखानामा कार्यरत अरू पनि वैदेशिक रोजगारको मोहमा छैनन् । पहिले सबै काम हातले गरिन्थ्यो । तर, अहिले भने ग्रेडर मेसिन, ओल्डिङ गर्ने मेसिन समेतको प्रयोग गरेर काम गरिँदै आएको छ । यही आरनमा हजुरबुबादेखि नातिसम्मले काम गर्दै आएका छन् । हजुरबुबा र अरू पाँच जनाले सामान बनाउने काम गर्दै आए पनि नाति दिनेश विश्वकर्माले भने बनाइएका कृषि औजार देशैभरि बिक्री गर्दै आएका छन् ।
यहाँ तयार गरिएका सामान मकवानपुर, चितवन, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका जिल्लामा बिक्री गर्दै आएको आरनका सञ्चालक दिनेश विश्वकर्मा बताउँछन् ।
करिब ५ लाख रुपैयाँ लगानीमा यो आरन व्यावाय सुरु गरिएको थियो । यसबाट ६ जनाको परिवारको रोजीरोटी चलेको छ । आम्दानी राम्रै भएपछि तीन पुस्ता अघिदेखि सञ्चालन गरिएको व्यावसाय नातिले पनि गर्दै आएका छन् ।
यस व्यावसाय सञ्चालन गर्न बाग्मती प्रदेशको युवा परिषद्ले ५० हजार रुपैयाँ अनुदान पनि दिएको थियो । यो अनुदान रकमबाट ग्रेडर र ओल्डिङ मेसिन खरिद गरेर परम्परागत कामलाई प्रविधिसँग जोडिएको दिनेशले बताए ।
युवालाई उद्यमसँग जोड्नका लागि पम्परागत आरन व्यावसायलाई अहिलेको प्रविधिसँग जोड्न सहयोग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए । कृषि औजारका सामान चाहिने हुनाले पहिलेकै अवस्थामा आरनलाई राख्नु हुन्न र प्रविधिसँग जोडेपछि अहिलेका युवापुस्ताले पनि पहिले पुस्तांैदेखि गर्दै आएको कामलाई निरन्रता दिनका लागि सहज हुने चौलागाईले बताए ।
‘पहिलो यही पेसालाई हेलाको दृष्टिले हेरिन्थ्यो, छुवाछुत कति भोगियो, अब केही छैन, काम सहज छ, पैसा राम्रै छ’ ५० वर्षीय खिलबहादुर विश्वकर्माले भने, ‘मेरो पालामा यस्तै चल्यो, नातिको पालासम्म आइपुग्दा हामी दंग छांै ।’