काठमाडौं । कामदारलाई खाद्यान्न उपलब्ध गराउन दोहा बैंकले २० लाख रियाल सहयोग गर्ने भएको छ । कतारको सनैया क्षेत्रमा क्वारेन्टाइनमा निगरानीमा राखिएका कामदारको खाना र स्वास्थ्य सामग्रीका लागि बैंकले २० लाख रियाल (करिब ६ करोड ६० लाख रुपैयाँ) सहयोग उपलब्ध गराएको हो ।
सनैया क्षेत्रमा रहेका नेपालीसहित झन्डै ५० हजार आप्रवासी कामदारलाई खाद्यान्न र औषधिजन्य सामग्री उपलब्ध गराउन सो आर्थिक सहयोग कतार च्यारिटीलाई दिएको र कतार च्यारिटीमार्फत कामदारलाई उपलब्ध गराइनेछ ।
उच्चस्तरीय संकट व्यवस्थापन समितिले कामदारलाई खाद्यान्न अभाव हुन नदिने निर्णय गरेपछि दोहा बैंकले यति ठूलो सहयोग उपलब्ध गराएको हो । यसअघि कतार च्यारिटीसँग समन्वय गर्दै गैरआवासीय नेपाली संघ कतारले सनैयाको लेबर क्याम्प र अजिम खान अल खरिफस्थित लेबर क्याम्पमा पुगेर जनचेतना तथा मेडिकल किट्स वितरण गरेको थियो ।