भोजपुर । पराम्परागत खेती गर्दै आएका श्यामशिलाबासीको दैनिकी फेरिदै गएको छ । आलु,मकैलगायत बाली लगाउदै आएका यहाँका किसान किवी खेतीमा लागेसँगै दैनिकीमा परिवर्तन आएको हो । पौवादुङमा गाउँपालिकाले यहाँको कुल १२ दशमलव ५१ वर्ग किलोमिटर भ–ूभाग मध्ये उपयुक्त जमिनलाई लक्षित गरेर किवीको पकेट क्षेत्र घोषणा गरेपछि उनीहरु ब्यावसायिक किवी खेतीमा जुटेका हुन् ।
बहुवार्षिय बाली किवीबाट अन्यबालीको तुलनामा कम मेहनतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका एक सय बढी कृषकले किवी खेती गर्दै आएका छन् । यो क्षेत्रको तीन सय बढी रोपनीमा किसानले किवीको खेती गर्दै आएको वडा कार्यालयले जनाएको छ । यो क्षेत्रलाई किवीको ब्लग नै बनाएर लैजाने योजनाका साथ काम भईरहेको पौवादुङमा १ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
‘हामीले श्यामशिला क्षेत्रमा किवी खेतीको विस्तारमा जोड दिएका छौँ’’वडाध्यक्ष तामाङले भने,‘पकेट क्षेत्र घोषणा गरेर किसानलाई आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । अव यसलाई किवी ब्लगको रुपमा विस्तार गर्ने भावी योजना छ ।’
एक पटक विस्तार गरेपछि बर्षौसम्म राम्रो आम्दानी लिन सकिने भएपछि व्यावसायिक किवी खेतीमा जुटेको स्थानीय कृषक मधु शुब्वाले बताए । अहिले करिब पाँच रोपनी क्षेत्रमा किवी विस्तार गरेको उनको भनाइ छ ।
‘अहिले हाम्रो क्षेत्रमा धेरै किसानले व्यावसायिक किवी खेती गर्दै आएका छौँ’ उनले भने,‘थोरै मेहनतमा अन्यबालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान यसमा आवद्ध छौँ । गाउँपलिका तथा वडाले आवश्यक सहयोग गरेपछि हामीलाई थप हौसला मिलेको छ । ’
विगतमा आलु मकै खेती गर्दै आएको करिव ६ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा किवी खेती गरिरहेको पौवादुङमा १ श्यामशिलाकी किसान दालकी शेर्पाले बताइन्। अहिले आफ्नो बारीमा तीन सय बोट किवी रहेको उनको भनाइ छ ।‘आलु,मकैको विकल्पमा किवी खेती गरिरहेकी छु’ किसान शेर्पाले भनिन्,‘यसको खेतीबाट वार्षिक रु. चारदेखी पाँच लाखसम्म आम्दानी लिने लक्ष्य छ । किवी लगाएर बाँकी रहेको ठाउँमा तरकारी खेती गर्ने योजना छ । यहाँबाट पनि थप आयआर्जन टेवा पुग्छ ।’
गाउँपालिकाको सहयोगले व्यवसायिक किवी खेतीमा लाग्न सहज भएको स्थानीय देवराज राईले बताए । गाउँमा किवी खेती अभियानको रुपमा सञ्चालन भईरहेको उनको भनाइ छ । गाउँपालिकाको पोत्साहनले निम्न आयस्तर भएका कृषकलाई खेतीमा लाग्न मद्धत मिलेको उनको भनाइ छ । ‘किवी गर्ने मेरो पनि पहिलाबाट ने सोच थियो’ कृषक राईले भने,‘धेरै मात्रामा विस्तार गर्न निकै ठुलो लगानी लाग्ने हुँदा अलिअलि लगाएको थिए ।यस अघि गाउँपालिकाबाट सहयोग पाएँ । जसको कारण यो क्षेत्रका म जस्ता धेरै साथीहरु व्यवसायिक खेतीमा हुनुहुन्छ ।’
किवी खेतीको लागि उपयुक्त भूगोल रहेकोले श्यामशिला क्षेत्रलाई किवी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोगको कार्यक्रम सञ्चालन भइरहेको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताए । विभिन्न आर्थिक वर्षमा गरी किवी खेतीको लागि रु. ५० लाख बढी गाउँपालिकाले लगानी गरेको उनको भनाइ छ । यहाँ विस्तार गरेको किवीले उत्पादन दिन थालेकोसमेत प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।
‘यो श्यामशिलालाई किवीको उपयुक्त क्षेत्रको रुपमा लिएका छौँ’प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भने,‘यहाँको हावापानी किवीको लागि निकै उपयुक्त छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानमा उत्साह बढेको पाएका छौँ ।’
गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रममा जोड दिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। माटो सुहाउँदो खेतीमा प्रोत्साहन गर्दै गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने नीतिका साथ काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । सामुहिक कृषि गर्ने र बाँझो रहेका जमिनहरुमा ठुला कृषि फर्महरु सञ्चालन गर्ने किसानलाई थप प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।
‘जमिनको उत्पादकत्व र माटो सुदाउँदो बालीमा जोड दिएका छौँ’’ अध्यक्ष राईले भने,‘ किसानलाई आधुनिक कृषिमा जोडदै गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने हाम्रो लक्ष्य छ ।’
गाउँपालिकाले यहाँको भूगोल निर्धारण गरेर विभिन्न वालीहरुको खेतीमा जोड दिएको जनाएको छ । माथिल्लो भेग भएकाले श्यामशिलालाई किवी पकेट क्षेत्र, गाउँपालिकाको वडा नं ३ च्याङग्रे, ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ । गत वर्ष गाउँपालिकामा अकबरे खुर्सानीबाट रु. छ करोड बढी आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।
वडा न. २ तिवारी भञ्याङको सडक भन्दा माथिदेखी वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनीको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथका भईरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।
‘गाउँपालिकामा हामीले कृषिलाई अलि प्राथमिकता दिएको छौँ’ उपाध्यक्ष राईले भने,‘विभिन्न ठाउँमा भूगोल अनुसारका खेतीहरु भईरहेका छन् । अवको पाँच वर्षमा यो गाउँपालिकालाई पूर्णरुपमा कृषिमा आत्मानिर्भर बनाउने हामीले लक्ष्य लिएका छौँ ।’
किवी प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा बजारमा बिक्री हुने गरेको छ । यसलाई एक हजार ५०० मिटरदेखी दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।