मैले जे सोचेको थिएँ पूरा भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण आफूले सोचेजस्तै मूलभूत उद्देश्य पूरा भएको दाबी गरेका छन् ।

‘यो भ्रमण मैले जे भनेर गएको थिएँ, मूलभूत रूपमा मैले सोचेको कुरा पूरा भएको छ । केही महŒवपूर्ण दूरगामी समझदारी भएका छन् । आफैंमा त्यो महŒवपूर्ण सुरुवात हो । चाहे दीर्घकालीन ऊर्जा व्यापारमा १० वर्षमा १० हजार मेगावाट भन्ने विषय होस्, हामी नेपालीहरूले सुरुदेखि नै राख्दै आएको कुरा थियो,’ प्रचण्डले भने, ‘यसपटक त्यसमा सहमति बन्यो, प्रधानमन्त्री नरेन्द्र मोदीले आफैंले यो सम्पन्न भएको घोषणा गर्नु महŒवपूर्ण छ ।’

यस्तै, सीमासम्बन्धी विषयमा भारतीय समकक्षीसँग खुलेर कुरा गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । ‘भारतीय प्रधानमन्त्रीसँग खुलेर यसको समाधान खोज्नैपर्छ नत्र भने नेपाल–भारत सम्बन्धलाई सहज हुनसक्दैन भनेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले पनि समाधान खोजौं हामी पनि तयार छौं भनेर भन्नुभयो, सकारात्मक जवाफ मलाई मात्रै दिनुभएन प्रेस मिटमा तपाईंहरूले पनि सुन्नुभयो, सीमा विवादको विषयमा जे जति समस्या छन् सबैको समाधान खोज्ने प्रतिबद्धता सार्वजनिक रूपले व्यक्त भयो ।’

‘भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साको विषयमा पनि कुराकानी गरेको छु । कुराकानी गरेको भए पनि यसै विषयमा ठूलो बहस गरिनँ’


सीमा विवाद समाधान गर्ने विषयमा भएको सहमति आफैंमा ठूलो रहेको बताउँदै उनले भने, ‘हामी सधै नकारात्मक र आलोचक मात्रै होइनौं, हामीले समस्या समाधान खोजेका छौं, यो आफैमा ठूलो कुरा भयो ।’

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका सहमति र समझदारीलाई कार्यान्वयनमा लैजानुपर्ने समेत बताए । त्यसका लागि राम्रो वातावरण बनाउनु आवश्यक रहेको उनको भनाइ थियो । उनले भारतीय पक्षसँग ईपीजीको विषयमा कुराकानी भएको बताए । ‘ईपीजीको कुरामा हामी सबैको चासो छ । मैले आफ्नो ढंगले कुरा गरेको छु,’ उनले भने, ‘तर, यस विषयलाई अहिले बढी उचालेर आर्थिक र दुईपक्षीय सहयोग विस्तारको जो परिणाममुखी वातावरण बनेको छ, त्यसलाई बिगार्नु उचित थिएन, हामीले जुन तरिकाले कुरा गर्नुपर्ने हो, त्यो तरिकाले कुरा गरिएको छ ।’

विस्तारै ईपीजीको प्रतिवेदन पनि बुझ्ने काम हुने दाबी गर्दै उनले भने, ‘जुन विश्वासको वातावरणमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको छ । त्यो वातावरणलाई सहज बनाउँदै लैजाँदाखेर सबै चिज हुँदै जान्छ भन्ने मलाई विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले आफूले भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साको विषयमा पनि कुराकानी गरेको बताए । कुराकानी गरेको भए पनि बहस भने नगरेको प्रचण्डको प्रस्टोक्ति थियो । नक्सामा नेपालका क्षेत्र पनि समेटिएको भन्दै नेपालमा आलोचना भइरहेको छ ।
‘नक्साको कुरा पनि मैले राख्नुपर्ने ठाउँमा राखें, यति बुझ्नुहोला, उहाँहरूको भनाइ चाहिँ यो सांस्कृतिक नक्सा हो, राजनीतिक होइन भन्ने छ, त्यही विषयमा धेरै ठूलो बहस गरेर गइएन, त्यति मात्रै हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा छिमेकी मुलुक भारतको चारदिने औपचारिक भ्रमण पूरा गरेका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका उच्चस्तरका छलफल एवं भेटघाटले नेपाल–भारत सम्बन्धका विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने ’bout छलफल भएको बताए ।

सो क्रममा कुर्था–बिजलपुरा रेलमार्गको हस्तान्तरण, भारतको जोगबनीदेखि नेपालको विराटनगर कस्टम यार्डसम्म कार्गो रेलसेवाको सञ्चालन, भैरहवा–सुनौलीस्थित एकीकृत जाँचचौकीको शिलान्यास, नेपालगन्ज–रूपैडियास्थित एकीकृत जाँचचौकीको उद्घाटन, मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको निर्माणकार्यको शिलान्यास, बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनको शिलान्यासलगायतका विषय महŒवपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

यसैगरी, भ्रमणका क्रममा विभिन्न सातवटा दस्तावेजमा सहमति भएको छ । नेपाल–भारत पारवहन सन्धि, पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी समझदारी, दोधारा–चाँदनीमा एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाहको निर्माण, फुकोट–कर्णाली ४८० मेघावाट जलविद्युत परियोजना, तल्लो अरुण जलविद्युत् परियोजना, नेपालको नेसनल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट कम्पनी इन्डिया लिमिटेडबीच सीमापार विद्युतीय भुक्तानीसम्बन्धी समझदारी, नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज विदेश सेवा संस्थानबीच समझदारीलगायतका परियोजनाले नेपाललाई सकारात्मक फाइदा पुग्ने प्रधानमन्त्रीले बताए ।
यसैगरी, अतिरिक्त व्यापार, पारवहन, लगानी प्रवद्र्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारपार सम्पर्क बढाउन रेलवे सेवा सञ्चालन कार्य, पुल निर्माण तथा एकीकृत जाँचचौकी एवं सुक्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउनेलगायतका विषयमा समेत महŒवपूर्ण छलफल भएको छ ।

भारतीय आन्तरिक जल यातायात सञ्जालसमेत प्रयोग गर्न सकिने र बल्क कार्गोसमेत ढुवानी गर्न सकिनेगरी परिमार्जन भएको एवं विगत चार वर्षदेखि हुन नसकेको पारवहन सन्धि सम्पन्न हुनु नेपालको हितमा रहेको छ । यसलाई एक महŒवपूर्ण उपलब्धिका रूपमा लिन सकिने प्रधानमन्त्री प्रचण्डले जनाएका छन् । नेपालगन्ज र भैरहवाबाट नयाँ दिल्लीलगायतका भारतका अन्य सहरमा दुईतर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक कुराकानीसमेत भएको प्रधानमन्त्री प्रचण्डले जनाए ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित थप १२ सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत् निर्यातका लागि आफूले भारतीय प्रधानमन्त्री मोदीसँग अनुरोध गरेको प्रधानमन्त्री प्रचण्डले बताए । साथै, नेपालमा निर्माणाधीन जलविद्युत्, सडकजस्ता ठूला विकास निर्माण परियोजाका लागि अति आवश्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागिसमेत कुराकानी भएको छ ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको शीघ्र कार्यान्वयनका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिनेगरी द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको छ । वित्तीय प्रबन्धसहित दुई सरकारले डीपीआर स्वीकृत गरेपछि त्यसको एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुंगो लगाइनेछ ।

नेपालतर्फका संरचनाहरूको तयारीको अवस्थाका आधारमा टनकपुर ब्यारेजबाट लिंक क्यानलमार्फत चरणबद्ध रूपमा नेपाललाई सिँचाइका लागि पानी उपलब्ध गराउने सहमतिसमेत भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याका ’boutमा पनि छलफल भएको छ । मनसुन सुरु हुनुअघि नै बाढी र डुबान नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नका लागि विद्यमान द्विपक्षीय संयन्त्रहरूलाई तत्काल सक्रिय बनाउन सम्बन्धित अधिकारीहरूलाई दुवै प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

भारतको अनुदान सहयोगमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्ने र सिलगढीदेखि झापाको चारआलीसम्म नयाँ क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ । महाकाली नदीमाथि शीर्ष (पर्शुराम धाम– पूर्णागिरी माई) तथा झुलाघाटमा भारत सरकारको अनुदान सहयोगमा पक्की पुल निर्माण गर्ने सहमति भएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता पनि दिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

गत बुधबार चारदिने भारत भ्रमणका लागि प्रचण्ड नयाँदिल्ली पुगेका थिए । उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखडसहित अन्य उच्च अधिकारीसँग भेट गरेका थिए । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा शुक्रबार मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजासहित दर्शन गरे ।
यसैगरी, शनिबार उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ बिदाइ गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित