अख्तियार प्रमुख राईको गाडीमा पैसा राखेको बयान

काठमाडौं । नक्कली शरणार्थी प्रकरणसम्बन्धी प्रतिवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नामसमेत जोडिएको छ ।

नक्कली शरणार्थी प्रकरणका प्रमुख योजनाकार भनी मुछिएका सानु भण्डारी र केशव दुलालले प्रहरीसमक्ष दिएको बयान र प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा राईको नाम उल्लेख छ ।

नक्कली शरणार्थी प्रकरण

भण्डारीले तत्कालीन गृहसचिव राईको गाडीमा आफूले रकम राखेको बयान दिएका हुन् ।

‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. इन्द्रजित राईलाई बुझाएको रकम इन्द्रजीतले तत्कालीन गृह सचिव प्रेम राईको गाडीमा राख्न भनेको र आफूले राखिदिएको बयान सरकारी वकिलको रोहवरमा भएको बयानमा पोलेका छन्,’ प्रहरी स्रोत भन्छ ।

इन्द्रजीतले सो रकम गृहसचिव राईको गाडी चिनाएर राख्न आदेश दिएको र त्यसपछि सचिव राईलाई भेट्न गएको भण्डारीले बयानमा भनेका हुन् ।

सोही प्रकरणमा प्रक्राउ परेका दुलालले समेत बयानका क्रममा तत्कालीन गृहसचिव राईको नाम लिएका छन् । दुलालले भण्डारीसहित आफू गाडीमा पैसा राखेपछि तत्कालीन गृहसचिव राईको कार्यकक्षमा गएको बयानमा भनेको स्रोत बताउँछ ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै सरकारले रामबहादुर थापा गृहमन्त्री हुँदा ३० जेठ २०७६ मा नक्कली शरणार्थी प्रकरण’bout अध्ययन गर्न भन्दै अवकाशप्राप्त सहसचिव वालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाएको थियो । त्यसबखत प्रेमकुमार राई गृहसचिव थिए । प्रहरीले सो प्रतिवेदनमा नाम उल्लेख भएका व्यक्ति नक्कली शरणार्थी रहेको सूचना पाएपछि सो प्रकरण बाहिर आएको थियो ।

अख्तियारमा समेत नक्कली शरणार्थी प्रकरणको विषयमा उजुरी परेको थियो । तर, अख्तियारले भने कुनै कारबाहीको प्रक्रिया अघि बढाएको थिएन ।

पछिल्लोपटक पुनः अख्तियारमा दोस्रो उजुरीपरेपछि भने अख्तियार प्रमुख राईले इन्द्रजित राईलाई सम्पर्क गरी रकम फिर्ता गरिदिन निर्देशन दिएको बयानमा भनिएको छ ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा तीनवटा अभियोगमा मुद्दा अघि बढाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिँदै सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकामाथिको अनुसन्धानपछि उनीहरूविरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा मुद्दा अघि बढाउन भन्दै सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा १७८ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको र अब मुद्दाको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई अब जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा १ सय १४ जना पीडितको २१ वटा जाहेरीसमेत समावेश गरिएको छ । प्रतिवेदनमा १६ जना पक्राउ परेको र अन्य १६ जना नै फरार रहेको उल्लेख गरिएको छ ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ ।

यसैगरी, नक्कली शरणार्थी प्रकरणमा कांग्रेस पूर्वसांसद आङ्टावा शेर्पा, केशव दुलाल, टंक गुरुङ, सानु भण्डारी, सागर राई, पूर्वगृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

यस्तै, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउपछि हिरासतमा छन् ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा जोडिएका अन्य १६ जनाको अझै खोजी गरिरहेको छ । प्रहरीको फरार सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई छन् । यस्तै, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएर फरार रहेको प्रहरीले भनेको छ । यस्तै, वतन नखुलेका गोकुल थापा र रमा थापा पनि प्रहरीको फरार सूचीमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको शव निकालियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी