रत्न मन्दिरको ढोका खुल्यो

पोखरा । फेवाताल किनारको सुन्दर रत्न मन्दिर गणतन्त्र दिवस अवसरमा सर्वसाधारणका लागि खुला भएको छ । २०६२÷६३ को दोस्रो जनआन्दोलनसँगै नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भइसक्दासमेत नेपाल ट्रस्टको नाममा रहेको रत्न मन्दिर खुल्न सकेको थिएन ।

कहिले खुल्ने भन्ने बहुप्रतीक्षाको विषयको रहेको रत्न मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती राईले सोमबार एक समारोहबीच सर्वसाधारण प्रवेशका लागि उद्घाटन गरे । उनले यो खुलासँगै समग्र पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिए ।

पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर खुलेसँगै समग्र पोखरा क्षेत्रको पर्यटनमा ठूलो सहयोग पुग्ने यहाँका पर्यटन व्यवसायीको पनि विश्वास छ ।

तत्कालीन राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नका नाममा पोखराको फेवाताल किनारमा रत्नमन्दिर बनाएका थिए । २०५८ को दरबार हत्याकाण्डपछि राजपरिवारका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा आएको थियो । जुन अहिले नेपाल ट्रस्ट ऐन, २०६४ कार्यान्वयनमा छ ।

शाहवंशीय राजाको इतिहाससँग गाँसिएको सो मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने पोखरेलीको माग थियो । नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले देश विदेशका पर्यटकलाई लक्षित गरी गणतन्त्र दिवस अवसरमा पहिलोपटक दरबार खुला गरिएको बताए । उनले वर्षौंदेखिको प्रयासले सार्थकता पाएको जनाए । तर, दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण भित्री भाग भने सर्वसाधारणका निम्ति खुला नहुने उनको भनाइ छ ।

मूल प्रवेशद्वारबाट छिरेर रत्न मन्दिर तथा हिमागृह क्षेत्रको वरिपरि सर्वसाधारणले घुम्न पाउनेछन् । दरबारको ढोका खोलेर भित्र भने प्रवेश निषेध छ । आगामी दिनमा सबै तयारी गरेर अरूहरू खुला गर्दै जाने शेर्पाको भनाइ छ ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले लामो प्रयासपछि खुलेको रत्नमन्दिरले पोखराको पर्यटनमा थप टेवा पुग्ने बताउँछन् ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेलीको लामो समयदेखिको माग बल्ल पूरा भएकोमा खुसी व्यक्त गरे । उनले रत्न मन्दिरले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउन मद्दत पुग्ने विश्वास लिए ।

विगतमा निजी क्षेत्रलाई भाडामा दिने प्रयास भएको भन्दै पोखराका अधिकारकर्मीले विरोध जनाएका थिए । नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेलले विगतको आन्दोलनका कारण सरकार पछि हटेको बताउँछन् । सर्वसाधारणका लागि खुला हुनु राम्रो पक्ष भएको उनको भनाइ छ ।

के छ रत्न मन्दिरमा ?
प्राकृतिक सौन्दर्यका दृष्टिले रत्न मन्दिर र हिमागृह निकै मनमोहक छ । रत्न मन्दिर खासगरी पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बस्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रकी कान्छी श्रीमती रत्नको नामबाट नै दरबारको नाम राखिएको हो । रत्नलाई उनले उपहारका रूपमा यो मन्दिर बनाइदिएको पाइन्छ ।

२०१३ सालमा दरबारको निर्माण सुरु गरी २०१५ सालमा निर्माण पूरा भएको थियो । तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो । पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह निर्माण गरिएको थियो । रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनीमा छ । दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल १ सय ७४ रोपनी जग्गा छ । रत्न मन्दिरले भने १ सय ११ रोपनी ओगटेको छ । यसभित्र नेपाली सेनाको भगवती दल गण छ ।

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । भुइँ तलामा अतिथि कक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडीसी) बस्ने कोठा र आरामकक्ष छन् । दोस्रो तलामा पाँचवटा कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्य मात्र बैठक बस्ने गर्थे । राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ । त्यसबेलाका खेल सामग्री सुरक्षित छन् । दोस्रो तलामा युवराजको शयनकक्षसहित तीनवटा पाहुना कोठा छन् । राजपरिवारका नजिकका नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो ।

सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजाकोठा छ । बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौसी छ । हरेक कोठामा रहेका पलङ, खाट, कुर्र्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन् । राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृंगारसम्मका सामग्री सुरक्षित राखिएका छन् ।

भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन् । नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक पेन्टिङ छन् । यहाँ प्रयोग भएका टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री अझै सुरक्षित छन् । काठ र ढुंगाबाट निर्मित दरबारमा पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका ससाना कोठा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा धामी