गुल्मी । गुल्मीका सार्वजनिक यातायातका चालकमा रक्तचाप र सवारीमा यान्त्रिक समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार तम्घासबाट बुटबल र काठमाडांैका छुटेका सार्वजनिक यातायात, स्थानीय स्कुल बस, ट्रक, अटोरिक्सा, जिपलगायत गरी ३५ सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण गरेको थियो । जसमा चालकमा रक्तचाप र गाडीमा विभिन्न यान्त्रिक समस्या देखिएको हो ।
कतिपय चालकमा उच्च रक्तचाप र कतिपयमा न्यून भएकाले उपचार गराउन सुझावसमेत दिइएको छ । ‘केही चालकले रक्तचापको औषधि नियमित रूपमा सेवन नगरेको, औषधि सेवन गर्दा समय नमिलाएको जस्ता समस्या देखियो ।’ चालकको स्वास्थ्य परीक्षण गरेका गुल्मी मोडल अस्पतालका स्वास्थ्यकर्मी भुवन रानाले भने, ‘औषधि नियमित सेवन गर्न र पूर्ण स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको छ ।’
सवारीमध्ये अधिकाशंको ब्रेकमा समस्या देखिएको छ । त्यसैगरी, मोबिल कम भएको, टायरको समस्या भएको लगायतका समस्या देखिएको अटोमेकानिकल घनश्याम पााण्डेले बताए । सवारीमा देखिएका यस्ता समस्याले जुनसुकै समयमा पनि सवारी बिग्रन सक्ने र यसले दुर्घटनाको जोखिम बढाउने पाण्डेको भनाइ छ ।
जिल्ला ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले सवारी चालकलाई यथाशीघ्र सवारी मर्मत गर्न सुझाव दिएको बताए । जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परीक्षण गरेको उनको भनाइ छ । अब अन्यत्र ठाउँमा जाने सवारीका लागि पनि परीक्षण गर्ने योजना रहेको आचार्यले बताए ।